कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकांक्षी मत माग्न व्यस्त

अर्जुन राजवंशी

दमक — पार्टीले आधिकारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि आकांक्षीहरू भोट माग्न व्यस्त छन् । गाउँ, नगर तथा क्षेत्रीय समितिको सिफारिसका आधारमा आकांक्षी भोट माग्न घरदैलो गरिरहेका छन् । घरदैलोसँगै जिल्लामा चुनावी रौनक बढेको छ ।

कांग्रेस र एमालेले अझै जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन नसके पनि घरदैलोलाई तीव्रता दिएका हुन् ।

कांग्रेसको तीन तथा एमालेको दुई स्थानमा उम्मेदवार टुंगो लाग्न बाँकी छ । सबै उम्मेदवार टुंगो लागिनसकेकाले यी दुई पार्टीले जिल्लाको कुनै पनि स्थानीय तहमा आधिकारिक रूपमा उम्मेदवार घोषणा गरेको छैन । ‘मैले अध्यक्ष पदका लागि भोट माग्दै हिँडेको आज ९ दिन भइसक्यो,’ झापा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भन्दै भोट मागिरहेका कांग्रेसका जयनारायण साहले भने । साहले आफ्नो विषयमा जिल्ला स्तरमा निर्णय भइसकेकोले अध्यक्ष पदका लागि भोट मागिरहेको बताए । 

यस्तै जिल्लाका केही नगरपालिकामा आकांक्षी धेरै भएकाले पार्टी नेतृत्वलाई निर्णय लिन गाह्रो भइरहेको एमाले दमक नगर इन्चार्ज अम्बिका खनालले बताए । ‘तर पनि हामी चुनावी अभियानमा जुटिसकेका छौं,’ उनले भने । पार्टीले आधिकारिक रूपमा कसैलाई उम्मेदवार घोषणा नगरे पनि दमकका सबै वडामा दैनिक घरदैलो कार्यक्रम चलिरहेको उनले बताएका छन् ।

उनले उम्मेदवार टुंगो लगाउन ढिला भए पनि चुनावी नतिजामा भने कुनै फरक नपर्ने दाबी गरे । ‘पश्चिमको परिणामले कार्यकर्ताले पार्टीलाई राम्रैसँग चिनेको रहेछ भन्ने देखायो,’ उनले भने, ‘जुनै पार्टीबीच चुनावी तालमेल भए पनि कार्यकर्ताले भने आआफ्नो पार्टी छाडेनन् । उनीहरूले आआफ्नो पार्टीलाई नै भोट दिए ।’ गौरीगन्ज गाउँपालिका १ का वडाध्यक्षका कांग्रेस उम्मेदवार कार्तिकलाल राजवंशीले जिल्ला पार्टीले आधिकारिक घोषणा नगरे पनि जिल्ला स्तरकै निर्णयका आधारमा आफूहरू चुनावी मैदानमा उत्रिएको बताए । उनले एक सातायता आफूले आधिकारिक रूपमै वडाध्यक्ष पदका लागि वडावासीसँग भोट मागिरहेको बताए । 

आकांक्षी धेरै भएकाले निर्णय लिन गाह्रो भइरहेको कांग्रेसका एक नेताले बताए । उनका अनुसार जिल्लामा बुद्धशान्ति र बाह्रदशी गाउँपालिका तथा मेचीनगर नगरपालिकाको प्रमुख, उपप्रमुखको निर्णय लिन पार्टी नेतृत्वलाई कठिन भएको छ । यस्तै झापा गाउँपालिका र गौरादह नगरपालिकाको उपप्रमुखको पनि टुंगो लाग्न बाँकी छ । उनले जिल्ला स्तरमा छलफल जारी रहे पनि सहमति जुट्न नसके केन्द्रबाटै निर्णय गराउने समेत बताए ।

एमाले स्रोतका अनुसार बिर्तामोड र मेचीनगर नगरपालिका बाहेकमा उम्मेदवार टुंगो लागिसकेको छ । तर, आधिकारिक रूपमा घोषणा भने हुन बाँकी छ । बिर्तामोडमा एकराज कार्की, ज्ञानुराम प्रसार्इं, ध्रुवकुमार शिवाकोटी, हरिचरण शिवाकोटीले अडान नछाडेकाले पार्टी नेतृत्वलाई उम्मेदवार टुंगो लगाउन कठिन भइरहेको एक नेताले बताए । मेचीनगरमा पनि गोपाल बुढाथोकी र विष्णु प्रसार्इंले अडान नछाडदा अन्तिम निर्णय हुन नसकेको एमालेले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?