कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेखनाथ साहित्य पुरस्कार जगमानलाई

पोखरा — लेखनाथ साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको लेखनाथ साहित्य पुरस्कार यस वर्ष संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङलाई प्रदान गरिएको छ । 

लेखनाथ साहित्य पुरस्कार जगमानलाई

पिता कविशिरोमणि लेखनाथ पौड्यालको सम्झनामा कान्छी छोरी कुन्तिदेवी भट्टराई परिवारद्वारा स्थापना गरिएको पुरस्कारको राशि ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला प्रदान गरिएको हो । कविशिरोमणि पौड्यालको १ सय ३४ औं वार्षिकोत्सवको अवसर पारी शनिबार उक्त पुरस्कार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदान गरेका हुन् ।


लेखनाथ जन्मस्थल पोखरा लेखनाथ २७ अर्घौअर्चलेमा कवि सम्मेलन गरी पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले बताए । पुरस्कार प्रदान गरेपछि आफूलाई साहित्य लेखन र कविशिरोमणि लेखनाथको प्रचारप्रसारमा जुट्ने थप प्रेरणा मिलेको साहित्यकार गुरुङले बताए । कास्कीको मादी गाउँपालिकाको याङ्जाकोटमा जन्मिएका गुरुङको साहित्यक र अनुसन्धानात्मक गरी ६ वटा कृति प्रकाशित छन् । प्रतिष्ठानका सल्लाहकार डा. शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङको नाम सिफारिस गरेको हो ।


यसअघि उक्त पुरस्कारबाट प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, साहित्यकारहरु मदनमणि दीक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र बालकृष्ण पोखरेल सम्मानित भइसकेका छन् ।


लेखनाथ क्षेत्र विकासको क्षेत्रमा सञ्चारमाध्याममार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनालाई पुरस्कार प्रदान गरियो । जन्मजयन्तीको अवसरमा १० हजार रुपैयाँ राशिको कुन्तिदेवी शिक्षा पुरस्कार र ५ हजार रुपैयाँ राशिको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयकी ज्योत्सना जोशीलाई प्रदान गरिएको छ । ५ हजार रुपैयाँ राशिको चन्द्रकान्त ढकाल पुरस्कार लिटिल स्टेप माध्यमिक विद्यालयका टेकप्रसाद शर्मा काफ्लेलाई प्रदान गरिएको थियो । जनहीट ५/५ हजार रुपैयाँ राशीको मधुमाया ढकाल छात्रवृति जनज्योति माध्यमिक विद्यालयकी मञ्जु गुरुङ र फणिन्द्रकुमारी ढकाल छात्रवृत्ति लक्ष्मीआदर्श माध्यमिक विद्यालयका सन्तोष ढकाललाई प्रदान गरियो ।


त्यसैगरी अन्तर विद्यालय कविता प्रतियोगितामा प्रथम भएकी ग्लोवल कलिजियट स्कूलकी छात्रा रोजिना आचार्य क्षेत्रीलाई ७ हजार, डायमण्ड उच्च माविकी छात्रा अनुपमा लामिछानेलाई दोस्रो भई ५ हजार रुपैयाँ, तेस्रो हुने अमरसिंह नमुना उच्च माविका छात्र दिलीप बस्नेतलाई ३ हजार रुपैयाँ र सान्त्वना हुने जुनियर सिटिजन एकेडेमीकी पल्लवी बराललाई १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।


लेखनाथ जन्मस्थललाई साहित्यिक क्षेत्रको रुपमा विकास गर्न सबैको सकारात्मक सोच आवश्यकता रहेको लेखनाथ जन्मस्थल विकास समिति अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । कवि लेखनाथ पौड्याल पोखराको गरिमा भएकोले उक्त क्षेत्र आफूहरुको प्राथमिकतामा परेको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।


कविशिरोमणि पौड्यालको परिवारजनले १२ लाख १ हजार रुपैयाँ र साहित्यकार पदमराज ढकालबाट १ लाख ७ सय ७७ रुपैयाँ गरी १३ लाख १ हजार ७ सय ७७ रुपैयाँको व्याजबाट प्रत्येक वर्ष स्रष्टा, विद्यार्थीलाई पुरस्कृत गरिन्छ । १९४१ पुस १५ गते जन्मिएका कविशिरोमणि पौड्यालको ८१ वर्षको उमेरमा २०२२ फागुन ७ गते तनहुँको देवघाटमा मृत्यु भएको थियो ।

प्रकाशित : पुस १५, २०७४ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?