कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुन भाषामा प्रभावकारी त्यसैमा लेखन

सुनीता साखकर्मी

काठमाडौं — दसैंअघि पाटनमा एकदिने नेपालभाषा लिटरेचर फेस्टिभल भयो । फेस्टिभलको उद्घाटन सत्रमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीदेखि वरिष्ठ साहित्यकार भूषणप्रसाद श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार पूर्ण वैद्य, कवि स्नेह सायमि, कवि सुलोचना मानन्धरसम्मले नेपालभाषामै मन्तव्य दिए ।

जुन भाषामा प्रभावकारी त्यसैमा लेखन

अब पालो थियो, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको । पोखराको नेवार समुदायलाई प्रतिनिधित्व गर्ने उनी नेपालभाषाका कार्यक्रमहरूमा नेपाली भाषामै मन्तव्य दिने गर्थे । यस पटक उनले लिखित भए पनि नेपालभाषामै मन्तव्य दिएर दर्शकश्रोतालाई अचम्मित तुल्याइदिए । 

उनको चार मिनेटको मन्तव्य सामान्य थियो । तर मन्तव्य तयार पार्न भने उनले निकै मिहिनेत गर्नुपरेछ । ‘बुद्धनगर बस्ने भाइ केदार श्रेष्ठको सहयोगमा मन्तव्य लेखेको हुँ,’ उनले भने, ‘लेखिसकेपछि मन्तव्य पढ्न पनि घरमा कति पटक ट्राई गरेर हेरेँ । तैपनि कार्यक्रममा मन्तव्य पढदा कतै मिस्टेक हुने हो कि भन्ने चिन्ता मनमा थियो । नेपालभाषा देवनागरी लिपिमै लेखिएको रहेछ भने पनि पढ्न गाह्रो लाग्छ । तर अरूले पढेको वा बोलेको बेला भने मज्जाले बुझ्छु । सबैले मैले पढेकोमा तारिफ गरे । मलाई पनि खुसी लाग्यो ।’

सरुभक्तका पुर्खा भक्तपुरबाट बसाइँ सरेर पोखरा गएका थिए । सरुभक्त पनि छ–सात वर्षको उमेरसम्म नेपालभाषामै बोल्दा रहेछन् । विद्यालयमा पढ्न थालेपछि भने नेपालभाषा बोल्दा नेवारी लवज आउने भएकाले साथी र शिक्षकहरूले गिज्याउन थालेपछि बोल्नै छोडिदिए । उनले भने, ‘विद्यालयकै शैलीमा घरमा पनि नेपालीमै कुरा गर्न थाल्यौँ । बोल्दा नेवारी टोन फुस्किन्छ र साथीहरूले जिस्काउँछन् भनेर साह्रै चनाखो भएर नेपाली बोल्न थालेँ । त्यसपछि नेपालभाषा बिर्संदै गएँ ।’ 

पोखरामा नेपालभाषाको लेख्य परम्परा नहुनुले पनि यस्तो भएको उनले अनुमान लगाए । भने, ‘हाम्रा पुर्खाले नेपालभाषा त साथै लिएर गए तर लेखपढको रूप लिएर जान सकेनन्, । लिपिको ज्ञान भएन । हामीले नेपालभाषाका किताबहरू पनि पढ्न पाएनौँ ।’

उच्च शिक्षाका लागि काठमाडौं आएपछि मात्रै नेपालभाषाका साहित्यकारहरूसँग उनको संगत हुन थाल्यो । संगतपछि नेपालभाषा साहित्यको महत्त्व र त्यसको ओज थाहा पाएको उनले बताए । अचेल केही साहित्यकार उनीसँग नेपालभाषामै कुरा गर्छन्, उनी कुनै बेला नेपालभाषामै जवाफिन्छन् भने कुनै बेला नेपालीमा । उनले बेलाबेला नेपालभाषाका कृतिहरू पढ्ने गर्छन् ।

