कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृतिविद्को नोबेल धोको

कान्तिपुर संवाददाता

काभ्रे — साहित्य महोत्सवको आयाम फराकिलो बन्दै छ । पहिलोपटक शुक्रबार काभ्रेमा पनि दुईदिने बृहत् साहित्य सम्मेलन २०७३ सुरु भएको छ । शताब्दीपुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीद्वारा उद्घाटित सम्मेलनमा विभिन्न विषयमाथि बहसहरू भए, रचना वाचन बोनसको रूपमा रह्यो ।

संस्कृतिविद्को नोबेल धोको

उद्घाटन क्रममा संस्कृतिविद् जोशीले ‘बदलिँदो पठन संस्कृति’माथि नेपाली भाषासाहित्यको इतिहास, वर्तमान र भविष्य जोड्दै विद्वत् प्रवचन दिए । गोर्खा भाषा प्रकाशिनी समितिदेखि राणाविरोधी संघर्षको समय हुँदै २००७ को परिवर्तनपछि फराकिलो बनेको साहित्यको आयामलाई उनले विवेचना गरे । आफूहरूले भोग्नुपरेको साँघुरो समय र अहिलेको बृहत् पठन संस्कृतिबीचको फरकलाई पनि उनले दाँजे ।

जीवनका ९७ औं वसन्तमा हिँडिरहेका जोशीले भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरको नोबेल पुरस्कार प्राप्त कृति ‘गीताञ्जली’ को सन्दर्भ पटकपटक जोड्दै अब ‘नेपाली साहित्यमा पनि नोबेल पुरस्कार पाएको हेर्ने इच्छा’ व्यक्त गरे । आफू सय वर्ष बाँच्न चाहेको र त्यसबीचमा नेपाली साहित्यले नोबेल पाएको सुन्न पाए बाँचेको सार्थकता हुने उनको दाबी थियो ।

‘मुलुकलाई चिनाउने माध्यम नै साहित्य र संस्कृति हो,’ उनले भने, ‘हाम्रो लेखन अब भावी पुस्ताका लागि हुनुपर्छ । त्यही भएर नोबेल हाम्रो सपना हुनुपर्छ ।’ उनले साहित्य र संस्कृतिको इतिहासमा काभ्रेको योगदान पनि अमूल्य रहेको बताउँदै काभ्रे जिल्लाका सम्भावनाहरू पनि औंल्याए ।
दोस्रो सत्रमा बहसहरू भए । ‘काभ्रेली साहित्यिक संस्थाको अवस्था र गतिविधि’ बारे मोहन दुवाल, छविरमण सिलवाल, सूर्यप्रसाद लाकोजू र रामसुन्दर देउजा छलफलमा उत्रे ।

यसपछि ‘समकालीन नेपाली कथा साहित्यको प्रवृत्ति’ विषयमा कथाकार एवं सञ्चारकर्मी अभय श्रेष्ठले कथाकार नवीन विभास र फूलमान वलबीच बहस चलाए । ‘नेपाली कविताको समकालीन अनुहार’ विषयमा कविहरू हरि अधिकारी, निभा शाहा, रेशम विरही, रमेश श्रेष्ठलाई पत्रकार दीपक सापकोटाले बहसमा उतारे । वक्ताहरूले अहिलेको कविताको अनुहार उज्ज्वल रहेको दाबी गर्दै युवा पुस्तामा फरक चेतना र शैली बोकेर थुप्रै स्रष्टाहरू उदाइरहेको बताए ।

अहिलेको युवापुस्ता फिक्सन, नन(फिक्सनभन्दा बढी कवितामा आकर्षित भएको हरि अधिकारीले दाबी गरे । सम्मेलनको अन्तिम सेसनमा हरि अधिकारी, रेशम विरही, निभा शाह, रामप्रसाद ज्ञवाली, रमेश श्रेष्ठ, प्रोल्ललास सिन्धुलीय, दीपक सापकोटा, अभय श्रेष्ठ, हीरामाया घिसिङ, छम गुरुङ, विवश पन्त, रमा अधिकारी, उर्मिला कोइराला– लगायतले कविता सुनाए ।

शनिबार पनि दिनैभरि विविध कार्यक्रम रहेको बृहत् साहित्य सम्मेलनका संयोजक नरेन्द्रकुमार नगरकोटीले बताए । सम्मेलन पाइला फाउन्डेसनले गरेको हो ।

प्रकाशित : फाल्गुन २१, २०७३ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?