कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसकारण हार्‍यो जनकपुरमा कांग्रेस

श्यामसुन्दर शशि

जनकपुर — तत्कालीन महामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिको स्वर्णिम इतिहास बोकेको मिथिला नगरी जनकपुरधाम सांगठनिक रुपले नेपाली कांग्रेसको गढ मानिए पनि विभिन्न समयमा भएका निर्वाचनको परिणाम भने कांग्रेसको लागि सुखद् रहेको छैन ।

यसकारण हार्‍यो जनकपुरमा कांग्रेस

स्थानीय तह निर्वाचनमा जनकपुरका मतदाताले पुन: पूरानो इतिहास दोह्राएको छ र जनकपुर उपमहानगरपालिकाको मेयर, उपमेयरसहित २५ मध्ये आधाभन्दा बढी वार्डमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारहरुलाई फराकिलो मतान्तरले विजयी बनाएको छ । मेयर, उपमेयरका कांग्रेस उम्मेदवार आधाभन्दा बढी मतान्तरले पराजित भएका छन् ।

नेपाली कांग्रेसका चाणक्य भनिने पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, गृहनगर जनकपुर कब्जा गर्न भरमग्दूर प्रयास गरेका थिए । निर्वाचनको मुखमा निधि चार दिन जनकपुर बसेर पार्टीका उम्मेदवारहरुको पक्षमा कोठे छलफल तथा बैठकहरु गरे । जातीय तथा युवा संघसंगठनहरुलाई गोलबन्द गर्ने प्रयास गरे तर उनको यो प्रयास सफल हुन सकेन । अन्तत: कांग्रेस नराम्ररी हारे ।
 
२०४६ सालको जनआन्दोलनपश्चात् भएको पहिलो संसदीय निर्वाचनमा नेकाका महेन्द्रनारायण निधि जनकपुर क्षेत्रबाट अत्यधिक मतान्तरले विजयी भएका थिए । धनुषाका पाँचबटै संसदीय क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु विजय भए । २०५१ को मध्यावधि निर्वाचनमा पनि कांग्रेसका विमलेन्द्र निधि फराकिलो मतान्तरले सांसद चयन भए र ५६ सालमा सम्पन्न संसदीय निर्वाचनमा विमलेन्द्र निधिलाई राप्रपाका कृष्णप्रताप मल्लले नराम्ररी हराए । अन्तत: निधि आफ्नो संसदीय क्षेत्र परिवर्तन गरी धनुषा ३ बाट दुबै संविधानसभा निर्वाचनमा विजयी भए । पछिल्लोपटक सम्पन्न दुबै संविधानसभा निर्वाचनमा निलम्बित सांसद् सञ्जयकुमार साह विजयी भए । पहिलोमा उनी मधेसी जनअधिकार फोरमको टिकटमा तथा दोस्रोमा सद्‌भावना पार्टीको टिकटमा संविधानसभा पुगेका थिए ।
 
स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसको प्रदर्शन निरासाजनक नै रहेको छ । बहुदलीय व्यवस्था आएपछि सम्पन्न पहिलो स्थानीय निकायको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारहरुलाई परास्त गरी कांग्रेसकै वागी उम्मेदवारहरु बृषेशचन्द्र लाल (मेयर) तथा लालकिशोर साह विजयी भएका थिए । दोस्रोमा पनि कांग्रेसका आधिकारिक उम्मेदवारलाई परास्त गरी बजरंगप्रसाद साह र किशोरी साह विजयी भएका थिए ।
 
आखिर किन हार्छ कांग्रेस ?
 
स्थानीय तह निर्वाचनको प्रचारमा यहाँ आएका कांग्रेस नेता प्रदीप गिरी सार्वजनिक मञ्चबाटै भनेका थिए– कांग्रेसलाई कसैले हराउन सक्छ भने त्यो कांग्रेस नै हो ।’ यसअघिको निर्वाचन परिणामतर्फ दृष्टिगत गर्दा गिरीको अभिव्यक्ति सत्य प्रमाणित हुन्छ । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि पार्टीका एक गुटका नेता, कार्यकर्ताहरुले पार्टीका आधिकारिक उम्मेदवार मनोजकुमार साहविरुद्ध अन्तर्घात गरेको आरोप संस्थापन पक्षका नेताहरुले लगाएका छन् । कांग्रेस नेतृ लीला कोइरालाले वागी उम्मेदवारीहरु पनि पार्टीका आधिकारिक उम्मेदवार हुन भनि दिएको टिप्पणीबाट कांग्रेसका एक पक्षले अधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रस्ट हुन्छ ।

जनकपुर उपमहानगरपालिकामा कांग्रेस हार्नुको अर्को कारण टिकट वितरणमा विमलेन्द्र निधि पक्षको एकाचारी निर्णय भएको आरोप अर्का गूटका नेताहरुको छ । टिकट वितरणमा निधिको एकल निर्णयले नकारात्मक परिणाम आएको उनीहरुको कथन छ । आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक कांग्रेस नेताले भने–मेयरका उम्मेदवार मनोजकुमार साह, पार्टीभित्र जुनियर कैडर हो । यसलाई मेयरको उम्मेदवार बनाएपछि, सिनियरहरु वार्डको उम्मेदवार बन्न रुचि देखाएनन् । र, परिणाम हाम्रो विपक्षमा आयो ।’
 
मधेस आन्दोलनको केन्द्र जनकपुरधाममा मधेस केन्द्रित दल तथा कांग्रेस बीचको सम्बन्ध कहिल्यै मधुर रहेन । नगर क्षेत्रमा बलियो सांगठनिक पकड भएको कांग्रेसलाई मधेस केन्द्रित दलहरुले आफ्नो राजनीतिक प्रतिष्पर्धी ठाने र सुरुदेखि नै निसाना बनाए । मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुले कांग्रेसको जिल्ला कार्यालयमा आगजनी गरेका थिए । कांग्रेसका नेताहरु आन्दोलनकारी तथा मधेसवादी नेताहरुको यस रणनीतिलाई बुझ्न सकेनन् ।
 
जनकपुर कांग्रेसको होइन, लोकतन्त्रको गढ
 
मिथिला नगरी जनकपुरलाई कांग्रेसको नभई लोकतन्त्रको गढ भएको दाबी राजनीतिक विश्लेषक प्राध्यापक भोगेन्द्र झाको छ । आइतबार सम्पन्न मतगणना परिणामतर्फ ध्यानाकर्षण गराउँदै उनले भने–‘कांग्रेसको गढ भएको भए, कांग्रेसको यस्तो लजास्पद हार हुने थिएन ।’
 
जनकपुरलाई मधेस आन्दोलनको ‘इपिसेन्टर’बताउँने प्राध्यापक झा यहाँका मतदाता लोकतन्त्रवादी भएको बताए । तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेर जनकपुरका नागरिकले गणतन्त्रको नारा २०१९ सालमै बुलन्द गरी सकेको उनको कथन छ ।
 
संविधानमा मधेसीसँग गरिएको भेदभाव तथा मधेस आन्दोलनकारीमाथि गरिएको दमनको वदला जनकपुरवासीले कांग्रेसलगायत प्रमुख राजनीतिक दलहरुसँग लिएको झाको कथन छ । यहाँका मतदाता लोकतन्त्रवादी छन् । जुन पार्टी तथा नेताको चरित्र लोकतान्त्रिक हुन्छ,यहाँका मतदाता त्यसैलाई मतदान गर्छ’झा कान्तिपुरसँग भने ।
 

प्रकाशित : आश्विन ८, २०७४ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?