कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘काठमाडौंले हामीलाई पढ्दैन’

फूलमान वल

काठमाडौं — भारतीय नेपाली साहित्यमा डा. कविता लामा समालोचना र कविताका लागि चिनिन्छिन् । सिक्किम विश्वविद्यालय, नेपाली विभाग प्रमुख यिनी आदिकवि भानुभक्त आचार्यमाथि पीएचडी गर्ने पहिलो व्यक्तिसमेत हुन् ।

‘काठमाडौंले हामीलाई पढ्दैन’

भारतीय नेपाली साहित्यमा डा. कविता लामा समालोचना र कविताका लागि चिनिन्छिन् । सिक्किम विश्वविद्यालय, नेपाली विभाग प्रमुख यिनी आदिकवि भानुभक्त आचार्यमाथि पीएचडी गर्ने पहिलो व्यक्तिसमेत हुन् । ‘अनुशिलन’, ‘दिदृक्षा’, ‘भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन’, ‘भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा’ (सहलेखन) जस्ता समालोचना कृतिका यी लेखिका सोमबार काठमाडौंमा भेटिइन् । एक सम्मान थाप्ने सिलसिलामा सिक्किमबाट आएकी उनले भनिन्, ‘काठमाडौंले हामीलाई पढ्दैन ।’

भारतीय नेपाली स्रष्टाहरू अहिले के लेखिरहेका छन् ?
मूलत: अहिले भारतीय नेपाली साहित्य संक्रमणमा छ । पुरानो ढर्रा र शैलीलाई तोड्दै नयाँ पुस्ता अघि बढ्दै छ । हस्तक्षेपी र समावेशी समूहले भारतीय नेपाली साहित्यलाई विचारका नयाँ उचाइ दिने प्रयन्त गरिरहेका छन् । शैलीदेखि विषयवस्तुसम्म विनिर्माण भइरहेको अवस्था हो अहिले । हस्तक्षेपी र समावेशी समूहले विशेषगरी कविता विधामा नयाँ प्रयोग गरिहेका छन् । लेखनभन्दा वाचन र मञ्चनमा उनीहरूले प्राथमिकता दिइरहेका छन् । भारतमा किनारीकृत नेपाली समुदायको मुद्दा, सांस्कृतिक र राजनीतिक चेतना अहिले सशक्त रूपमा साहित्यमा आइरहेको छ । पोस्ट कोलोनिजमको असरका कारण यस्तो भएको हो ।

यस्तो अवस्थामा भारतीय नेपाली साहित्य कसरी पुग्यो ?
कारण स्पष्ट छ, यतिबेला भारतीय नेपाली समुदाय पहिचानको संकटबाट गुज्रिँदै छ । भारतको कुनै पनि थलो पुग्यौं भने ‘वाह दार्जिलिङ’ भन्नेहरू थुप्रै भेटिन्छन् । तर, हाम्रोमा पनि दुर्गापूजा हुन्छ भन्ने थाहा पाउनेबित्तिकै आश्चर्य मान्दै सोध्छन्– ‘ए, नेपालमा पनि त्यस्तो हुन्छ र ?’ यो हाम्रो अस्तित्व संकटको प्रश्न हो । हामी त नेपालीभाषी भारतीय हौं नि, तर सिंगो भारतमा यो पहिचान सम्मानजनक रूपमा स्थापित हुन सकेको छैन । हामी किनारीकृत बनेका छौं । यिनै कुरा अहिले साहित्यमा चर्को रूपमा आइरहेको छ ।

नेपालबाट प्रकाशन हुने पुस्तकको त्यता कस्तो प्रभाव छ ?
काठमाडौंमा पुस्तक छापिएको केही दिन नबित्दै उता चासो बढ्छ । किताब खोज्दै सिलिगुडी र झापासम्म आउनेहरू थुप्रै हुन्छन् । तर, विडम्बना उताको साहित्यप्रति नेपाल बेखबर छ ।
भारतीय नेपाली साहित्यकारहरू के लेखिरहेका छन् भन्ने काठमाडौंलाई थाहा नै हुँदैन र उसलाई चासो पनि भएको जस्तो लाग्दैन ।

कुनै समय आख्यान, नाटक र काव्य लगायतका विधामा दार्जिलिङ नेपाली साहित्यको केन्द्रजस्तै थियो । अहिले विधागत हिसाबले के कस्तो छ ?
अहिले उपलब्धिमूलक ढंगले भइरहेको काम भनेको कवितामा हो । यसपछि मात्रै आख्यान छ । राजा पुनियानी, मनोज बोगटी, पवित्रा लामा, मिलन वान्तवा, केवलचन्द्र लामा, प्रवीण खालिङ, रेमिका थापा, सुधा एम राई, ज्ञानेन्द्र याक्सो, पुष्कर सिंगर, लेखनाथ क्षेत्री, शरण मुस्कान, कर्ण विरहजस्ता लेखकहरू काव्यमा जमिरहेका छन् । आख्यानमा विन्ध्या सुब्बा, इन्द्रमणि दर्नाल, पुष्प राई, राधा रसाइली, सुरज धड्कन, सञ्जय विष्ट, प्रकाश हाङखिम, सञ्जीव क्षेत्री, निरंकर थापालगायतका स्रष्टा सक्रिय छन् । कवितामा मञ्चीय शैली ‘स्ल्याम पोइट्री’ पनि आक्रामक रूपमा अघि बढिरहेको छ तर यो शैली कविताभन्दा पनि आख्यानपरक बन्यो भन्ने गुनासो चाहिँ छ ।

भारतीय नेपाली साहित्यको बजार किन बलियो हुन नसकेको होला ?
मुख्य समस्या त नेपाली भाषा जीवनशैलीसँग भन्दा पनि भातखाने विषयसित मात्रै जोडियो । नेपालीमा एमए गर्‍यो, पढायो अनि भात खायो । फेरि यो बृहत्तर पनि बन्न सकेन । भारतका सबै भाषा अहिले अंग्रेजीबाट त्राहित्राहि बनेको अवस्था छ । त्यही भएर त अहिले साहित्यमा किनारीकृत समुदाय विषय उठ्यो । फेरि लेखनमा यताको जस्तो उता छैन । नेपालमा त इन्जिनियर, वकिल, डाक्टरजस्ता फरक पेसामा भएकाले पनि साहित्यिक किताब लेखेको पाइन्छ, उता त त्यस्तो भयो भने अचम्म मानिन्छ । भारतमा अहिलेसम्म सरकारी स्तरबाट नेपाली भाषा एकेडेमी नहुनु अर्को विडम्बना हो ।

आदिकवि भानुभक्त आचार्यमाथि पहिलो पीएचडी गर्नुभयो । भारतीय नेपाली साहित्यमा भानुभक्तको स्थान कहाँनिर छ ?
भानुभक्त हाम्रा सांस्कृतिक प्रतीक हुन् । हरेक भारतीय नेपाली स्रष्टाको साहित्यिक सुरुवात भानुजयन्तीबाटै भएको देखिन्छ । साहित्यमा मात्रै हैन, संगीतमा पनि भन्छु म । अरुणा (लामा) दिदीहरूले पनि कुनै समय भानुजयन्तीकै कार्यक्रमहरूमा गाएर सांगीतिक करिअर सुरु गर्नुभएको थियो । अहिले पनि भानुभक्त भारतीय नेपाली समाजलाई जोड्ने सेतु हुन् ।

प्रकाशित : फाल्गुन १०, २०७३ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?