कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपीमा हाहाकार

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी आपूर्ति नहुँदा बुधबार हाहाकार मच्चियो । नेपाल खानेपानी संस्थानले १३ घण्टा पानी वितरण नगरेपछि उपचार सेवा प्रभावित हुन पुग्यो ।

हजारभन्दा बढी बिरामीको उपचार हुने अस्पतालमा आकस्मिक कक्ष, अप्रेसन थिएटर, सघन उपचार कक्षलगायत ठप्प हुन पुगेपछि प्रतिष्ठानले रिजर्भ ट्याङ्कीको पानीले काम चलाएको थियो । 

प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठले भने, ‘संस्थानलाई खानेपानीको महसुल नियमित तिरिरहेको अवस्थामा उसले पानी नै रोकिदिँदा हाहाकार भयो ।’ उनका अनुसार प्रतिष्ठानमा खानेपानी दुईतिरबाट ल्याइने गरिएको छ । चारकोसे जंगलमा जडान गरिएका तीनवटा डिप टयुबवेलबाट भूमिगत पानी र शिवजटाको सतहको पानी प्रतिष्ठानमा वितरण हुँदै आएको छ । 

रजिस्ट्रार श्रेष्ठले भने, ‘सबै खर्च प्रतिष्ठानको भए पनि चारकोसे जंगलबाट पम्पिङ गर्न र शिवजटाको पानी प्रतिष्ठानको टयांकीसम्म ल्याउन प्रतिष्ठानले संस्थानलाई सर्भिस चार्जस्वरूप वार्षिक ८३ लाख रुपैयाँ तिर्दै आएको छ । तर केही साताअघि संस्थानले उक्त सर्भिस चार्ज बढाएर १ करोड २४ लाख रुपैयाँ पुर्‍यायो र तत्काल तिर्न दबाब दियो । हामीले पुरानै महसुलका आधारमा रकम दिन्छौं भनेका छौं ।’ 

यता धरान खानेपानी बोर्डले आफ्नो म्याचिङ फन्डका लागि स्थानीय उपभोक्ताबाट रकम संकलन गरिरहेको अवस्थामा प्रतिष्ठानले वर्षेनी बुझाउने ८३ लाख रुपैयाँ बोर्डमै बुझाउन उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले दबाब दिएकाले संस्थानले पानी वितरण रोकेको हो ।
संस्थानले दिउँसो १ बजेपछि मात्र प्रतिष्ठानमा पानी वितरण गरेको थियो । प्रतिष्ठानमा दैनिक १० लाख लिटर खानेपानी खपत हुने गर्छ । संस्थान प्रमुख शैलेन्द्र साहले भने सिस्टम बिग्रेकाले केही बेर पानी रोकिएको बताए । ‘महसुलको विषय आन्तरिक कुरा हुन्,’ उनले भने । 

प्रकाशित : पुस २८, २०७३ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?