कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२५ वर्षे विरासत तोड्दै बनेपा नगरपालिकामा एमाले विजयी

नगेन्द्र अधिकारी

काभ्रे — नेपाली कांग्रेसको २५ वर्षे विरासत तोड्दै नेकपा एमालेले बनेपा नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा विजयी हासिल गरेको छ । एमाले उम्मेदवार लक्ष्मी नरसिंह बादे प्रमुख तथा रेखा सापकोटा दाहाल उपप्रमुख पदमा विजयी भएका हुन् । मतपरिणाम घोषणा भएको नगरपालिका मध्ये पहिलो पटक एमाले विजयी भएको हो ।

२५ वर्षे विरासत तोड्दै बनेपा नगरपालिकामा एमाले विजयी



वादेले ११ हजार ४ सय ९ र रेखा सापकोटा दाहालले ११ हजार २ मत प्राप्त गरिनन् । प्रमुखमा निकटतम नेपाली कांग्रेसका राम जोशीले ९ हजार ६ सय ८८ र उपप्रमुखमा निर्मला श्रेष्ठले ९ हजार ९ सय ६० मत प्राप्त गरेका छन् ।

नेपाल प्रहरीका पुर्व एसएसपी बादेले सेवाबाट अवकाश प्राप्त गरेपछि राप्रपाको राजनीति शुरु गरेका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा मनोनित नगर उपप्रमुख समेत बनेका उनी २०६३ सालमा नेकपा एमाले प्रवेश गरेका हुन् । २०६४ सालमा एमाले बनेपा नगर अध्यक्ष बनेका उनी त्यसयता निरन्तर छन् ।

२०४९ र २०५४ सालमा भएको दुवै स्थानीय तहको निर्वाचनमा विजयी भएको बनेपालाई नेपाली कांग्रेसको ‘गढ’ मानिन्थ्यो । २०३८ सालमा घोषणा भएको बनेपा नगरपालिकामा २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका मणिराज कायस्थलाई हराउँदै नेपाली कांग्रेसका रामभक्त कोख श्रेष्ठ विजयी भएका थिए । पूर्व सभासद समेत रहेकी एमाले नेतृ शिला कतिलालाई हराउँदै कांग्रेसका लोकनारायण भैल उपप्रमुखमा विजयी भएका थिए ।

कतिला पहिलो संविधासभा निर्वाचनमा एमालेको कोटामा मन्त्रीपरिषदबाट सभासद पदमा मनोनित भएकी थिइन् । २०५४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट बागी उम्मेदवारी पर्दा पनि कांग्रेसका डा.सुरेन्द्रबहादुर बादे श्रेष्ठ निर्वाचित भएका थिए । कांग्रेसबाटै राजीनामा दिएर स्वतन्त्र (बागी) उम्मेदवारी दिएका योगेन्द्रनाथ कर्माचार्य दोस्रो भएका थिए । एमालेका लम्बोदर कायस्थलाई हराउदै उपमेयरमा निर्वाचित कञ्चनचन्द्र बादे २०७० सालको संविधानसभामा निर्वाचित हुँदै अहिले उद्योग राज्यमन्त्री छन् ।

वडाध्यक्ष लगायतका पदमा पनि नेकपा एमालेले बहुमत हासिल गरेको छ । वडा नं ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १४ नम्बर वडामा नेकपा एमाले र १, २, ८, ९ र १३ नम्बर वडामा नेपाली कांग्रेस विजय भएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७४ २३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?