कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८८ कटे पनि ऊर्जावान्

काठमाडौं — साहित्यकार नगेन्द्र शर्मा ढुंगानाको परिचय धेरैका निम्ति नयाँनौलो र बिर्सिसकेको जस्तो लाग्न सक्छ। तर, यसै साता उमेरको ८८ औँ खुड्किलो टेकेका यी लेखकको सृजनशील परिचय भने धेरै पुरानो छ।

८८ कटे पनि ऊर्जावान्

लेखकका रूपमा नगेन्द्र शर्माको जन्म झन्डै ५० वर्षअघि भएको हो। उनको पहिलो कृति ‘नगेन्द्रका निबन्ध’ २०२६ मा साझा प्रकाशनबाट छापिएको थियो। ‘एउटा सानो खर्साङे खहरेको भुल्को बग्दैबग्दै बङ्गोपसागर छोएर फेरि बाफ र बादलको रूपमा उडदै बागमती किनाराको भुँइकुहिरो बन्न आइपुगेको कथा हो यो’ भनेर आफूबारे बताउने उनी पछिल्लो समय गुप्तवासमा झैं छन्। साताको तीन चोटि किड्नी डाइलासिस गर्ने नियम बसेको पनि १४ महिना भइसकेको छ।

‘डाइलासिसको दिन शरीर र मन सबै शिथिल हुन्छ,’ मण्डिखाटारको घरमा आराम गरिरहेका नगेन्द्रले सुनाए, ‘फेरि दोस्रो दिन लेखनकर्ममा लागिहाल्छु। अधुरा काम चाँडै सक्ने हुटहुटी पलाइहाल्छ।’झन्डै डेढ शताब्दीअघि पूर्वी पहाड तेह्रथुममा फैलिएको हैजाबाट जोगिन नगेन्द्रका बाबुबाजेहरू भारतको पश्चिम बंगालको खर्साङ पुगेका रहेछन्। यो यायावर परिवारको वंशजमा नगेन्द्र खर्साङमै जन्मेका हुन्। त्यसपछि पढाइका सिलसिलामा दार्जिलिङ हुँदै कलकत्ता पुगे। उसो त, खर्साङ स्कुलमा पढ्दै २००६ तिर एक जना राणाका छोरासँग उनी पहिलोपटक काठमाडौं आएका थिए। त्यसलगत्तै अल नेपाल इन्डिया नेपाली स्टुडेन्ट कन्फरेन्समा सहभागी हुन दार्जिलिङको पाँच सदस्यीय प्रतिनिधिमण्डलमा मिसिएर उनी काठमाडौं आएका रहेछन्।

‘पछि २००९ सालतिर कलकत्तामा कानुन पढिरहेको थिएँ। उच्च न्यायालयमा अधिवक्ताको अभ्यासमा पनि थिएँ। त्यस बेला रमेश उपाध्याय भन्ने नेपाल वायुसेवाका पाइलटको आग्रहमा काठमाडौं आएँ। उनको पैतृक सम्पत्तिको मुद्दामामिला सुल्झाउन म काठमाडौं आएको थिएँ,’ मूल पितृथलो फर्कन पाउँदाको मौकाबारे नगेन्द्रले सुनाए। 

काठमाडौं आएपछिको अवसर र मौका आफूले सोचेभन्दा राम्रो बन्दै गयो। उनले अमेरिकी दूतावासमा आंशिक काम पाएछन्, कानुनी र आर्थिक कागजी मामिला हेर्न। लगत्तै औद्योगिक प्रशिक्षण प्रतिष्ठान, शाही नेपाल वायुसेवा हुँदै राजा वीरेन्द्रको राज्याभिषेकका बेला प्रचारप्रसार गराउन सूचना विभागको निर्देशकसमेत बने।

‘मसँग अंग्रेजी र नेपाली दुवै भाषामा योग्यता–क्षमता त थियो नै, समयअनुसार थोरबहुत चाकडीले पनि काम गर्ने समय थियो त्यो,’ नगेन्द्रले हक्की बनेर भने। जस्तो, साहित्यकार ध.च. गोतामेको ‘आरोह अवरोह’ संस्मरणको एउटा प्रसंगमा उल्लेख भएअनुसार २०४० पछिको मन्त्रिमण्डलमा एक जना विश्वकर्मा थरका मन्त्री थिए। एउटा सन्दर्भमा उनले नेपालको विदेशनीति र सम्बन्धबारे भाषण दिएका थिए। त्यस बेला सूचना विभागमा रहेका साहित्यकार गोतामेले मन्त्रीको त्यो वक्तव्यलाई (भाषण दिइरहेकै बेला) सीधै अंग्रेजीमा अनुवाद गर्न नगेन्द्रलाई अह्राएका रहेछन्।

