कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास बजेट ‘धर्मकर्म’ मा

सांसदले गाउँका विकास योजना बेवास्ता गर्दै १० प्रतिशतदेखि ७५ प्रतिशतसम्म बजेट मन्दिर, मस्जिद, गुम्बा र चर्चलाई बाँडेका छन्
जनक नेपाल

नेपालगन्ज — बाँकेको दुर्गम क्षेत्र मानिने राप्तीपारि बघौडामा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमै पर्याप्त लगानी भइसकेको छैन । तर, त्यस क्षेत्रका सांसद दिनेशचन्द्र यादवले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ५० लाखमध्ये ३६ लाख ५० हजार रुपैयाँ मन्दिर र मस्जिदलाई बाँडेका छन् ।

विकास बजेट ‘धर्मकर्म’ मा

सांसदले मतदाताका माग प्रत्यक्ष सम्बोधन गर्न सकुन भनेर कोषबाट एउटा योजनाका लागि १ लाखदेखि १० लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ । बाँके क्षेत्र नं. २ का एमाले सांसद यादवले भने कोषको ७५ प्रतिशत बजेट नै धार्मिकस्थललाई छुट्याएका हुन् । उनले लक्ष्मणपुरस्थित जब्दहवा बाबा मन्दिरलाई १० लाख, लक्ष्मणपुर–२ राधाकृष्ण मन्दिर निर्माणमा ७ लाख र उदयपुरस्थित शिव मन्दिरमा ३ लाख रुपैयाँ दिएका छन् । त्यस्तै, पिप्रहवा र जैसपुरका शिव मन्दिरलाई २/२ लाख, खल्ला पुरैनी हनुमान मन्दिरलाई १ लाख, पुरैनी यज्ञशालालाई १ लाख ५० हजार र मटेहिया–४ स्थित करारीदास मन्दिरलाई १ लाख छुट्याएका छन् । मटेहिया ८ को शिव मन्दिरलाई १ लाख, नरैनापुर–४ को दुर्गा मन्दिरलाई १ लाख, कम्दी–८ को तपसीबाबा मन्दिर र मजारलाई १ लाख दिएका छन् । त्यसैगरी, लक्ष्मणपुर मियामजारलाई २ लाख, कटकुइया र होलियाका शिवपार्वती मन्दिरलाई १/१ लाख तथा नेपालगन्ज–२४ स्थित दुर्गाभगवती मन्दिरलाई २ लाख छुट्याएको जिविसले जनाएको छ ।

राप्ती पारि बघौडामा सडक, विद्युत्, भरपर्दो स्वास्थ्य सेवा छैन । कल्भर्ट नहुँदा बर्षायाममा ससाना नाला तर्नसमेत मुस्किल हुन्छ । एमाले सांसद यादव भने जनताको माग रहेकाले मन्दिर र मस्जिदमा धेरै बजेट छुट्याएको दाबी गर्छन् । ‘सांसद कोष आखिर जनताकै पैसा हो । जनताको माग त्यही भएपछि मैले रोक्न सकिनँ,’ उनले भने, ‘अझै पाइनँ भन्ने गुनासो छ ।’ सांसद कोषको रकम भौतिक पूर्वाधार निर्माण र समुदायको जीवनस्तर उकास्नभन्दा धार्मिक काममा खर्चने यादव एक्ला होइनन् । कांग्रेस सांसद बादशाह कुर्मीले कोषको २८ लाख २५ हजार रकम मन्दिर र गुम्बालाई दिएका छन् । प्रशासनिक खर्च १ लाख ५० हजारबाहेक त्यो झन्डै ६० प्रतिशत हो । उनले आफ्नै गाउँ परसपुरमा शिव मन्दिर बनाउन १० लाख छुट्याएका छन् । त्यस्तै, कोहलपुरको रामजानकी मन्दिरलाई २ लाख, नेपालगन्ज २८ नहरपुर्वाको महायज्ञशालालाई ५ लाख र वनकट्टी मन्दिरलाई १ लाख बाँडेका छन् ।

