कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाता भन्छन् - ‘अब पनि ठगिनु नपरोस्’

जितेन्द्र साह

भारदह (सप्तरी) — ‘माहोल त गजबले समातेको छ, जनता त आजै निर्वाचन होस् भन्ने चाहन्छन्,’ ३८ वर्षीय कृषक फुलेन्दर राउतले भने । मधेस आन्दोलनको बेला सदैव अशान्त रहने हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहका उनले यो सब भनिरहँदा अनुहार प्रफुल्ल थियो ।

मतदाता भन्छन् - ‘अब पनि ठगिनु नपरोस्’

सबै दल कस्सिएर लागेकाले कसले बाजी मार्ला ? अहिले नै भन्न कठिन रहेको उनले बताए । दुई दशकदेखि रोकिएको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा भौतिक विकासलाई फेरि थाल्ने अवसर आएको हुनाले मतदाता उत्साहित छन् । ‘पहिला स्थानीय विकास, अनि पछि अरू थोक,’ उनले भने । ढल, नाला, सडक, धारा, बिजुली, स्थानीय दुई सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि र मठमन्दिरको सुधार यहाँको प्रमुख चुनावी मुद्दा बनेको छ । यहाँ सरकारी कलेज छैन । बजार क्षेत्रमा पाँच निजी विद्यालय छन् जसमध्ये एउटामा दस जोड दुईसम्म पढाइ हुने गरेको छ ।

‘सामुदायिक विद्यालयको भौतिक पूर्वाधार कमजोर छ, एकातिर शिक्षक कम छन् भने अर्कोतिर राजनीतिक गुटबन्दीका कारणले भएका शिक्षकले पनि राम्ररी पढाउँदैनन्,’ राउतले भने, ‘त्यही भएर अभिभावकले यहीका र अन्यत्रका निजी विद्यालयमा बच्चा पढाउँछन् ।’

स्थानीय कृषक महेश मण्डलले कृषकलाई साधन स्रोत, सिँचाइ र बिजुलीको निकै समस्या रहेको हुनाले यो चुनावले आफ्नो माग राख्ने मौका दिएको बताए । ४४ वर्षीय बद्रीनारायण सोनारले व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गर्ने जनप्रतिनिधिले जितेमा मात्र भारदहको उत्थान हुने औंल्याए । साइकल मर्मत गरेर तीन छोरा र दुई छोरीको पालनपोषण गर्ने उनी १५ दिन कामका लागि र १५ दिन समाज सेवाका लागि समय छुट्याएर काम गर्छन् । ‘मेरो जस्तो सोच राख्ने उम्मेदवारलाई भोट दिन्छु,’ उनले भने ।

४० वर्षीया निर्मलादेवी दासले भारदहमा चुनावको यति सुन्दर वातावरण बन्नु नै सबै दल एवं उम्मेदवारको जित भएको बताइन् । ‘हेर्नुस् त वरिपरि, कति सुन्दर र शान्त छ,’ उनले भनिन्, ‘उठ्ने सबै विजेता हुन्, बाँकी त परिणाम आएपछि थाहा भइहाल्छ ?’

हार्छु भनेर कोही पनि चुनावमा नउठेको औंल्याउँदै उनले भनिन्, ‘फेरि फेरि ठगिनु नपरोस्, त्यही भएर विकासको राम्रो खाका कोर्न सक्ने सक्षम व्यक्तिलाई मत दिने हो ।’ उनले तत्कालै सार्वजनिक शौचालयको निर्माण, स्थानीय महिलाको सम्मान, पहिचान र अधिकारको मुद्दामा समेत जोड दिइन् ।

भारदह–३, पोर्ताहाकी शिक्षिका ज्योति यादवले पनि महिलाको सुरक्षा एवं सुरक्षित भविष्यलाई महत्त्व दिनुपर्ने बताइन् । ‘बाहिर सार्वजनिक थलोमा महिला अधिकारको कुरा गर्ने नेताज्यूहरूकै घरका महिला उपेक्षित छन्, उनीहरूकै छोरीचेली शिक्षा, रोजगार र दक्षताअनुरूपको कामबाट वञ्चित छन्,’ उनले भनिन्, ‘आफ्नै घरबाट पहिला सुरु गर्नुपर्‍यो ।’ उनले स्थानीय मुख्य चोकमा प्रतीक्षालय, खानेपानीको वितरण र वर्षायाममा पानीको निकासमा जोड दिइन् । उत्तर मोहली नदीबाट आएको बाढीले यस पटकको बाढीमा बजार क्षेत्रमा छातीसम्म पानी भरिएको उनले सुनाइन् ।

अंग्रेजी विषयका शिक्षक देवनाथ यादवले यहाँ शान्ति स्थापना पहिलो प्राथमिकता भएको बताए । लामो समयसम्म यो थलोमा कायम अशान्तिले गर्दा अचेल प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा दैनिक २ सय भक्तजन पनि नआइरहेको जानकारी दिए । यादवका अनुसार मधेस आन्दोलनअघि उक्त मन्दिरमा स्वदेशी र छिमेकी भारतका गरी दैनिक २ हजार दर्शनार्थी आउँथे । धेरै स्थानीयले रोजीरोटी पाएका थिए ।

स्थानीय तहको यो निर्वाचनले गर्दा आफ्नै घरमा निकै रमाइलो भइरहेको स्थानीय १८ वर्षीय विवेककुमार माझीले बताए । पेसाले ट्रिपर चालक उनको आफ्नै परिवारबाट बुबा र तीन ठूलोबुबाहरू अलगअलग दलबाट उम्मेदवार बनेका छन् । स्थानीय सूर्यदेव शर्माले तुलनात्मक रूपमा लहान र इटहरीभन्दा पहिलाको भारदह बजार विकासमा निकै पछि परेकोमा दुखेसो पोखे । शक्ति, पैसा र भोजको पछि दगुर्ने परिपाटीले असल व्यक्ति नेतृत्वमा आउन नसक्दा दाइजो प्रथा समाप्त हुन नसकेको उनले बताए । यो सब जनहितका मागबीच चार दिनदेखि प्रचारप्रसार उत्कर्षमा पुगेको अर्का स्थानीय ५१ वर्षे दयाराम मेहताले सुनाए । ‘आफ्नो नेता आफ्नो विकास,’ उनले भने । पेसाले सिभिल इन्जिनियर एवं स्थानीय कंकालिनी भगवती मन्दिर विकास समिति अध्यक्ष श्यामसुन्दर मण्डलले दलले गर्ने विभाजनको नीतिभन्दा सत्य एवं निष्ठाको राजनीतिले मात्र समग्र प्रदेशको प्रगति हुने विश्लेषण गरे ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?