कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहज बन्दै आवागमन

कञ्चनपुर — पुनर्वास गोलीकाण्डपछि ठप्प रहेको सीमा क्षेत्रको आवागमन सहज बन्दै गएको छ । शनिबारदेखि यातायात सुचारु भएको छ । व्यापारिक केन्द्रमा भीड देखिन थालेको छ । तनाव शान्त भएपछि जनजीवन क्रमश: सामान्य बन्दै गएको छ ।

फागुन २६ मा पुनर्वासको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि सीमा क्षेत्रमा तनाव बढेको थियो ।  

एक सातासम्म यातायात ठप्प हुँदा भारतबाट काम गरेर घर फर्किने मजदुर मर्कामा परेका थिए । सीमावर्ती बजारमा पनि भीड घटेको थियो । ‘सीमा क्षेत्रमा ८ दिनदेखि बन्द रहेको यातायात सुचारु भएपछि चहलपहल बढेको छ,’ सीमास्थित इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई कृष्णदेव पन्तले भने, ‘भारतीय नम्बरका सवारी साधन वारि आउन थालेका छन् ।’ उनका अनुसार नेपाली नम्बरका मोटरसाइकल तथा साना सवारी साधन फाटफुट रूपमा केही दिनअघिदेखि नै चल्न थालेका थिए । भारतीय नम्बरका गाडीहरू वारि आउन थालेपछि यताका सवारी पनि सीमावर्ती बजार वनवासासम्म पुग्न थालेका छन् ।

पुनर्वास घटनाकै दिन महेन्द्रनगरमा रहेका केही भारतीय नम्बरका गाडीहरूमाथि तोडफोड भएपछि भारतीय सुरक्षाकर्मीले सुरक्षा खतरा भन्दै त्यहाँका गाडी महाकाली पारिबाटै फिर्ता पठाउँदै आएको थियो । नेपाली पक्षले पनि सुरक्षाका कारण यताका गाडी भारत जान रोक लगाएको थियो । दुवैतर्फका सुरक्षाकर्मीले माथिको आदेश भन्दै सीमामा सवारी साधन रोकेका थिए । 

‘फेरि तोडफोड हुन सक्ने त्रासले भारतीय नम्बरका गाडी यहाँ आउन नदिइएको हो,’ सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज डीएसपी नेत्र केसीले भने, ‘भारतबाट नेपाल भित्रिने दैनिक उपभोग्य सामग्रीसँगै तरकारी र अन्य सामान पनि बन्द भएको थियो ।’ उनका अनुसार भारतीय नम्बरका गाडीहरू आउन थालेपछि सामान पनि धमाधम आउन थालेको छ । 

दक्षिणी क्षेत्रमा पनि गोलीकाण्ड भएको बाहेकका विभिन्न ठाउँबाट भारततर्फ आवागमन बढ्न थालेको छ । घटनास्थल आनन्दबजार क्षेत्रमा भने आउजाउ बन्द छ । ‘आउजाउ बढेपनि सामान ल्याउन स्थानीयले रोक लगाएका छन्’,  सशस्त्र प्रहरीको सीमा सुरक्षाका एसपी इन्द्रराज कार्कीले भने ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?