महिलाकै जिम्मामा मतदान केन्द्र

कान्तिपुर संवाददाता

दैलेख — सदरमुकामस्थित त्रिभुवन मावि मतदानस्थलका दुई केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटिएका छन् । मतदान केन्द्र ‘क’ मा महिला विकास अधिकृत अनिता ज्ञवाली र ‘ख’ मा जिल्ला प्रशासन कार्यालयकी नासु दुर्गा खनाल मतदान अधिकृत खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रमेश श्रेष्ठले महिला एक्लैले पनि काम गर्न सक्छन् भन्ने विश्वाससाथ दुई केन्द्रमा महिलामात्रै खटाइएको बताए । उनका अनुसार यसलाई नमुना मतदान केन्द्रका रूपमा लिइएको छ ।

उनले अन्य ७ स्थानमा महिलालाई मतदान अधिकृत खटाइएको जनाए । व्यवस्थापनमा सहज होस् भनेर नजिकैका केन्द्रमा महिला कर्मचारी खटाइएको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लामा रहेका १ सय ९६ केन्द्रमध्ये दुईसहित ७ केन्द्रमा महिला मतदान अधिकृत खटाइएको छ । ‘यसअघिका चुनावमा पनि मैले मतदान अधिकृतको जिम्मेवारी पूरा गरिसकेकाले यो पटक सहज हुनेछ,’ मतदान अधिकृत ज्ञवालीले भनिन् ।


सबै केन्द्रमा पुगे कर्मचारी
मतदानका लागि सबै निकायले तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेशसभा सदस्यका लागि ४ क्षेत्र तोकिएको दैलेखमा १ लाख ३९ हजार ९ सय ४४ मतदाता छन् । जिल्लामा ४ नगरपालिका र ७ गाउँपालिका छन् । क्षेत्र १ मा ७० हजार १ सय ९० र क्षेत्र नम्बर २ मा ६९ हजार ७ सय ५४ मतदाता छन् ।

निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले चुनावमा खटिने कर्मचारीलाई तालिम दिएर आवश्यक सामग्रीसहित खटाएका छन् । सबैजसो केन्द्रमा टोली पुगेको प्रजिअ विश्वराज न्यौपानेले जानकारी दिए । केन्द्रको नक्सा तयार पार्ने, स्थानीयस्तरमा समन्वय बैठकको आयोजना गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए । 

यस्तै, पाल्पाको तानसेन नगरपालिका–४ र ८ वडामा रहेका ४ केन्द्रमा पनि मतदान अधिकृतसहित सबै कर्मचारी महिला छन् । मोहनकन्या माविका २ र शारदा माविका २ केन्द्रमा महिला छन् । महिलाले सबै जिम्मेवारी पूरा गर्न सक्ने मतदान अधिकृत जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले बताइन् । उक्त केन्द्रको दुई मतदानस्थलमा ७/७ गरी १४ कर्मचारी छन् । तानसेन ४ को मोहनकन्या मावि, सिल्खानटोलको ‘क’ मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले सामान्यको सूचीमा राखेको छ । 

जिल्लामा मतदानको सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोही स्थानको ‘ख’ मतदान केन्द्रमा पनि ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा एकता बराल छिन् । संवेदनशील मानिएका केही मतदान केन्द्रमा पनि महिला मतदान अधिकृत छन् ।

मोहनकन्याको ‘क’ केन्द्रमा सहायक मतदान अधिकृत जिल्ला अस्पतालकी स्टाफनर्स प्रज्ञा काफ्ले छिन् । सहायक कर्मचारीमा माथागढी गाउँपालिकाकी नाप्रास संगीता थापा, नवकिरण प्रावि हुमिनकी शिक्षक शारदा ढुंगाना, रैनादेवी छहरा गापाका सहायक महिला विकास निरीक्षक मीनादेवी आचार्य र दोभानमाविकी शिक्षिका माया पाण्डेय छन् । यस्तै सहयोगीमा समेत मालपोतकी लक्ष्मीदेवी उपाध्याय र डिभिजन सडककी लक्ष्मी सुवेदी छन् । ‘ख’ केन्द्रमा सहायक मतदान अधिकृत मालपोत कार्यालयकी डोलमाया सारू छन् ।

