कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फूलमान वललाई ‘प्रतिभा पुरस्कार’

कान्तिपुर संवाददाता

लन्डन — शनिबार बेलायतको हाइवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बु राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले वरिष्ठ श्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र युवा श्रष्टा फूलमान वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

फूलमान वललाई ‘प्रतिभा पुरस्कार’

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।

सम्मानमा २० हजार नगद, ताम्रपत्र र दोसल्ला छ भने पुरस्कारमा एक लाख रुपैयाँ नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

आचार्यका ‘असमान यी धर्तीका तस्विरहरु’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता र एक मुक्तक संग्रह प्रकाशित छन् । उनले ‘छायाँ’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोसीका कोसेली’जस्ता साहित्यिक संकलन एवं पत्रिकाको सम्पादनसमेत गरेका छन् । उनी धरानका वम देवान, कृष्ण पाख्रिनहरुसँग समाज परिवर्तनका लागि साहित्यिक अभियान सन्चालन गर्ने पुराना स्रष्टा हुन् । उनलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो । 

त्यसै गरी वि.सं. २०३६ साल असोज १२ गते तिमालको काभ्रेमा जन्मिएका वलका ‘काजोल खातुन’ कथासङ्ग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासङ्ग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् भने उनले दुई वृत्तचित्रका अतिरिक्त ‘नीरफूल’ नामक चलचित्र लेखन तथा निर्देशन गरेका छन् । कविता, कथा, नाटक तथा चलचित्र आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएवापत श्रष्टा वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो । 

सम्मान तथा पुरस्कार जनवरी अन्तिम साता काठमाडौंमा एक समारोह आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।     

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. इश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुंद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ सम्मानित भइसकेका छन् । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ पुरस्कृत भइसकेका छन् ।    

बैठकले संस्था स्थापनाको एक दशक पुगेको विशेष अवसरमा भाषा, साहित्य तथा साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत संगीत साधना प्रतिष्ठान, नेपाल (इटहरी, सुनसरी), सुदूर पश्चिमान्चल साहित्य समाज (धनगढी, कैलाली), र स्व. पारसमणि प्रधान शालिक संरक्षण समिति (सिलगुढी, पश्चिम बंगाल, भारत)लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव मिजास तेम्बेले बताए ।           

यसैबीच शनिबारै सम्पन्न प्रतिष्ठानको तेस्रो सम्मेलनले दीपा लिम्बु राईको अध्यक्षतामा गणेश राई र टंक वनेम उपाध्यक्ष, मिजास तेम्बे महासचिव, नरेश नाति सचिव, अन्जु अन्जली सहसचिव, देवेन्द्र खेरेस कोषाध्यक्ष र चोक गुरुङ सहकोषाध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ ।

प्रकाशित : कार्तिक २०, २०७४ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?