पोयट्री पर्फमर

गोकर्ण गौतम

हुनलाई कविता कृति विमोचन हो तर दर्शकको हुलिया, चेहरा अनि उत्साह हेर्दा लाग्थ्यो, कुनै रकस्टारको कन्सर्ट हुँदैछ । गत वैशाख १८ गते कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न नवराज पराजुलीको पहिलो कविता संग्रह सगरमाथाको गहिराइको विमोचनको प्रसंग हो यो । डबलीभर त्यस्ता अनुहारको बाहुल्य थियो, जो पहिलो पटक कुनै कृतिको विमोचनमा प्रत्यक्ष सरिक हुँदै थिए ।

 

किताबमा अटोग्राफ लिन हत्तारिएकी गोल्फुटारकी सुनीता सिवाकोटी, १९, भन्दैथिइन्, ‘हामी उहाँ (नवराज) को पाठक हैन, फ्यान हौं ।’ सुनीताको यही उत्साहबाट अनुमान लगाउन सकिन्छ, कुन उमेर समूह र मनोविज्ञानका दर्शकले डबली भरिएको थियो । त्यसो त त्यहाँ वरिष्ठ रंगकर्मी अशेष मल्ल, मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेदेखि फिल्म निर्देशक मनोज पण्डितसम्म उपस्थित थिए तर बाहुल्यता तीनै नवीन र कौतुहल मुहारको ।   

कार्यक्रमका सञ्चालक तथा कृति प्रकाशक अजित बरालले ‘नेपाली कविताको नयाँ सेन्सेसन’ भनेपछि लेखनसँगै कविता पर्फमबाट लोकप्रियताको शिखर चुमिरहेका नवराज मञ्चमा उक्लिए अनि बाँसुरीको धुनमा पोखिए । 
म छुजस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,
मर्छुजस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु,
...
मैले आफूलाई सम्झेको दिन 
तिमीलाई सम्झिन्छु,
आफूलाई बिर्सिएको दिन
तिमीलाई सम्झन्छु,

आमाले छोरालाई लेखेको ‘हेब्बी बड्ड’ शीर्षकको यो कविता उनले गत वर्ष पोखरामा सम्पन्न साहित्य महोत्सवमा सुनाएका थिए, जसको भिडियो फेसबुकमा २ दिनमा तीन लाखभन्दा बढी पटक हेरिएको थियो भने डबलीमा प्रत्यक्ष सुन्न पाउँदा प्रत्येक हरफमा तालीको वर्षा अनि हुटिङ हुने भइहाल्यो । हरेक कविताले ‘वान्स मोर’ पाइरहेको थियो ।  

हामीकहाँ एउटा मान्यता, एक त टिन एजर र युवा पुस्ताले नेपाली साहित्य पढ्दैनन् । पढिहाले भने पनि कविता उनीहरूको रोजाइमा पर्दै–पर्दैन । र, यो मान्यता मात्र होइन, यसमा अधिक सत्यता छ । तर नवराजचाहिँ कवितालाई हेला गर्ने भनेर चिनिएको यही समूहमाझ प्रिय भइरहेका छन् । जसरी सुविन भट्टराईले उपन्यासमा तन्नेरीलाई ताने, कवितामा नवराजले आकर्षित गरिरहेका छन् । यसमा ‘प्लस पोइन्ट’ चाहिँ, उनका कविता गहन पाठक र साहित्यका नियमित अध्येताले पनि त्यतिकै रुचाइरहेका छन् । जस्तो, विमोचन सकिनासाथ रंगकर्मी मल्ल हत्तारिँदै मञ्चमा पुगे, दुई हातले नवराजको टाउको समाउँदै निधारमा चुम्बन गरे । उनी कति उत्साही थिए भने चस्मा खसेर फुटेको पत्तै पाएनन् । उता, त्यतिबेलासम्म किताब किन्न तन्नेरीको लामो लाइन लागिसकेको थियो ।

‘पुस्तक बजारमा आउनुभन्दा अगाडि पहिलो पटक तपाईंकै कविता पढें/सुनें भन्ने म्यासेज आउँथ्यो,’ सामाजिक सञ्जाल र युट्युबमा समेत हिट यी कविले सुनाए, ‘आजकल पहिलो पटक कविताको किताब किनेरै पढ्दै छु भन्ने आशयका प्रतिक्रिया पाइरहेको छु ।’ तर धेरैलाई पत्यार नलाग्ने यथार्थ के हो भने सगरमाथाको गहिराइ बजारमा आउनु अगाडि उनका जम्माजम्मी आठ थान कविता पत्रपत्रिकामा प्रकाशित भएका थिए । आखिर, उनले कविता लेख्न थालेकै पाँच वर्ष त बित्दैछ । 

