कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकल वाचनमा हेमन्त

काठमाडौं — डोट्याली कवि हेमन्त विवश शनिबार धनगढीमा सुनिएका छन् । एकल वाचनमा उनले छन्द र गद्यका दुई दर्जन कविता सुनाए ।

एकल वाचनमा हेमन्त

‘भगवानको खोजी’ शीर्षक कविताबाट वाचन थालेका उनले आफ्ना रचनामा भुइँ मान्छेका दु:खका कथा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ । बेलाबेलामा उनले डेउडा गीत पनि गाए ।

रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चद्वारा आयोजित कार्यक्रममा श्रोताहरू सय रुपैयाँको टिकट काटेर आएका थिए । रुबस होटलको हलमा खचाखच भरिएका श्रोताहरू बेलाबेलै ताली बजाएर कविलाई हौस्याइरहे । कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएको थियो ।

कार्यक्रमको सुरुआतमा महाकाव्यकार मनिराज जोशीले कवि विवश र गायकको समूहलाई फूलमालाले स्वागत गरेका थिए । विवशको यो दोस्रो एकल वाचन हो । यसअघि अली मियाँ लोक वाङ्मय प्रतिष्ठानको निम्तोमा असोज ५ गते पोखरामा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कविहरू पदमराज जोशी, टोपेन्द्र शाह रसिक, अभि अजनवी र जनक रसिकले कवि विवशको कविताबारे टिप्पणी गरेका थिए ।

विवशका ‘विवशका स्रमाई,’ ‘असौजको जून’ र ‘यादै जनमभरि’ गरी तीन एल्बम, ‘आफ्नै मनसँग’ र ‘सैपालको आँगन’ कवितासंग्रह तथा ‘कथा एउटै तिम्रो मेरो’ प्रकाशित छन् । रेडियो नेपालबाट २०६८ का लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका तीन दर्जन गीत रेकर्ड भइसकेका छन् ।

प्रकाशित : मंसिर ४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?