कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनाव प्रचारमा नेताको लर्को

पर्वत पोर्तेल

काँकडभिट्टा — एमाले अध्यक्ष केपी ओली बुधबार जिल्लाका पाँच स्थानको चुनावी सभामा सहभागी भए । झापा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेपछि अर्जुनधारा पुगे । त्यसपछि बिर्तामोडको सभामा सहभागी भएर सीमावर्ती सहर काँकडभिट्टा आई मेचीनगरको सभालाई सम्बोधन गरे ।

असार ५ गते झापा ओर्लनेबित्तिकै ओली सोझै कन्काई नगरपालिकाको चुनावी सभामा पुगेका थिए । गृहनगर दमकमा भोलिपल्ट सहभागी भए । त्यसपछि कमल गाउँपालिका पुगे । कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वमन्त्री रामशरण महत र गगन थापा एकै दिन असार २ गते झापा ओर्लिए । गगन र महत त्यही दिन कांग्रेस मेचीनगरको काँकडभिट्टाको चुनावी सभामा सहभागी बने । सिटौला आफ्नै गृहनगर भद्रपुर पुगे । पूर्वसभामुख सुवास नेम्वाङ असार ३ गते झापा हुँदै इलामको चुनावी सभामा सम्बोधन गर्न लागे ।

असार ४ गते आएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि झापा हुँदै इलाम उक्लिएका छन् । सिटौला, गगन, अग्नि खरेल, रवीन्द्रराज जोशीलगायत नेता अहिले पनि जिल्लाकै चुनावी सभामा सक्रिय बनिरहेका छन् ।

सभालाई सम्बोधन गर्न माओवादी केन्द्रले पनि प्रभावशाली नेता झापा पठाएको छ । पूर्वमन्त्रीहरू अग्नि सापकोटा, राम कार्की र देव गुरुङ झापा आएका छन् । झापालगायत १ नम्बर प्रदेशका सबै जिल्लामा यी नेता पुग्ने जनाइएको छ ।

नयाँशक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वमन्त्रीहरू बुद्धिमान तामाङ र उमाकान्त चौधरीलगायत बिहीबार झापा आइपुगेका छन् । भट्टराईले शुक्रबार झापाका विभिन्न नगर र गाउँपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा झापामा केन्द्रीय नेताहरूको लर्को लाग्न थालेको छ । आआफ्ना दलका उम्मेदवार जिताउन केन्द्रीय नेता आउने क्रम तीव्र छ । खासगरी अन्य पार्टीका ती नेता जिल्लाका सभामा मीठामीठा कुरा गरेर जनताको मत तान्ने प्रयासमा छन् ।

‘केपी ओली र कृष्ण सिटौलाको सक्रियता अलि बढी छ’, एक एमाले नेताले भने, ‘दुवैलाई प्रतिष्ठा कसरी जोगाउने भन्ने चिन्ता देखिन्छ ।’ दुवै नेता झापामा आआफ्नो पार्टीको वर्चस्वका लागि लागिपरेका छन् । ०५४ को निर्वाचनमा एमालेले जिल्लै कब्जा गरेको थियो । उसले दुई नगर र ३५ गाविस जितेको थियो । कांग्रेसले ६ गाविस कब्जा गरेको थियो । ओलीलाई पुरानो साख जोगाउने हुटहुटी छ । सिटौला भने पुरानो पराजय बिर्सिएर जिल्ला कब्जा गर्ने योजनामा छन् । जिल्ला प्रहरीका अनुसार साताभित्र विभिन्न दल सम्बद्ध १४ केन्द्रीय नेता झापा आएका छन् । नेताको लर्को थेग्न प्रहरीलाई हम्मे परेको छ ।

कांग्रेस–एमाले झडप
ओखलढुंगा (कास)– मोलुङ गाउँपालिका ७, पात्लेमा बिहीबार एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । त्यस क्रममा एमालेका दुई र कांग्रेसका ३ कार्यकर्ता घाइते भएका छन् । कांग्रेस उम्मेदवारले टाँसेको प्रचार सामग्री एमालेले च्यातेको र मञ्च भत्काएको भन्दै झडप भएको स्थानीयको भनाइ छ । घाइते हुनेमा एमालेका मेघराज सुनुवार र देण्डी शेर्पा छन् । त्यस्तै कांग्रेसका आङदावा शेर्पा, तेण्डी शेर्पा र पेमारिन्जी शेर्पा छन् । सबैको अवस्था सामान्य छ ।

जिल्ला प्रहरीका निरीक्षक टीका कार्कीले थाहा पाउनासाथ प्रहरी घटनास्थलतर्फ पठाएको बताए । घटनास्थल टाढा भएकाले टोली पुगे नपुगेको थाहा नभएको र टेलिफोन सम्पर्क पनि हुन नसकेको उनले बताए ।

प्रकाशित : असार ९, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?