यति छोटो समयमा यति ठूलो ‘क्रेज’ १ कारण के होला ? कविता पर्फम गर्न आकर्षक पारिश्रमिक लिएरै देशका विभिन्न सहर पुगेका नवराज भन्छन्, ‘कुनै विषय वा पात्रले हृदयमा अति छोएपछि मात्र कवितामार्फत रिलिज गर्छु, सकेसम्म सरल शब्द र मिठास शैलीमा । त्यसैले अरूले छिट्टै आत्मसात् गरेको हुनुपर्छ ।’ हुन पनि हो, उनका कवितामा कोरा कल्पना र खोक्रो दर्शनभन्दा जीवन र संवेदना हुन्छ । 

जस्तो, तीन वर्ष अगाडि उनले कान्तिपुर दैनिकमा एउटा समाचार पढे, अरबमा पाँच–छ वर्षदेखि कोमामा रहेका नेपाली दाजुभाइको । जसको परिवारसँग न नेपालमा फर्काएर ल्याउने आर्थिक हैसियत छ, न नेपाल ल्याएपछि बाँच्ने कुनै सम्भावना नै । त्यसलगत्तै एक जना उनको दाइ पर्नेको अरबमा ‘नेचुरल डेथ’ भयो । पशुपति आर्यघाटमा बाकसबाट लास झिक्नासाथ छोराको खुट्टामा ढोक्दै पागलजस्तै बरबराएका बुबाको साक्षी हुनुपर्‍यो उनी । यी दुई घटनाले धेरै दिन ‘डिस्टर्ब’ भए । त्यसकै प्रतिफल थियो, कविता सगरमाथाको गहिराइ । उनले लेखेको यो पहिलो पूर्ण कविता कान्तिपुर कोसेलीमा प्रकाशित हुनासाथ साहित्यवृत्तमात्र होइन, जनमानसमै एक्कासि हिट भए । फेसबुकमा जम्माजम्मी ३ सय साथी थिए, एक सातामै पाँच हजारभन्दा बढी फ्रेन्ड रिक्वेस्ट आयो । उनले भनेकै छन्, ‘यी कविता, मैले लेखेका हैनन । मद्वारा लेखिएका हुन् ।’ 

हामीकहाँ एकखालको ‘भ्रम’ छ कि जति घुमाएर लेख्यो, कविता त्यति अब्बल । कवि त्यति नै बुद्धिमानी । जसले गर्दा आममानिस, त्यसमाथि तन्नेरीका बीच कविता प्रिय हुन सकेन । पञ्चायती व्यवस्थामा घुमाएर भन्नु बाध्यता जस्तै थियो । तर प्रजातन्त्र पुनर्बहालीपछि दिनेश अधिकारी, श्रवण मुकारुङ, विप्लव ढकाल, मनु मञ्जिलहरूले सरल शब्दबाट गहिरो कुरा भन्न थाले । ०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् यही शैलीलाई विनोदविक्रम केसी, रावत, स्वनिल स्मृतिहरूले अझ व्यापक बनाए । नवराजको कविता यही अभियानको नयाँ आयामका रूपमा स्थापित भइरहेको छ । भन्छन्, ‘म पनि सकेसम्म सामान्य भाषामा असामान्य कुरा भन्न खोज्छु । सतही रूपमा सुन्दर पनि होस् अनि भित्रभित्रै विभिन्न लेयरहरू पनि होस् ।’  

नवराज कसरी कविता लेखनमा तानिए भन्ने प्रसंग आफैंमा रोचक छ । झापाको जलथलबाट स्नातक गरेपछि मास्टर्स गर्न काठमाडौं आए । झापामा हुँदा गजल लेख्थे । कवितातिर रसै थिएन । कोर्सबाहेकका नेपाली कविता पढेका पनि थिएनन् । २०६८ सालमा गुरुकुलमा मनु मञ्जिलको एकल कविता वाचन भएको थियो, संयोगले त्यहाँ पुगे उनी । ‘तबसम्म गजल लेखिरहें, जबसम्म मनु मञ्जिललाई सुनेको थिइनँ,’ मनु मञ्जिलको कविता र वाचनशैलीबाट मन्त्रमुग्ध भएका यी कवि भन्छन्, ‘त्यो एक घण्टा मेरा लागि स्वर्णीम थियो, ध्यान–तपस्या गरेजस्तै ।’ खासमा त्यहीँबाट उनीभित्रको कवित्वको अध्याय सुरु भयो ।

