कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नन–फिक्सन रोज्दै तन्नेरी

सुनीता साखकर्मी

काठमाडौं — बुटवलका सन्तोष खनाल स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै छन् । केही दिनअघि मात्रै उनी काठमाडौं आइपुगे । पहिलो पटक राजधानी आएका उनलाई नयाँ वर्षमा केही नयाँ पुस्तक किन्नु थियो र पुगे भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनीमा । भूगोल र प्रेमसम्बन्धी पुस्तक पढ्दै आएका उनको रोजाइमा यसपटक देशविदेशमा प्रसिद्ध व्यक्तिका जीवनी वा आत्मकथाहरू परे । सोमबार उनको हातमा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल लगायतका आत्मकथाका किताब थिए ।

नन–फिक्सन रोज्दै तन्नेरी

 

यसअघि उनको ध्यान फिक्सनमा थियो रे । उनले प्रेमसम्बन्धी केही उपन्यास र कथाकृति पढिसकेका रहेछन् । भूगोलविद् बुद्धिनारायण श्रेष्ठका भूगोलसम्बन्धी थुप्रै पुस्तक पनि पढेको उनले बताए । ‘आत्मकथाहरू धेरै पढेको थिइनँ,’ उनले भने, ‘यसपटक आत्मकथाका पुस्तकहरू संकलन गर्ने सोच छ ।’

वेदका पुस्तकहरू भएको स्टलमा वाल्मीकि क्याम्पसमा कक्षा १२ पढ्दै गरेका विक्रम भट्टराई भेटिए । उनी युवाहरूले वेद, दर्शन पढ्नुपर्ने पक्षमा उभिए । चाणक्य, अरस्तु, प्लेटोका लगायत पूर्वीय र पश्चिमा दर्शनहरू उनले पढेका रहेछन् । ‘पढ्न त मैले उपन्यास र कथाहरू पनि पढेको छु,’ उनले भने, ‘ती वेद र दर्शनभन्दा भिन्नै हुन्छन् । वेदसँग मानिसको अस्तित्व जोडिएको छ । त्यसैले अहिलेका युवाहरूले वेद र वेदांगहरू कति छन् भन्ने थाहा पाउनुपर्छ ।’ 

बुटवलमै स्नातक तेस्रो वर्षमा अध्ययनरत रीतु परियारलाई आत्मकथा नै मन पर्दो रहेछ । नेपाली राजनीतिज्ञलगायत फिल्म सेलिब्रिटीका आत्मकथाहरू उनले पढेकी रहिछन् । उनले भनिन्, ‘आत्मकथाले मानिसलाई यथार्थको बाटोमा डोर्‍याउँछ । सफल व्यक्तिहरूले असफलतालाई सफलतामा बदल्न गरेको प्रयासले हामीलाई प्रेरणा दिइरहन्छ । तर अहिले बजारमा युवाका लागि भनेर निकालिएका पुस्तकहरू गुणस्तरीय नै छैनन् ।’ उनलाई प्रेमसम्बन्धी पुस्तकहरू पनि राम्रै लाग्छन् । तर अचेल त्यस्ता पुस्तकमा प्रेमसम्बन्धी खुराकभन्दा पनि यौनलाई बढी महत्त्व दिइएको उनले दाबी गरिन् । ‘त्यही भएर प्रेमसम्बन्धी कृतिहरू अचेल ध्यानै दिन छोडें,’ उनले भनिन् ।

पछिल्लो समय युवाहरूले ननफिक्सन नै बढी रोजिरहेको प्रदर्शनी आयोजक डिकुरा पब्लिकेसनका अध्यक्ष एवं स्रष्टा पुण्यप्रसाद प्रसाईंले बताए । प्रदर्शनीमा सयभन्दा बढी प्रकाशन गृहका हजारौँ पुस्तक राखिएका छन् ।

प्रदर्शनी शनिबारसम्म चल्नेछ ।

प्रकाशित : वैशाख ६, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?