कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात दललाई आयोगको पत्र : ‘आचारसंहिता पालना गर’

काठमाडौं — निर्वाचन आयोगले प्रदेश २ को स्थानीय तह निर्वाचन प्रचारप्रसारमा आचारसंहिताविपरीतका कार्य भइरहेकाले त्यसलाई रोक्न प्रमुख सात दललाई आग्रह गरेको छ ।

 सात दललाई आयोगको पत्र : ‘आचारसंहिता पालना गर’

आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गरेको हो । 

ती दलबाट आचारसंहिताविपरीत ९ प्रकारका गतिविधि भएको सूचीसमेत सार्वजनिक गरिएको छ । बढी सवारीसाधनको प्रयोग, आचारसंहिताविपरीत गाडी, मोटरसाइकल, रिक्सा र साइकल र्‍याली, प्रचारप्रचारमा निर्वाचन चिह्न अंकित टिसर्ट, झोला, गम्छा, स्टिकरको प्रयोग गरिएको जस्ता विषय आयोगले पहिचान गरेको छ । 

त्यस्तै, प्रचारप्रसारमा बालबालिकाको प्रयोग, ठूलो आवाजमा माइकको प्रयोग, भित्तेलेखन, तोकिएको भन्दा ठूलो ब्यानर, फ्लेक्स र तुलको प्रयोग, सार्वजनिक स्थलहरूमा पोस्टर टाँस्ने र ठूला आकारका झन्डा प्रयोग गरिएको पाइएको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले बताए । ‘त्यस्तो गतिविधि नहोस् भनेर दलहरूको ध्यानाकर्षण गराइएको हो,’ उनले भने । 

निधिलाई स्पष्टीकरण आयोगले कांग्रेस नेता विमलेन्द्र निधिलाई कांग्रेसको निर्वाचन चिह्न अंकित गम्छा लगाई चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधेको छ । धनुषामा निधिले चुनाव चिह्न अंकित गम्छा प्रयोग गरेको भन्दै आयोगले २४ घण्टाभित्र जवाफ मागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागत गर्न बालबालिका प्रयोग गरिएको भन्दै कांग्रेसका जिल्ला सभापतिलाई समेत आयोगले स्पष्टीकरण मागेको छ । कांग्रेस र माओवादी केन्द्रका धनुषा प्रमुखलाई पनि र्‍यालीमा बालबालिका प्रयोग गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?