नवराजको कविता जति सरल, सुन्दर र शक्तिशाली छ, वाचन त्यतिकै बुलन्द । उनी ‘कविता सुनाउने’ भन्दैनन्, ‘कविता पर्फम’ गर्ने भन्छन् । सामाजिक सञ्जालमा हटकेक बन्नुको महत्त्वपूर्ण कारण यही शैली पनि हो । लामा–लामा कविता नहेरी, त्यो पनि बडो भावमा डुबेर सुनाउन सक्नु उनको खासियत हो । उनलाई लाग्छ, पश्चिमी मुलुकको आधुनिक कवितामा कवितातत्त्व कम हुन्छ, पर्फमेन्सलाई प्राथमिकता दिइन्छ । यता, पूर्वमा चाहिँ लेख्य कविता धनी तर पर्फमेन्स पाटो कमजोर । अल नेपाल पोयट्री स्ल्याम–२०१४ का विजेता नवराज भन्छन्, ‘अनि मैलेचाहिँ पश्चिम र पूर्वको सशक्त पक्ष मिसाएर बीचको बाटो रोजेको छु । त्यसैले म आफूलाई ‘पोयट्री पर्फमर’ भन्न रुचाउँछु ।’ उनको यो पर्फमिङ पावर अझ आकर्षक हुने पक्का छ किनभने थिएटरमा प्रत्यक्ष जोडिएका छन् । दुई महिना अगाडि पाकिस्तानमा हेम्लेट नाटक देखाएर फर्किए । अर्को महिना मालिनी देखाउन युरोप जाँदैछन् । त्यस्तै, यूके र अस्ट्रेलियाबाट पोयट्री पर्फमका लागि प्रस्ताव आइरहेको छ । 

मौनमौजी छन् यी कवि । कहिले दुई वर्षमा जम्माजम्मी दुई कविता लेख्छन्, कहिले दुई महिनामा १९ वटा । किनभने कविता उनको वशको बात होइन । हृदयको अन्तरकुन्तरबाट उर्लिनुपर्छ । सायद त्यही भएर होला, अरूले पनि उनको कवितालाई हृदयबाटै प्रेम गर्छन् । जस्तै, च्याउ शीर्षक कविताका यी पंक्तिहरू :

केही छैन मसँग त्यस्तो
जसलाई हेरेर कसैले वाह गर्न सकोस्
र कोही रहेनछ यहाँ यस्तो
जो छातीको उचाइ 
र कम्मरको गोलाइ नहेरी
विवाह गर्न सकोस् । 

प्रकाशित : वैशाख २९, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

रेकर्डको चाङमाथि बाहुबली २

सुशील पौडेल

विश्वमा फिल्म बजार बढ्दो छ । बढ्दो व्यापारकै कारण फिल्मको विषयवस्तु समेत सिर्जनात्मक कम, बिकाउ ज्यादा हुँदै गइरहेको आरोप पनि फिल्मकर्मीले खेप्दै आएका छन् । गत साता रिलिज भएको भारतीय फिल्म ‘बाहुबली २’ भने सिर्जनात्मक हिसाबले जति चर्चा भएको छ, त्योभन्दा बढी कमाइका रेकर्ड राखेर भाग्यशाली साबित भइरहेको छ ।

एसएस राजामौली निर्देशित ‘बाहुबली २’ ले यतिबेला विश्वव्यापी रूपमा दस दिनमा एक हजार करोड भारु कमाइ गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कुनै पनि भारतीय फिल्मले यति धेरै कमाइ गर्न सकेका थिएनन् । त्यसो त ‘बाहुबली २’ ले पहिले नै विभिन्न शीर्षकमा बनेका रेकर्डलाई समेत भत्काएर नयाँ अंक स्थापित गरिदिएको छ । स्वदेशमा पनि नौ दिनको सर्वाधिक छिटो समयमा ३ सय करोड भारु कमाइ गरी नयाँ रेकर्ड राखिदियो ।

प्रभास, अनुष्का शेट्टी, राणा दग्गुबाती, तमन्ना भाटिया, रम्या कृष्णन, सत्यराजलगायतको मुख्य भूमिका रहेको तेलुगु फिल्म ‘बाहुबली २’ लाई अन्य तीन भाषामा पनि डब गरी रिलिज गरिएको थियो ।

