पहिलो तामाङ लेखकको सम्झना

शैली संक्षेप
कान्तिपुर संवाददाता

काठमाडौं — पहिलो तामाङ लेखक बुद्धिमान मोक्तानको १ सय १८ औं जन्मजयन्ती मनाइयो । राजधानीमा साहित्यिक संस्था तामाङ डाजाङलाई मोक्तानलाई सम्झेको हो । भाषाविद् अमृत योञ्जनले मोक्तानको तस्बिरमा खादा अर्पण गर्दै उनको योगदानको चर्चा गरे ।

वि.स १९५६ कात्तिक २७ गते भारतको दार्जिलिङमा जन्मेका मोक्तानले २०१३ मा ‘जिक्तेन तामछ्योई’ तामाङ वंशावली लेखेका थिए । 

कार्यक्रममा ‘तामाङ प्रकाशनको अवस्था र चुनौती’माथि पनि अन्तर्क्रिया समेत गरिएको थियो । भाषाविद् योञ्जनले तामाङ भाषाका पुस्तकहरू छापिएको भएपनि तिनमा बृहत् तामाङ समाज आउन पनि नसकेको दाबी गरे । तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले तामाङ मिडियाको अवस्था नै कमजोर रहेकाले पनि त्यसको असर प्रकाशनमा परेको औंल्याए । कार्यक्रममा लेखक धनम तामाङको दुई कृति ठुङह्राप/केह्रप् (लोककथा) र ‘सप्सी’ काव्य लोकार्पण गरियो । 

भाषाविद् योञ्जन र तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले कृति सार्वजनिक गरेका हुन् । ‘ठुङ्ह्राप/केह्राप’ मा तामाङ सभ्यता उत्पत्तिका कथा र ‘सप्सी’मा पश्चिमी तामाङका कथाव्यथा उनिएको लेखक धनमले जनाए । कार्यक्रममा एक दर्जन तामाङ कविहरूले आ–आफ्ना रचना पस्केका थिए । 

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?