सहायक कर्मचारीमा पालुङ स्वास्थ्यचौकीकी सुशीला लाम्टाङे, रामपुर इलाका हुलाकी चित्रा कुमारी श्रेष्ठ, भैरव नवदीप विद्यालयकी पार्वती रायमाझी, बालविकास आधारभूत विद्यालयकी कमला ढेंगा छन् । सहयोगीमा विशेष नापीकी अम्बिका भण्डारी र जिल्ला निर्वाचन कार्यालयकी मीना घिमिरे छन् । जिल्लामा सोमबारै मतदान केन्द्रमा मतदान अधिकृत पुगेर सर्वदलीय बैठक बस्ने र व्यवस्थापनको कार्य सुरु भएको सहायक निर्वाचन अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए ।

 

प्रकाशित : मंसिर १९, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जबाट चार महिनामा ५ अर्बको मोटरसाइकल

शंकर आचार्य

पर्सा — मुलुकको मुख्य नाका वीरगन्जबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ अर्ब रुपैयाँँभन्दा बढीका मोटरसाइकल भित्रिएका छन् । चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ ।

जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन राजस्वमा योगदानको हिसाबले महत्त्वपूर्ण मानिन्छन् । चालु आवको चौमासिकमा ५ अर्ब ४९ करोड रुपैयाँ राजस्व बुझाएर ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको ६५ हजार ४ सय ११ वटा मोटरसाइकल आयात भएका छन् । यो अघिल्लो वर्षको यसै अवधिका तुलनामा २५ प्रतिशतभन्दा बढी हो । गत आवको यसै अवधिमा ४ अर्ब २६ करोड रुपैयाँ राजस्व बुझाएर ४ अर्ब १३ करोड रुपैयाँ बराबरको ४८ हजार ७ सय ६२ वटा मोटरसाइकल यो नाकाबाट आयात भएको तथ्यांक छ । 

कार्यालयको तथ्यांकअनुसार चालु आवको साउनदेखि कात्तिकसम्मको चौमासिक अवधिमा ७ अर्ब ६२ करोड रुपैयाँ राजस्व बुझाएर ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४ हजार ७ सय ५४ वटा जिप, कार, भ्यान यो नाकाबाट आयात भएको तथ्यांक छ । गत आवको यसै अवधिमा ७ अर्ब ४० करोड रुपैयाँ राजस्व बुझाएर ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको ४ हजार २ सय २५ वटा जिप, कार , भ्यान आयात भएका थिए । यी सवारीको आयात गर्दा करिब २ सय ५० प्रतिशतसम्म राजस्व लाग्ने भएकाले यिनको आयात बढदा यो भन्सारकै राजस्व असुलीमा सकारात्मक प्रभाव पर्छ । 

दुई वर्षअघिको नाकाबन्दीमा यो नाकाबाट सवारी साधनको आयात घटेको र आयातकर्ताहरू भैरहवा नाकातर्फ आकर्षित भएका थिए । हाल यो नाकाबाट हुने सवारी साधनको आयातको अनुपात पुरानै लयमा फर्किएको संकेत यसले गरेको छ । 

चालु आवको चौमासिकमा ४९ करोड २१ लाख रुपैयाँ राजस्व बुझाएर ९२ करोड ८१ लाख रुपैयाँ बराबरको ५ सय ६८ वटा ट्रक, मिनीट्रक आयात भएका छन् । गत आवको यसै अवधिमा ३७ करोड १३ लाख रुपैयाँ राजस्व बुझाएर ७१ करोड ४४ लाख रुपैयाँ बराबरको ३ सय ६९ वटा यस्ता सवारी साधन आयात भएका थिए । 

