कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सय दिनमै हिलो, धूलोमुक्त महानगर

मोरङ — विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मंगलबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै नगरको अवस्था परिवर्तन गर्ने चारवटा निर्णय गरेका छन् ।

सय दिनमै हिलो, धूलोमुक्त महानगर

उनले महानगरलाई हिलो र धूलोमुक्त गर्न सय दिनभित्रमा नाला सफाइ, निर्माण, सडकमा भएको खाल्डाखुल्डी पुर्ने, कल्भर्ट निर्माण पूरा गरिने निर्णय गरेका हुन् । सामाजिक सुरक्षा भत्तालाई घरघरमा पुर्‍याउने, मोतियाविन्दु रोगमुक्त महानगर बनाउन नि:शुल्क आँखा उपचार र तीन वर्षभित्र महानगरको निर्माणाधीन सडक र नालाको निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले शपथग्रहण कार्यक्रममा आफूले पार्टीभन्दा माथि उठेर सबैको हितमा बिनाभेदभाव जनतालाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । ‘पार्टीभन्दा माथि उठेर असल नागरिक, नेता भएर महानगरवासीको आत्मसम्मान, मर्यादा र इज्जत गुम्न नदिने किसिमले काम गर्छु,’ उनले भने, ‘महानगरप्रति सबैको अपनत्व बोध गराउने तरिकाले कामकाज सञ्चालन हुन्छ ।’ महानगरलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन र पारदर्शिता कायम गर्नेमा उनले जोड दिएका छन् ।

उपप्रमुख इन्दिरा कार्कीले जनताको सुखदु:खमा साथ निभाउने प्रतिबद्धता व्यक्त गरिन् । ‘महिलाले निर्धक्क भएर विराटनगरमा हिँड्न पाउँछन्,’ उनले भनिन्, ‘अन्यायमा परेका हरेक महिलाले न्याय पाउँछन् ।’ प्रमुख पराजुलीले शुभ साइतमा आफ्नी आमा तुलसा पराजुलीको आशीर्वाद लिएपछि मात्रै प्रमाणपत्र, शपथ र पदभार गरेका थिए ।

मोरङका मुख्य निर्वाचन अधिकृत विनोदकुमार ढकालले १०:३० बजे शपथग्रहणको कार्यक्रम राखे पनि पराजुलीले दिउँसो १:०८ बजे प्रमाणपत्र र शपथग्रहण गरे । उनले प्रमाणपत्र र शपथग्रहण गर्नुअघि आमाकी हातबाट पहिलो टीका थापेर खुट्टामा ढोग्दै आशीर्वाद लिएका थिए । प्रमुख पराजुलीले शपथग्रहणपछि तत्काल ४ बजे महानगरको पदभार ग्रहण गर्दै उक्त निर्णयहरू गरेका हुन् । ज्योतिषको सल्लाहअनुसार नै शुभ साइतमा आफ्नो कामकाज गर्दा सफल हुने उनको धारणा छ । उनले ज्योतिषको सल्लाहमा नै शुभ साइतमा बिनातामझाम एक्लै गएर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

‘चाकडीबाज र चाप्लुसीबाट जोगिनु’

धरान (कास)– उपमहानगर प्रमुखलगायत जनप्रतिनिधिलाई नगरको विकासमा ध्यान दिन सर्वसाधारणले आग्रह गरेका छन् । उनीहरूले ‘चाकडी र चाप्लुसीबाज’ बाट जोगिएर सबैको हितमा काम गर्न सुझाव दिए ।

मंगलबार आयोजित विजय जुलुस र सभाका सहभागीले यस्तो सुझाव दिएका हुन् । मतदानको १२ दिनपछि निर्वाचन आयोगले अन्तिम नतिजा घोषणासँगै एमाले कार्यकर्ता र मतदाताले बाजागाजासहित जुलुस निकालेका थिए । पब्लिक उच्च मावि मैदानबाट सुरु विजय र्‍यालीले छाताचोक, सिसदेवी चोक हुँदै भानुचोक घण्टाघर घुमेर पब्लिक उमाविमै पुगेर सभा गरेको थियो ।

र्‍यालीमा उपमहानगर प्रुमख तारा सुब्बा र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई अग्रज मतदाताले भ्रष्टाचाररहित नमुना नगर बनाउन र धरानको समृद्धिका लागि विकास निर्माणमा ध्यान दिन सुझाव दिए ।

कुनै एक पार्टीको नभई समग्र धरानवासीको अभिभावक, योजनाकार, प्रशासक, व्यवस्थापक र जनताको साझा प्रतिनिधि हुने भएकाले निहित स्वार्थका लागि चाकडी, चाप्लुसी गर्नेबाट जोगिन पनि सुझाव दिए । सुब्बाले एमालेले धरानमा जिते पनि यहाँको विकास निर्माणका लागि सबैलाई सहभागी गराएर एकसाथ अगाडि बढ्ने बताए ।

प्रकाशित : असार २८, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?