‘माइती आए’ अकादमी स्रष्टा

कान्तिपुर संवाददाता

काठमाडौं — भारतीय साहित्य अकादमी पुरस्कार विजेता सिक्किमेली साहित्यकार भीम दाहाल यतिबेला काठमाडौंमा छन् । भारतीय लोकसभामा ३ पटक सांसद भइसकेका यिनको परिचय उपन्यास, कविता, कथासँगै इतिहास विमर्शमा स्थापित छ ।

उपन्यास ‘द्रोह’का लागि सन् २००६ मा साहित्य अकादमी पाएका उनी साहित्यमा निरन्तर सक्रिय छन् । आँखाको उपचार गर्न नेपाल आएका उनी आइतबार बिहान राजधानीमा सम्मानित भए भने दिउँसो उनले एकल कविता वाचन गरे । 

बानेश्वर सर्जक समाजले उनलाई सम्मान गरेको हो । बानेश्वर क्याम्पसमा आयोजित ‘अन्तर्किया तथा सम्मान कार्यक्रम’ मा उनीसहित सामाजिक अभियन्ता श्रीमती जुडी राई दाहाल सम्मानित भएका हुन् । वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. वासुदेव त्रिपाठीले दाहाललाई ‘बानेश्वर साहित्य सम्मान’ अर्पण गरे । दाहालले नेपालीहरू संसारभर फैलिएको भए पनि काठमाडौं आउँदा ‘किरात युवती माइती आएको जस्तै उच्चतम खुसी’ मिल्ने बताए । राजनीतिले विभाजन गरे पनि भाषासाहित्यले जोड्ने बताउँदै दाहालले ‘तारी नदेऊ ए माझी दाइ...’ गीतमा जस्तै माइती जाँदाको खुसी मिलेको सुनाए ।

वरिष्ठ साहित्यकार डा. त्रिपाठीले ‘सिक्किमले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्‍याइरहेको’ बताउँदै सिक्किमबाट अन्यत्रका नेपालीले सिक्नुपर्ने औंल्याए । यसपछि साहित्यकार डा. तुलसी भट्टराई, समाजका अध्यक्ष महेश प्रसाई, लोकेश ढकाल, मातृका पोखरेल, डा. घमानसिहं खडका, केदार न्यौपाने, कृष्ण हमाल, कुलप्रसाद पराजुली र रमेश शुभेच्छुले ‘भारतीय नेपाली साहित्य र विश्व नेपाली साहित्य’ बारे बोले । दिउँसो भने दाहाललाई त्रिपुरा साहित्य समाजले एकल कविता वाचनमा प्रस्तुत गर्‍यो । ‘रगतको हस्ताक्षर’ जस्ता कविता कृतिका स्रष्टा दाहालले ‘बबिनमा धागो छैन कति चलाउँ, म यो मेसिन’, ‘कागजको मन’, ‘मलाई नयाँ मुलुक देऊ’ लगायतका कविता सुनाए ।

समालोचक प्रा. राजेन्द्र सुवेदीले दाहालका कवितामा भारतीय नेपालीको स्वर रहेको टिप्पणी गरे । एकल वाचनमा सुजन घलेले मादल बजाएर र उन्नत सुनामले बाँसुरी बजाएर सांगीतिक माहोल दिए । दाहालका ‘कंकाल अभिव्यक्ति’, ‘समृद्ध व्यथा’, ‘अभीष्टको खोज’, ‘विद्रोह’, ‘मेरो मनको साइनो तिम्रो मनलाई’, ‘विचार, क्रान्ति र परिवर्तन’ कृतिसमेत प्रकाशित छन् ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चितवनमा ‘पाठशाला’

कान्तिपुर संवाददाता

चितवन — भरतपुरमा शनिबार तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ बारे अन्तक्र्रिया गरियो । अक्षर समूह चितवनद्वारा ग्लोबल होटलमा आयोजित कार्यक्रममा स्रष्टाहरूको उपस्थिति बाक्लो थियो ।

समीक्षक उदय अधिकारीले ‘पाठशाला’ बाल मनोविज्ञानमा लेखिएको नेपाली साहित्यको सबैभन्दा सरल पुस्तक रहेको बताए । ‘पुस्तक राम्रो छ,’ उनले भने, ‘त्यसैले पठनीय छ ।’ अर्का समीक्षक लक्ष्मण श्रेष्ठले शैक्षिक गतिविधिका हिसाबले उक्त उपन्यास राम्रो स्रोत भएको टिप्पणी गरे ।

प्रकाशक बुकहिलका भूपेन्द्र खड्काले नेपाली शैक्षिक क्षेत्रमा कमै मात्र कृति प्रकाशित भएको बताए । “पाठशाला’ को पाण्डुलिपि पढेर धेरै शिक्षविद्ले छाप्नुपर्छ भनेर सुझाव दिएका थिए,’ उनले भने, ‘हामीले छाप्यौं । अहिले सबैतिर प्रशंसा भएको छ ।’

उपन्यासमा आफ्नो क्षमता देखाएको लेखक सफल रहेको कवि निमेष निखिलले बताए ।

अक्षर समूहका अध्यक्ष ईश्वर कँडेलले उपन्यास राम्रो भएको र लेखकले आफ्नो कथावस्तुलाई समेट्ने प्रयास गरेको बताए । लेखक गुरुङले उपन्यासमा अप्रत्यक्ष रूपमा आदिवासी जनजाति र दलित समुदायका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको सुनाए ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT