कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्सी संस्कृति

पुस्तक अंश
चेतनाथ आचार्य

चीनमा रक्सीलाई उच्च प्राथमिकतामा राखिन्छ । चिनियाँँ संस्कृतिअनुसार पाहुनाको स्वागतका लागि रक्सी नभई हुँदैन । नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध चिनियाँ लेखक मो यानले उपन्यास नै लेखेका छन् ‘रिपब्लिक अफ वाइन’ अर्थात् रक्सीको गणतन्त्र ।

 रक्सी संस्कृति

यो उपन्यासबाट थाहा पाइन्छ चीनमा रक्सीको महत्त्व र महिमा ।

हुन त चीनमा पानीभन्दा बियर सस्तो मानिन्छ । सुपरमार्केटहरूमा पानी र क्यान बियरको मूल्य उस्तै–उस्तै पर्छ । कुनै–कुनै रेस्टुराँमा एकमुष्ठ पैसा तिरेर पसेपछि बियर जति पनि खान पाइन्छ तर पानीचाहिँ किन्नुपर्छ ।

चीनमा बढिरहेको रक्सी संस्कृति र आडम्बरी खर्च कटौती गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले विशेष प्रस्तावै पारित गरी भोजभतेरमा रक्सी प्रयोग नगर्ने निर्णय गरेको छ । यद्यपि चीनमा आयोजना हुने स्वागत तथा बिदाइका भोजभतेर तथा अन्य उत्सवहरू रक्सीमय हुने गर्छन् । रक्सी संस्कृति चीनको तिब्बती जातिमा पनि उत्तिकै व्याप्त छ ।

चीनको पश्चिममा पर्ने कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरमा जाँदा रक्सीको महिमालाई घनीभूत रूपमै अनुभव गर्न पाइयो । काननानमा पाहुनालाई स्वागत गर्न जौबाट बनेको स्थानीय रक्सी खुवाइँदो रहेछ । डिनरमा पनि रक्सी नखाई नहुने । कलाकारहरू आएर गीत गाउँदै तीन ट्वाक रक्सी खुवाउँछन् । ‘खान्नँ’ भन्दा माने त के । म थिएँ १९ जनाको समूहको एक्लो विदेशी ।

बेइजिङबाट गएका केटीहरू ती कलाकारलाई के भन्थे कुन्नि, मेरो वरिपरि झुम्मिएर गीत गाउन थालेपछि रक्सी नखाउन्जेल डेग नचल्ने । हुन त सिह्न्वामा कार्यरत चिनियाँ युवतीले मलाई पहिलो दिनमै एउटा जुक्ति सिकाएकी थिइन्— ‘यहाँको चलनअनुसार उनीहरूले दिएको रक्सी खानैपर्छ, त्यो सगुन हो । ‘खान्नँ’ भन्नु उनीहरूको अपमान हो । त्यसकारण खाएजस्तो गरेर अलि–अलि जुठो हाल्नैपर्छ ।’ मैले पनि त्यही जुक्ति निकालें । जुठो हाल्ने काम पनि एकपटक मात्र हो र, तीन–तीनपटक । म हरेक बटुको उचालेर ओठमा पु‍र्‍याएर यसो खाएजस्तो गर्थें ।

प्राय: खाना खाने बेलामा हामी घुम्ने टेबल वरिपरि बस्थ्यौं । लन्च होस् कि डिनर, दौडेर आइहाल्थे तिब्बती कलाकारहरू रक्सीको भाँडो र थालीमा भरेका तीनवटा रक्सीका बोल लिएर । गीतको मीठो भाका र पोसाकको आकर्षणले रक्सी नखानेलाई पनि उत्तिकै मनोरञ्जक माहोल बन्थ्यो । हरेक व्यक्तिलाई फरक–फरक तिब्बती गीतबाट स्वागत गर्ने कलाकारहरू गएपछि वातावरण नै सुनसान हुन्थ्यो तर रक्सीबाट मुक्ति पाए पो !


खाना अन्तमा प्रान्तीय पार्टी कमिटी र सरकारका अधिकारी एवं प्रिफेक्चर पार्टी कमिटी र सरकारका अधिकारीहरू पालैपालो रक्सी लिएर आउँथे ‘क्याम्पे’ गर्न । चिनियाँहरू ‘चियर्स’ भन्दा बढी ‘क्याम्पे’ शब्द प्रयोग गर्छन् । क्याम्पे गर्दा एकै स्वाटमा आफूसँग भएको सबै रक्सी पिएर सक्नुपर्छ । दोभाषेको सहयोगमा म अनुरोध गर्थें, “मलाई डाक्टरले ‘रक्सी नखान’ भनेको छ । मेरो कलेजोमा समस्या छ ।” तर चिनियाँ अधिकारीले पत्याए पो, ‘हाम्रो मित्रताको प्रतीक हो, थोरै चियर्स गर्नैपर्छ’ उनीहरूको भावना बुझेर सहकर्मी ललिता मलाई सम्झाउँथिन्, ‘थोरै पिउनुहोस् । उहाँहरू स्थानीय नेता हो । नेताले भनेको मान्नुपर्छ ।’ अलि–अलि गर्दागर्दै मात्ने स्थिति हुन्थ्यो ।