त्यस्तै, पिप्रहवामा गुम्बा निर्माण गर्न १ लाख ५० हजार, साईगाउँमा बढैया शिव मन्दिरलाई २ लाख, बेलभार शिव मन्दिरलाई १ लाख ५० हजार, नवाजीगाउँ मन्दिरलाई १ लाख ५० हजार, नेपालगन्ज–१२ को राममन्दिरलाई २ लाख र बनियागाउँ मन्दिरलाई १ लाख ७५ हजार छुट्टयाएका छन् । कांग्रेसकै सर्वतआरा खानले कोषको झन्डै ४० प्रतिशत रकम मस्जिद र मन्दिरलाई बाँडेकी छन् । उनले जमा मस्जिद तला थप्न १० लाख, अन्नपूर्ण मन्दिर मर्मत गर्न १ लाख र एक मिनारा मस्जिदलाई ६ लाख २५ हजार दिएकी छन् ।

कांग्रेसकी अर्की सांसद आशा विकले झन्डै एक चौथाइ रकम धार्मिक काममा खर्च गर्न लागेकी छन् । उनले प्रज्ञा गुम्बा सीतापुरलाई २ लाख, सोनपुर कालिकामाई मन्दिरलाई १ लाख ५० हजार, रनियापुर शिव मन्दिरलाई १ लाख र नौबस्ता शिव मन्दिरलाई १ लाख ५० हजार छुट्टयाएकी छन् । त्यस्तै, हनुमानगढी मर्मतका लागि १ लाख ५० हजार, दुर्गाकालिका तथा शिव मन्दिरका लागि २ लाख ५० हजार र वनकटवाको रामजानकी मन्दिरलाई १ लाख बाँडचुँड गरेकी छन् ।

बाँके १ का एमाले सांसद देवराज भारले झन्डै १० लाख रुपैयाँ धार्मिक काममा लगाएका छन् । उनले ओमशान्तिलाई ४ लाख ७५ हजार दिएका छन् । त्यस्तै, कोहलपुर किरणनालास्थित पशुपति मन्दिरलाई १ लाख, चपरगौडी मन्दिरलाई १ लाख, पिपरी थारुगाउ मन्दिरलाई १ लाख र रामजानकी मन्दिरलाई २ लाख बाँडेका हुन् ।

क्षेत्र नं. ४ का एमाले सांसद दलबहादुर सुनारले पनि मन्दिर र चर्चलाई साढे ५ लाख बाँडेका छन् । उनले वनकटवा ९ मा चर्च बनाउन १ लाख ९५ हजार दिएका छन् भने गडरई पश्चिमपूर्वा मन्दिरलाई १ लाख ४५ हजार, बागेश्वरी ६ को नवदुर्गा मन्दिरलाई १ लाख ९५ हजार दिएका छन् । यसैगरी, कांग्रेस सांसद मैकुलाल वाल्मीकिले काली मन्दिरलाई १ लाख, वाल्मीकि मन्दिरलाई ३ लाख, रनियापुर शिव मन्दिरलाई १ लाख र अन्नपूर्ण मन्दिरलाई १ लाख छुट्टयाएका छन् ।

राप्रपाकी सांसद गीता सिंहले पनि ११ लाख रुपैयाँ मन्दिरलाई दिएकी छन् । उनले मन्दिर मर्मतमा ८ लाख, टिटिहिरिया मन्दिरलाई १ लाख र हनुमानगढीका लागि २ लाख छुट्टयाएकी हुन् । अर्का कांग्रेस सांसद अब्दुल अमिद सिद्दिकीले जमा मस्जिद तला थप्न र इदगाहका लागि १०/१० लाख रुपैयाँ छुट्टयाएका छन् ।

एमाले सांसद गौरा प्रसाईं र साबिया परबिन तथा माओवादी केन्द्रकी अन्जना चौधरीले भने धार्मिक स्थललाई बजेट बाँडेका छैनन् । चौधरीले सहिद स्मृति पार्क फत्तेपुरका लागि १० लाख र सम्शेरगन्जमा सहिद गेट बनाउन ४ लाख छुटट्टाएकी छन् ।

कांग्रेस बाँके सचिव तप्त पौडेल निर्वाचन क्षेत्र विकास कोषको रकम सांसदले मनपरी बाँडचुँड गरेको स्विकार्छन् । पार्टीसँग कुनै सरसल्लाह नगरी जथाभाबी पैसा बाँडिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘सांसदले व्यक्तिगत पैसा बाँडेजस्तो गरेका छन्,’ पौडेलले भने, ‘स्थानीय विकासमा पार्टीका पनि प्रतिबद्धता हुन्छन् । त्यसमा सांसदले बेवास्ता गरेर आफूनिकटलाई बाँड्ने प्रवृत्ति देखियो ।’

प्रकाशित : पुस १७, २०७३ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?