कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम्बुले राई भाषाको कविताकृति र पुरस्कार वितरण

ललितपुर — कवि तथा कोशकार अविनाथ राईले रचना गरेको वाम्बुले राई भाषाको कविता संग्रह ‘क्वाल खातिर’(एउटा विस्मात) विमोचन गरिएको छ । भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राईले महालक्ष्मी नगरपालिका–१ इमाडोलमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) र लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक पत्रिकाले आयोजना गरेको समारोहमा शनिबार पुस्तक विमोचन गरेका हुन् ।

वाम्बुले राई भाषाको कविताकृति र पुरस्कार वितरण

पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको हो । २०१८ सालमा ओखलढुंगाको हिलेपानी गाउँमा जन्मिएका कवि राई यो तेस्रो कृति हो । संग्रहमा २०५० सालदेखि हालसम्म रचना गरिएका १९ वटा शीर्षकका वाम्बुले र नेपाल अनुवादसहितका कविता रहेका छन् । राईको संकलन तथा सम्पादनमा २०५७ सालमा ‘वाम्बुले राई शब्दकोश’ र ‘किरात वाम्बुले राई जाति र द्वार्‍वाङ्चा वंशावली’प्रकाशित छन् । उनी नेपाल सरकारको भर्खरै अवकाशप्राप्त उपसचिव हुन् ।

सार्वजनिक गरिएको ‘क्वाल खातिर’ कवितासंग्रह कविको समग्र जीवनको भोगाइ, अनुभूतिलाई काव्यिक दस्तावेज हो । आमाको काख, घर, आँगन, खेल्दै गरेका भाँडाकुटी, गोठमा बाँधिएका गाई, भैसी, बाख्रा, कुकुर, घोडा, खेतबारी, फलेका अम्बा, सरिफा, खोलाखोल्सी, दुधकोसीमा थापेको बल्छी आदि इत्यादि सबै सबै चटक्कै छाडेर अन्जानमै टाढिनु परेको विस्मृतिहरु यस संग्रहमा छन् । आदर्शभन्दा पनि बालापनका स्मृति छटाहरु शब्दका थुागामा सजाइएका छन् ।

त्यस अवसरमा वाम्बुले भाषाका युवा कवि अप्सन क्याम्पालाई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७३’ प्रदान गरिएको थियो । ‘लिब्जु–भुम्जु’पत्रिकामा वर्षभरिमा छापिएका कवितामध्ये उत्कृष्ट रचनालाई २ हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गरिएको हो । एक दशकदेखि मातृभाषामा साधनारत २५ वर्षीय कवि अप्सन पेशाले भारतीय सैनिक हुन् । उक्त पुरस्कार गीतकार तथा पत्रकार पुष्पहरि क्याम्पा राईले स्थापना गरेका हुन् ।

वाम्बुले भाषा, साहित्यको श्रीवृद्धिबारेमा राष्ट्रगानका रचनाकार व्याकुल माइला, समाजका अध्यक्ष तथा पत्रकार गजुरधन राई, महासचिव जीवन हाताचो राई, पत्रकार पुष्पहरि क्याम्पा राई, ‘लिब्जु–भुम्जु’का सम्पादक गणेश राईले चर्चा गरेका थिए ।  

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ९ सय रहेका छन् । २०५० सालदेखि नियमित लेखिएको वाम्बुले भाषा, साहित्य, संस्कृति, इतिहास, किरातलिपिका बारेमा करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् भने तीन वटा गीति एल्बम, दुई वटा वृत्तचित्र निर्माण भए छन् ।

प्रकाशित : मंसिर १६, २०७४ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?