‘कहिलेकाहीं नेपालभाषाको शब्दकोष पनि पल्टाउँछु, कतिपय मैले लेख्ने साहित्यमा शब्दहरू प्रयोग पनि गरेको छु, तर उच्चारण गर्न भने गाह्रो लाग्छ,’ उनले भने, ‘मलाई नेपाली भाषाभन्दा पनि नेपालभाषा मीठो लाग्छ । नेपालभाषामा साहित्य रचना गर्न नसकेकोमा अफसोस हुन्छ । तर विभिन्न जातीय प्रतिनिधित्व नेपाली भाषामा भइरहेकोमा खुसी पनि छु । नेपाली भाषाले नै विभिन्न जातजाति र समुदायबीच आत्मीयता र मित्रता बढाउने काम गरिरहेको छ ।’ 


भूपाल राई

कवि/गीतकार भूपाल राई दुङमाली भाषा बोल्छन् । उनी नेपाली भाषामै कविता र गीतहरू लेख्छन् । उनलाई पनि बेलाबेला ‘किराँती भएर खस नेपाली भाषाको सेवा गरेको’ भन्ने आरोप लाग्ने गरेको छ । ‘मान्छेको पहिचानको एउटा पक्ष भाषा पनि हो, तर एउटा कविले यही भाषामा लेख्नुपर्छ भन्ने मान्यता म राख्दिनँ,’ उनले भने, ‘कवि वा गीतकारले आफ्नो रचनामार्फत आफ्ना कुरा सम्प्रेषण गर्छ । आफ्नो भाषामा लेख्दा भाषाको टेवा वा पहिचान जोगाउने कुरा पनि हुन्छ, तर त्योभन्दा पनि प्रभावकारी रूपमा आफ्ना कुराहरू जुन भाषाका माध्यमबाट पुर्‍याउन सक्यो, त्यही भाषा प्रयोग गर्नुपर्छ ।’

साहित्यकारहरूमा आफ्नो साहित्य रचना धेरैभन्दा धेरैले पढोस् भन्ने स्वार्थ हुने भएकाले धेरैभन्दा धेरैले बुझ्ने भाषामा लेख्न चाहने उनले बताए । थपे, ‘आफ्नो भाषामा लेख्दा थोरै मासले मात्रै सुन्ने र बुझ्ने हुन्छ । सबैले जानेको भाषामा लेख्दा धेरै मासमा आफ्नो कुरा सम्प्रेषण हुन्छ । कविले भाषाको सेवाको लागि मात्रै लेख्दैन ।’ 

श्रवण मुकारुङ 

श्रवण मुकारुङ चाहिँ वान्तवा भाषा बोल्छन् । तर उनले नेपाली भाषामा लेखेका कविताले नै उनलाई चर्चित बनाएका छन् । उनलाई आफ्नो मातृभाषामा त्यति राम्रो पकड भएको जस्तो लाग्दैन । उनले सुनाए, ‘म मिश्रित जातजाति भएको ठाउँमा हुर्किएको हुँ । 

मेरा बुबा बान्तवा भाषी, मेरी आमा चाम्लिङ भाषी । 

फरक भाषा भएको, माध्यम भाषाको रूपमा खस नेपाली भाषा बोलियो । तैपनि बान्तवा भाषामा ६ वटाजति कविता लेखेको छु । जुन भाषामा लेखे पनि कवि/साहित्यकारहरूले सोच्ने, कल्पना गर्ने कुराहरू एउटै हुन्छ, सम्प्रेषण जुन भाषाबाट गरे पनि हुन्छ ।’

मुलुकमा भएको राजनीतिक परिवर्तनपछि मात्रै मातृभाषामा साहित्य लेख्ने क्रम बढदै गएकोले मुकारुङ मातृभाषामा दक्षता भएकाहरूलाई मातृभाषामै साहित्य रचना गर्न सुझाउँछन् । ‘मेरो मातृभाषामा राम्रो पकड छैन । म सिक्दै छु । मातृभाषामै लेख्नेहरूको लागि पनि सम्भावनाका बाटा खुल्दै छन्,’ उनले भने, ‘कुनै भाषामा लेखिएका राम्रा पुस्तकहरू अनुवाद भएर अन्य भाषीहरूमाझ पनि लोकप्रिय बन्छन् । त्यसको लागि काव्य रचना, लेखाइ र त्यसले सम्प्रेषण गर्ने विचार सशक्त हुनपर्छ ।’

 

प्रकाशित : आश्विन २१, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?