अमेरिकाका ५० आइम्याक्स स्क्रिनमा रिलिज गरिएको ‘बाहुबली २’ एक सय करोड भारु कमाइ गर्ने पहिलो हिन्दी फिल्म बन्न सफल भएको छ । यसअघि उक्त रेकर्ड आमिर खान अभिनीत पछिल्लो फिल्म ‘दंगल’ का नाममा थियो । जुन फिल्मले ८० करोड भारु कमाइ गर्न सफल भएको थियो । ‘बाहुबली २’ ले कमाइमा आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले बनाएका अधिकांश रेकर्डलाई भत्काएको छ ।

बलिउडमा अधिकांश ठूला फिल्म इद, क्रिसमस वा तिहार जस्ता ठूला चाडमा बिदा खाने गरी रिलिज गरिन्छ । यस्तोमा प्राय: सलमान खान, शाहरुख खान र आमिर खानकै हालीमुहाली चल्ने गर्छ । तर ‘बाहुबली २’ बिना बिदाको साता रिलिज भएरै पहिलो साताका हरेक दिन सोल्डआउट व्यापार गर्न सफल रह्यो । क्षेत्रीय भाषा र क्षेत्रीय कलाकार भएको ‘बाहुबली २’ को बाढीमा बलिउड फिल्म नै पनि बगाइए ।

‘बाहुबली’ का दुई भागलाई चार सय ५० करोड भारुमा बनाइएको थियो । जसमा पहिलो भागले नै वल्र्डवाइड रूपमा करिब साढे ६ सय करोड भारु कमाएको थियो । पछिल्लो समय भारतीय फिल्म व्यापारको ठूलो हिस्सा बनेर उदाएको चीनमा भने ‘बाहुबली २’ रिलिज हुन बाँकी नै छ । ‘दंगल’ ले चीनमा पनि अमेरिकाकै हाराहारीमा कलेक्सन गरेको थियो र आठ सय करोड भारुको लाइफटाइम कलेक्सन गर्न सफल भएको थियो ।

राजामौलीको फिल्मले भने सारा रेकर्ड तोड्न दुई साता पनि कुर्नु परेन । नेपालमै पनि पहिलो साता शतप्रतिशत अकुपेन्सीसहित व्यापार गरेको यस फिल्मले दोस्रो साता पनि मल्टिप्लेक्समा सोलो प्रदर्शनी पाएको छ । यहाँका व्यापार विज्ञहरू ‘बाहुबली २’ ले नेपालबाट मात्रै १२ करोडभन्दा बढी रुपैयाँको व्यापार गर्ने दाबी गर्छन् । जुन व्यापार हालसम्म कुनै विदेशीभाषी फिल्मले गर्न सकेका छैनन् ।

दोस्रो सातामा समेत ६० प्रतिशतभन्दा बढीको अकुपेन्सीसहित दर्शक बटुलिरहेको ‘बाहुबली २’ ले दोस्रो साताको आइतबार मात्रै ३४ करोड ५० लाख भारुको कलेक्सन गर्न सफल भएको छ । जुन दोस्रो सातामा हालसम्म भारतीय फिल्मले गरेको व्यापारको उच्च आँकडा पनि हो । यतिबेला फिल्म घरेलु बक्सअफिसमा चार सय करोडको नयाँ रेकर्डतर्फ उन्मुख छ ।

यसका लागि ‘बाहुबली २’ लाई आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले क्रमश: बनाएका लाइफटाइफ कलेक्सन ३ सय ४१ करोड र ३ सय ८७ करोड भारुलाई समेत उछिनेर जानुपर्नेछ ।

राजसत्ता संघर्षका लागि दुई भाइबीचको संघर्ष र त्यसमा भाइ भारदारले खेल्ने षड्यन्त्रकोमाखेसाङ्लोमा उनिएको ‘बाहुबली २’ को पटकथालाई दर्शकले जति रचाएका छन्, फिल्ममा प्रयुक्त भिजुअल स्पेसल इफेक्ट्सको पनि तारिफ गरिएको छ । फेन्टासी लुक्समा ठूलो क्यानभास सिर्जना गर्न सक्ने निर्देशक राजामौलीको कल्पनाशीलतालाई भारतमा मात्र नभई विश्वभरका फिल्म समालोचकले समेत प्रशंसा गरेका छन् ।

प्रकाशित : वैशाख २९, २०७४ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्