‘भाषण नेपालीमा धाराप्रवाह थियो, मैले अंग्रेजीमा उतारेको थिएँ। त्यसपछि तत्कालीन सञ्चारमन्त्री राधाप्रसाद घिमिरेलाई त्यो अनुवाद देखाएको थिएँ। भोलिपल्टै मलाई गोरखापत्र संस्थानको अध्यक्ष बनाएर अर्को काममा खटाइएको थियो,’ नगेन्द्रले सम्झिए। गोरखापत्रपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुमा अध्यक्ष महाप्रबन्धक बनेर मात्रै नगेन्द्रले पूर्णकालिक लेखनबाट फुर्सद पाएका हुन्।

संगतका हिसाबमा ‘रूपरेखा’ पत्रिकाको समयदेखि नै साहित्यिक पत्रकार उत्तम कुँवर हुँदै नगेन्द्रले धेरै स्रष्टासँग मित्रलाप गर्न पाए। भूपी शेरचन, उत्तम नेपाली, रत्नशमशेर थापा, अम्बर गुरुङ, शंकर लामिछानेलगायतको संगतले आफूलाई उत्तिकै सृजनशील र फरक धारको बनाउन मद्दत मिलेको उनको बुझाइ छ। उनका ‘अण्डादेखि भ्यागुतोसम्म’ (निबन्ध संग्रह), ‘बनारसमा बेचिएकी बहिनी’ (निबन्ध संग्रह), ‘मेचीदेखि महाकालीसम्म’ (सहलेखन), ‘फोक टेल्स अफ नेपाल’ (जापानीमा अनूदित), ‘नेपाल ए टु जेड,’ ‘नेपाली लिटरेचर इन ए नटसेल,’ ‘सेक्रेटस अफ सांग्रिला,’ ‘अनुस्मरण’ (संस्मरण) सहित झन्डै दुई दर्जन कृति प्रकाशित भइसकेका छन्। 

‘म झन्डै दुई दशकयता घरमै बसेर स्वाध्ययन, लेखन गरिरहेको छु। रोगको कुराभन्दा मेरा लागि अघिको भन्दा अहिलेको समय सक्रिय र उत्पादक बनेका छ,’ उनले भने, ‘सायद, म नेपाल नआएको भए कलकत्तातिरै हुन्थें होला। एउटा अधिवक्ता अथवा यस्तै केही बनेर बिनापरिचय हराइसकेको हुन्थें होला।’ 

नगेन्द्रले बीपीको ‘हिटलर र यहुदी’ र झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ लाई अंग्रेजीमा ल्याएका छन्। एउटा नेपाली राजनीतिज्ञले देखेको विश्वदृष्टि भनेर ‘हिटलर र यहुदी’ अंग्रेजीमा ल्याउन चाहेको उनले सगर्व सुनाए। झमकको जीवनमा रहेको संघर्ष र कठिनाइको कथा बाहिरी दुनियाँले पनि पढोस् भनेर ‘जीवन काँडा कि फूल’ लाई पनि स्वेच्छाले अनुवाद गरेको उनले बताए। 

मौलिक लेखन र अनुवादमा उत्तिकै सक्रिय बनिरहे पनि नगेन्द्रलाई मौलिक लेखन ‘ठीक र सजिलो’ लाग्ने गरेको छ। ‘अनुवादमा त एकएक शब्दमा बाँधिनुपर्ने हुन्छ। यसमा व्याख्या अथवा अपव्याख्या जे पनि हुन सक्छ,’ उनले भने, ‘मौलिक लेखनमा मनमौजी बन्न पाइन्छ।’उमेर, समय र रोगले गलाउँदै गएको घडीमा पनि नगेन्द्र ऊर्जाशील देखिन्छन्। ओरिएन्टल पब्लिकेसन्सबाट पछिल्लोपटक आएको संस्मरण ‘अनुस्मरण’ पछि यही प्रकाशन गृहबाट १७ मुलुकका छानिएका १०१ लोककथाको संकलन निकाल्ने तयारीमा उनी छन्। यसबाहेक, लघु निबन्ध संग्रह र ‘नगेन्द्रका निबन्ध’ को पुनर्संस्करणमा पनि उनी जुटेका छन्। 

‘हेर्नुस्, मलाई के कुरामा खुसी लाग्छ भने, भित्ताले पनि सुन्छ कि भन्ने मुस्किलको समयबाट म आज यहाँसम्म आएको छु,’ केही वर्षअघि श्रीमतीको स्वर्गवास भएपछि थप ऐकान्तिक बनेका नगेन्द्रले भने, ‘आज समय थप परिष्कृत भएको छ। बिरामी ओछयानमै बसेर म गुगल गर्दै फेरिएको संसार हेरिरहेको छु। आफ्नो लेखन र सृजनाको स्वमूल्यांकन गर्न सक्ने भएको छु। ऐकान्तिकता, निराशा, रोग र अनेक समस्या भए पनि म थप ऊर्जाशील बनेको छु। म यसैमा दंग छु।’ 

प्रकाशित : मंसिर १२, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?