कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘धार्मिक आस्थामा ठेस नपुग्ने काम गर्छु’

मनोज पौडेल

कपिलवस्तु — बधाइ दिन जानेहरू पहिले तुफेलआलम खाँलाई भेट्छन्, त्यसपछि मात्रै उपमेयरमा निर्वाचित सवमनलाई । शभुचिन्तकसमक्ष सवनम खातुन उपस्थित हुँदासम्म भेट्न आउनेलाई तुफेलआलमले मिठाई र पानी ख्वाएर स्वागत गर्छन् ।

‘धार्मिक आस्थामा ठेस नपुग्ने काम गर्छु’

कृष्णनगर नगरपालिकाको उपमेयर खातुनलाई श्रीमान् खाँले सबैलाई नमस्कार गर्न भन्छन् । उनी त्यसै गर्छिन् । फिस्स हाँस्छिन् । ‘सामान्य लेखपढ गर्न सक्छु,’ उनी भन्छिन्, ‘अहिले बुझदैछु, सिक्दै छु ।’ माओवादी केन्द्रबाट निर्वाचित उनले पछाडि परेकै महिलाहरूका लागि काम गर्ने बताइन् । ‘सामाजिक रीतिरिवाज र परम्पराले मुस्लिम महिला धेरै पछि परे,’ ३४ वर्षीया उनले भनिन्, ‘धार्मिक आस्थामा ठेस नपुग्ने गरी सुधारको काम थाल्छु ।’ रुढीवादी परम्पराले मुस्लिम महिलालाई अगाडि ल्याउन समाज बाधक बन्छ । उनले भनिन्, ‘त्यो पनि सुधार गर्नुपर्छ ।’

उपमेयरमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दा निकै लाज लागेको उनले सुनाइन् । पूरै मुख ढाकेको बुर्का खोल्न हात सरेका थिएनन् । मुस्किलले थोरै खोलिन् । ‘ममाथि जनताले धेरै जिम्मेवारी थपे,’ उनले भनिन्, ‘त्यही भएर आफैंबाट सुधार गर्नुपर्छ ।’ निर्वाचित भएको २ दिनपछि शपथग्रहण गर्दा धक फुकाएर कार्यक्रमस्थल उद्योग वाणिज्य संघको सभाकक्ष पुगिन् ।

बुर्का लगाएर आए पनि मञ्चमा आसन ग्रहण गर्न बोलाउँदा बुर्का खोलेर पुगिन् । सबैको अघि निर्धक्क शपथ लिइन् । ‘नभए उपमेयरको अनुहारै देख्न पाइएन भनेर गुनासो गर्थे,’ उनले थपिन् ।

यतिबेला जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर नगरपालिकाको विकासको खाका बनाउन उनी तल्लीन छन् । ‘सबैभन्दा पहिले कृष्णनगरमा राम्रो पढ्ने स्कुल छैन,’ उनी भन्छिन्, ‘महिलाका लागि अस्पताल छैन, त्यो नै मेरो प्राथमिकता हुन्छ ।’ शिक्षा सर्वसुलभ नहुँदा आफूले पनि खासै पढ्न नपाएको गुनासो उनको छ । आफ्नो प्रगतिको बाधक नै शिक्षा हुँदा पहिलो प्राथमिकता यसैलाई दिने अठोट कसेकी छन् ।

माओवादी केन्द्रकी सामान्य कार्यकर्ता उनी पार्टीले जिम्मेवारी दिनासाथ सहर्ष स्वीकारिन् । ‘परिवारबाट पनि राम्रो सपोर्ट भयो,’ उनले भनिन्, ‘नेता, कार्यकर्ताको पनि सहयोग भएपछि चुनावमा होमिएकी थिएँ, अहिले चुनाव जितें, खुसी छु ।’ खातुन ३ हजार ४ सय ११ मत पाएर विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी आरतीदेवी चौधरीले ३ हजार ४१ मत पाएकी थिइन् । उनले जनताको सेवाबाट थोरै समय आफ्नै लागि छुट्याएकी छन् । भनिन्, ‘थोरै अध्ययन र सञ्चार माध्यमलाई नियमित हेर्दै र पढ्ने समय छुट्याएको छु ।’

कृष्णनगरवासी हुने गरेका आपसी द्वन्द्वलाई मत्थर पार्दै आफू नेपाली हुँ भन्ने भावना विकास गराउन लागिपर्ने उनले बताइन् । पत्नी नगरपालिका उपप्रमुख भएकोमा श्रीमान् तुफेलआलम दंग छन् । ‘जनताले जिताए, खुसी छु,’ उनले भने, ‘सवनमको कार्यकाल सफल बनाउन परिवारबाट पूर्ण सहयोग हुन्छ ।’

प्रकाशित : असार २७, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?