कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाजा कार्यक्रमले नियमित विद्यालय

अनिश तिवारी

सिन्धुपाल्चोक — दिनेश तामाङ हेलम्बु आधारभूत पाठशालामा कक्षा ४ मा अध्ययन गर्छन् । महांकालको ग्याल्थुम निवासी तामाङ विद्यालय जान खुसी हुने गरेको उनका बाआमाले बताए ।

विगतमा प्राय: गयल हुने उनी अहिले नियमित विद्यालय जान थालेका छन् । खाजा पाउने भएपछि उनी अचेल चाँडै विद्यालय पुग्ने गर्छन् । ‘विश्व खाद्य कार्यक्रमले स्थानीय महिला सहकारीसँग सहकार्य गरी विद्यालयमा दिवा खाजाको प्रबन्ध मिलाएको हो । विद्यालय छेउमा लगाएको ताजा तरकारी र स्थानीय स्तरमा उत्पादन गरेको खाद्य सामग्रीलाई दिवा खाजामा समावेश गरिएको छ । बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीको व्यवस्था पनि सहयोगी हातबाटै प्रबन्ध मिलाइएको छ ।

साथीसँगै बसेर खाजा खान पाइने भएकाले स्कुल आउन खुसी लागेको दिनेशले बताए । ‘खाजा पाएपछि पढ्ने जाँगर चल्यो,’ उनले भने, ‘अहिले कक्षा छाड्न मन लाग्दैन । पढ्न पनि निकै आनन्द लाग्छ ।’ सहकारीका सदस्यले तयार पारेको खाजा विद्यार्थीलाई दिने गरेको महिला सहकारीकी संस्थापक अध्यक्ष निर्मला लामिछानेले बताइन् । विद्यालयका ८४ बालबालिकाले दिवा खाजा र शैक्षिक सामग्री नि:शुल्क पाउने गरेका छन् । ती सबैलाई विद्यालयले छात्रवृत्ति पनि उपलब्ध गराएको छ । अहिले हेलम्बु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर पनि माथि उठेको छ । 

भूकम्पपछि परिवारमा परेको आर्थिक भारका कारण हिमाली भेगका अभिभावकले आफ्ना छोराछोरीको पढाइमा ध्यान पुर्‍याएका थिएनन् । सहयोगी हातहरूले नयाँ कार्यक्रम ल्याएपछि बालबालिकाप्रति अभिभावक सचेत बनेका छन् । हेलम्बु र महाँकालमा मात्र होइन हिमाली र केही पहाडी बस्तीका २१ विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरिएको छ । 

हेलम्बु आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकुमार लामिछानेका अनुसार बालबालिकालाई चाउचाउ र बिस्कुटजस्ता जंकफुड खाजामाथि प्रतिबन्ध नै लगाएर स्थानीय स्तरमा उत्पादित पौष्टिक खाजा जाउलो, रोटी, तरकारी, अण्डा, फलफूल दिन थालिएको छ । उनले भने, ‘बालबालिका र अभिभावकले पनि जंकफुड खान नहुने बुझ्दै आएका छन् ।’

प्रकाशित : फाल्गुन ६, २०७३ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?