‘चीन र नेपालको मित्रताको प्रतीक’ भनेर रक्सीको गिलास उठाउँदा मैले केही वर्षअगाडिको घटना सम्झिएँ । नेपालबाट पूर्वसञ्चारमन्त्रीहरू प्रदीप नेपाल, जेपी गुप्ता, वरिष्ठ पत्रकार युवराज घिमिरे, नारायण वाग्लेहरूको एउटा समूह चीन भ्रमणमा आएको बेला बेइजिङमा केही समय हामी सँगसँगै घुमेका थियौं । त्यति बेला पनि चिनियाँ रक्सी संस्कृतिको कुरा भएको थियो । जेपी गुप्ता भन्थे, ‘चिनियाँ रक्सीको मान्यता अपरम्पार छ । तत्कालीन प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा आउँदा चेयरम्यान माओत्सेतुङसँग रातभर रक्सी ठोक्काउँदै वार्ता गर्नुभएको थियो रे । बिहान उज्यालो हुने बेलामा मात्र चेयरम्यान माओले बीपीसँग अन्तिम गिलासको रक्सी ठोक्काउँदै ‘तपाईंले हाम्रो आतिथ्य सत्कार स्वीकार गर्दै हामीसँग रातभर रक्सी पिउनुभयो । रक्सीको यो अन्तिम गिलासलाई दुई देशको मित्रताको प्रतीकका रूपमा उठाउँदै म घोषणा गर्छु कि सगरमाथाको चुचुरो नेपालको सीमाभित्र पर्छ’ भनेपछि वार्ता टुङ्गिएछ ।

माओ र बीपीबीच त्यस्तो छलफल भयो कि भएन, त्यो त पुष्टि हुने कुनै सामग्री नभेटिएला तर गुप्ताजीको भनाइले आतिथ्य सत्कारमा चिनियाँ रक्सी संस्कृतिलाई भने गतिलो ढङ्गले पुष्टि गरेको छ ।
काननानमा स्थानीय नेताहरूले ‘हाम्रो मित्रताको प्रतीक’ भन्दै रक्सीको गिलास उठाउँदा म पनि निकै भावुक भएर रक्सी पिउन थालेछु । सहकर्मी ललिता याद गरिरहेकी रहिछन् ।

कहिल्यै रक्सी नखाने मान्छेले नेतैपिच्छे घुट्क्याउन थालेको देखेपछि उनी बिस्तारै ‘अलि–अलि खाएजस्तो मात्र गर्नुहोस्’ भन्दै थिइन् । उनले नेपालीमा बोलेको बुझ्ने मबाहेक अर्को मान्छे नहुँदा एक किसिमको सजिलो पनि थियो । पछि त उनी आपैंm नेताहरूलाई चिनियाँ भाषामा सम्झाउन थालिन्, ‘यो विदेशी कहिल्यै रक्सी खाँदैन । यहाँ तपाईंहरूको आतिथ्य स्वीकारमा मात्र खाँदै छ । त्यस कारण उसलाई पिउन कर नगर्नुहोला ।’

ललिताको भनाइले मलाई निकै सुखी लाग्यो— कमसेकम उनले मेरो भावना राम्ररी बुझेकी थिइन् । ललिता आफू रक्सी मन नपराउने मान्छे, उनको पनि हालत उही थियो । आयोजकहरूको आतिथ्य सत्कार त उनले पनि स्वीकार गर्नैपथ्र्यो । नेपालमा जस्तो भए महिलालाई रक्सी खान कर गरिन्नथ्यो होला । चीनमा महिला र पुरुषमा खासै भेदभाव हुँदैन । ललितालाई रक्सी झेल्न निकै हम्मे परिरहेको थियो ।
एक हप्ता काननान बसाइको अन्तिम डिनर अघिल्लाभन्दा निकै भव्य थियो । डिनर भव्य भएपछि रक्सी पनि भव्य तरिकाले नै पिउनुपर्ने अवस्था आयो । सोचें, अब फिटान बनाएर मताउने भए चिनियाँहरूले । बिदाइ डिनर पनि भएकाले अरू बेलाभन्दा धेरै सहभागी थिए स्थानीय नेताहरू । ‘सबैसँग गिलास ठोक्काउँदै रक्सी खाँदा त एकै छिनमा ढलिहालिन्छ’ म भित्रभित्रै पिल्सिन थालें । सिटप्लानअनुसार डिनरमा मेरो छेउमै थिइन् ललिता ।