यो नाकाबाट भित्रिने अधिकांश सवारी साधनको मुख्य बजार राजधानी नै हो । राजधानीका सवारी साधनका बिक्री सोरुमहरूमा ग्राहकले सवारी साधन बुक गरेपछि अटो व्यवसायीले यहाँबाट जाँचपास गराई लग्छन् । सवारी साधन बुक हुनुअघि नेपाल भित्र्याउने र वीरगन्ज भन्सारमै जाँचपास नगराई राख्दा पनि भाडा लाग्ने भएकाले अधिकांश आयातकर्ताले आफ्ना सवारी साधन सीमापारि भारतीय सहर रक्सौलमा जग्गा भाडामा लिई राख्ने गरेका छन् । रक्सौलमा हाल पनि नेपाली अटो व्यवसायीहरूको सबैखाले गरी करिब ४ देखि ५ हजार सवारी साधन राखिएको अनुमान गरिएको छ । 

आयातकर्ताले तेस्रो मुलुकबाट आयात गर्ने सवारी साधन कोलकाता बन्दरगाह हुँदै यो नाकाबाट ल्याउन सबैभन्दा छोटो मार्ग भएकाले सहज छ । भारतमा निर्मित सवारी साधन आयात गर्न पनि यो नाका नै पायक पर्छ । यो नाकाबाट सवारी साधन भित्र्याउँदा राजधानी लग्न पनि छोटो दूरी भएकाले सबै हिसाबले आयातकर्तालाई पायक पर्छ । 

चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट ३ करोड रुपैयाँ राजस्व बुझाएर ७ करोड ५५ लाख रुपैयाँ बराबरको ४३ वटा बस आयात भएका छन् । गत आवको यसै अवधिमा २ करोड २१ लाख रुपैयाँ राजस्व बुझाएर १२ करोड ४९ लाख रुपैयाँ बराबरका ४६ वटा बस आयात भएका थिए । 

चालु आवको यस अवधिमा १९ करोड ४४ लाख रुपैयाँ राजस्व बुझाएर २१ करोड ६९ लाख रुपैयाँ बराबरको १ सय १८ वटा मिनीबस आयात भएको छ । गत आवको यस अवधिमा ३७ करोड ५३ लाख रुपैयाँ राजस्व बुझाएर ४१ करोड रुपैयाँ बराबरको १ सय ८७ वटा मिनिबस आयात भएको थियो । 

चालु आवको चौमासिकमा ६२ करोड रुपैयाँ राजस्व बुझाएर ५३ करोड रुपैयाँ बराबरको ४ सय १८ वटा डवल क्याव पिकअप गाडी आयात भएका छन् । गत आवको यसै अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ राजस्व बुझाएर १ अर्ब २ करोड रुपैयाँ बराबरको १ हजार ९ वटा डबल क्याब पिकअप गाडी आयात भएको थियो । 

चालु आवको चौमासिकमा ३७ करोड ५८ लाख रुपैयाँ राजस्व बुझाएर ३२ करोड २३ लाख रुपैयाँ बराबरको ५ सय ४९ वटा सिंगल क्याब पिकअप गाडी आयात भएको छ । गत आवको यसै अवधिमा ५४ करोड ६७ लाख रुपैयाँ राजस्व बुझाएर ४६ करोड ६७ लाख रुपैयाँ बराबरको ७ सय ४१ वटा यस्ता सवारी आयात भएको थियो । 

भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव कुनै पनि खाले सवारी साधनको आयात निर्यात घट्नुमा तिनको माग नै प्रमुख कारक हुने बताउँछन् । ‘हामीले यो नाकाबाट जाँचपासमा सक्दो सहजीकरण गर्ने मात्र हो,’ उनले भने, ‘कुनै पनि खाले सवारी साधनको आयात बढ्नुको मुख्य कारण तिनको माग बढ्नु र आयात घट्नुमा तिनको माग घट्नु मुख्य कारण हो ।’ भन्सारको कुल राजस्वमा २० देखि २५ प्रतिशतसम्म योगदान सवारी साधनबाट संकलन हुने राजस्वको रहने गरेको उनले बताए ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT