कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचार गर्न नसकेपछि खोरमा !

डिल्लीराम खतिवडा

शिखरपुर (उदयपुर) — खर्च अभावमा उपचार गर्न नसकेपछि चौडण्डीगढी नगरपालिका १ शिखरपुरका एक युवकलाई खोरमा थुनिएको छ । मानसिक सन्तुलन गुमाएका ३४ वर्षीय शिवराज विकलाई थुनिएको हो ।

उपचार गर्न नसकेपछि खोरमा !

शिवराजले ८ वर्षयता मानसिक सन्तुलन गुमाएका हुन् । पटकपटक औषधि उपचार गराउँदा पनि सम्भव नभएपछि उनलाई खोरमा थुनिएको हो । उपचार गर्ने खर्च नभएपछि खोर बनाएर थुनिएको उनका बुवा रामकुमार विकले बताए । ‘एक हप्तादेखि खोरमा राखेका छौं,’ उनले भने ।

रामकुमारका दुई छोरामध्ये शिवराज जेठा हुन् । सामान्य लेखपढ गर्ने शिवराजले काठमाडौंमा ज्यालामजदुरी गरी गुजारा गरिरहेको अवस्थामै मानसिक सन्तुलन गुमाएका थिए । ‘उसले मानसिक सन्तुलन गुमाएपछि भतिजा र भतिजीको हत्या प्रयास गर्‍यो,’ बुबा रामकुमारले भने, ‘गाउँघरका सर्वसाधारणमाथि आक्रमणसमेत गरेपछि थुनेर राख्न बाध्य भयौं ।’ उपचार गर्दागर्दै घरखेत पनि साहुले लिएकाले थप उपचार गर्न नसकेपछि खोरमा थुनेर राखेको बताए ।

‘छोराको अवस्था सुधार हुन्छ कि भनेर दुईपटक सुधारगृहमा समेत राखियो,’ शिवराजकी आमा सुमित्राले भनिन्, ‘त्यहाँ पनि ठीक नभएपछि पुन: औषधि उपचार गरियो ।’ शिवराजभन्दा केही समय अघि सिद्धिपुर र बेल्टारको माडिवास भित्तेका झुमन परियारलाई पनि यसैगरी खोरमा थुनेर राखिएको थियो । कान्तिपुरमा समाचार प्रकाशित भएपछि दाताको सहयोगमा उपचार गरिएको थियो ।

प्रकाशित : चैत्र ८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?