सधैंझैँ तिब्बती कलाकारहरू परम्परागत पोसाकमा सजिएर बाजागाजा बजाउँदै अत्यन्त सुमधुर गीत गाउँदै आए । ललिताजीले मैले रक्सी नखाने कुरा सुनाएपछि उनीहरूले अचम्मको सर्त राखेछन्, ‘रक्सी नखाने भए एउटा नेपाली गीत गाउनुपर्छ !’ मलाई रक्सी खानुभन्दा गीत गाउन सजिलो थियो । त्यसैले ललिताजीलाई सघाउन अनुरोध गर्दै मज्जाले गाइदिएँ ‘रेसम फिरिरी’ । एउटै मात्र विदेशी, त्यसमाथि मेरो गायन ! खै कस्तो सुनियो कुन्नि ! तर अर्को पनि गीत गाउने फर्माइस् आएपछि ‘इलामै सहर चिया बारी राम्रो’ बोलको गीत गाएँ र त्यसको थोरै भावार्थ पनि बताएँ । ललिताजीले चिनियाँमा अनुवाद गरेर सुनाइन् । कलाकारहरू पनि दङ्ग परे ।

रक्सी पिउनुपर्ने एउटा खड्गो पार भयो । कलाकारहरू बिदा भए तर स्थानीय नेताहरूसँग गिलास ठोकाउन त बाँकी नै थियो । हामी डिनर खान थाल्यौं । डिनरको बीच–बीचमा गिलास लिएर स्थानीय नेताहरू आउँछन् भन्ने कुरामा म जानकार थिएँ । केही बेरपछि रक्सी लिएर नेताहरू आउन थालिहाले । अरू बेला रक्सी पिउन पटक्कै मन नगर्ने ललिताजी चिनियाँ नेताहरूसँग रक्सीको ट्वाक ठोकाउँदै गफ गरेको देखेर म छक्क परें । उनले आफूसँग रक्सीको ठूलो भाँडो पनि राखेकी रहिछन् । रक्सी पिउँदै आएका नेताहरूसँग रक्सी थप्ने तिब्बती महिलाहरू पनि साथमै आएका थिए । ललिता उनीहरूबाट रक्सी नथपेर आपैंmले राखेको रक्सी थप्तै पिउँदै थिइन् । उनी नेतासँग गिलास ठोक्काएर स्वाट्ट रक्सी पिउँथिन् र अनुहार बटारेर रक्सीमा भएको कडापनको प्रतिक्रिया दिन्थिन् ।

‘अघिल्लो दिनसम्म यिनले रक्सी पिउँदिनँ भनेको त नाटक मात्र रहेछ’ मनमनै सोच्दै थिएँ । तैपनि ममा कुतूहल थपिँदै थियो । बेला–बेला ललिता मेरो अनुहारमा हेरेर मुसुक्क हाँस्थिन् । उनी उभिएर नेताहरूसँग गफ गर्दै थिइन् । खै के सुर चलेर हो, मलाई उनको टेबलमा राखेको रक्सी सुँघ्न मन लाग्यो । अरूका आँखा छलेर सुघें पनि । अझै चित्त नबुझेर आफूलाई रक्सी खान दिएको गिलासमा अलिकति हालेर चाखें । ओहो कहाँको रक्सी हुनु नि । पानी पो रहेछ । अनि त म पनि ललिताजीको आइडिया पछयाउन थालिहालें ।

एकै छिनमा नेताहरू मेरो नजिक आइपुगे । तिब्बती युवतीले मेरो गिलासमा रक्सी हाल्न आँटेकी थिइन् । मैले आफूसँगै रक्सी भएको जानकारी दिएर ललिताजीले ठिक्क पारेको पानी गिलासमा राखें । त्यसपछि त जति ठोक्काए पनि बाल मतलब भए पो । त्यो दिन दस बजेसम्म रक्सीमा पानी चियर्स गर्दै मजाले डिनर गरियो । ललिताजीलाई जिस्क्याएँ, ‘तपाईं त पानी पिएर पनि कति राम्ररी रक्सी पिएको अभिनय गर्नहुँदो रहेछ !’

भनिन्, ‘म कलाकारभन्दा कहाँ कम छु र ।’ उनको अनुहारमा गौरवको हाँसो थियो ।

[email protected]
आचार्यको प्रकाशोन्मुख पुस्तक ‘चीन चियाउँदा’ को अंश ।

प्रकाशित : भाद्र ३१, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?