कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँका महिला एकजुट

चितवन — इच्छाकामना १, तार्सेलिङकी फूलमाया चेपाङ पहिला गाउँमा नयाँ व्यक्ति आउँदा बोल्न लजाउँथिन् । आफ्ना कुरा राख्न डराउँथिन् । नयाँ मान्छे आउँदा मुख छोपेर बस्थिन् । तर, अहिले उनी गाउँका महिलाको नेतृत्व गर्ने भएकी छन् । उनको सल्लाहमा गाउँका महिला विकासमा जुट्छन् । आयआर्जनमा सक्रिय हुन्छन् ।

‘पहिला नयाँ काम गर्न पनि आउँथेन,’ उनले भनिन्, ‘अहिले आफ्ना लागि आफैं गर्न सक्ने भएका छौं ।’ उनको समूहको नाम झिलिमिली महिला समूह हो । उनी यसको अध्यक्ष हुन् । समूहमा ३३ महिला छन् । समूहमा प्रतिघर १ महिला आबद्ध छन् । मासिक रूपमा घरबाट ५० रुपैयाँ उठाउने गरिएको छ । जुन रकम कोषमा जम्मा हुन्छ ।

यसरी जम्मा भएको रकम समूहमा समस्या परेका महिलालाई सहयोग गरिन्छ । जसका लागि १ सयको १ रुपैयाँ ब्याज पर्छ । ‘म पनि समूहमा छु, कुखुरा पाल्न भनेर ३ हजार लिएकी छु,’ सुनीता चेपाङले भनिन्, ‘रकम थपेर अहिले कुखुरा पाल्न सुरु गरें ।’ उनको परिवारले पहिला गाई पाल्थे । त्यसबाट खासै आम्दानी भएन । ‘आम्दानी हुने कुरा चाहियो, गाईबाट आम्दानी भएन,’ उनले भनिन्, ‘अब कुखुराबाट आम्दानी गर्ने सोच छ ।’

त्यस्तै केही महिलाले बाख्रा पालेका छन् । छोराछोरी पढाउन सक्ने भएका छन् । समूहबाट ३ हजारसम्म निकाल्न पाइन्छ । ‘पहिला गिठा भ्याकुर खाएर धान्नुपथ्र्यो, गाउँमा कुनै संस्था पनि आउँदैन थिए,’ नक्कलीमाया चेपाङले भनिन्, ‘अहिले बिस्तारै समस्या टर्दै गएको छ ।’ 

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?