कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरीले बनाए सेनेटरी प्याड

प्रदीप मेन्याङ्बो

धरान — अधिकांश किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएको महिनावारीका विषयमा पर्याप्त जानकारी नहुँदा अनावश्यक तनाव झेल्नुपरेको छ । विभिन्न माध्यमबाट जानकारी पाए पनि महिनावारी हुँदा बजारमा पाइने महँगो प्याड प्रयोग गर्दा खर्च धान्नै गाह्रो पर्छ ।

किशोरीले बनाए सेनेटरी प्याड

किशोरीका यस्तै समस्यालाई ध्यानमा राख्दै सोमबार धरान ६ पानबारीस्थित सुन्दर समाज निर्माण समूहले उनीहरूलाई नै लक्षित गरेर महिनावारीबारे समाजमा हुने गलत धारणा र समस्याको जानकारी गराउँदै प्याड बनाउने तालिम दिएको हो । 

धरानका दुई सामुदायिक विद्यालयका ८० किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइएको समूह अध्यक्ष तारा राईले बताइन् । उनले महिनावारीका कारण विद्यालयमा अध्ययनरत छात्राले पढाइ छाड्ने दर बढेको र उनीहरूको सिकाइस्तर पनि खस्किँदै गएको देखिएकाले उनीहरूलाई तालिम दिइएको बताइन् ।
उपमहानगरपालिकाको सहयोगमा सम्पन्न तालिममा धरान–६ को सरस्वती माविका ४५ र १७ मा रहेको ज्वालामुखी माविका ३५ किशोरी सहभागी थिए । उनीहरूलाई घरमै उपलब्ध हुने कपडाबाटै पुन: प्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड बनाउने तालिम दिएको राईले बताइन् । 

उनले भनिन्, ‘किशोरीका स्वास्थ्य प्रवद्र्धनका लागि जीवन उपयोगी सीप जरुरी रहेकाले समूहले यस्तो तालिम बेला–बेला दिने गरेको छ ।’ प्याड बनाउने तालिममा समुहका सचिव विनोद विक, रिता श्रेष्ठले किशोरीमा प्राकृतिक रूपमा हुने महिनाबारी चक्र, वैज्ञानिक कारण, महिनाबारी प्रक्रिया, यसबारे समाजमा भएको गलत धारणा, महिनाबारी भएको समयमा ध्यान दिनुपर्ने विषयका साथै गाउँघरमै उपलब्ध हुने सामग्रीबाट कम मूल्यमा बनाउन सकिने सेनेटरी प्याडबारे जानकारी दिएका थिए ।

समूहका प्रमुख प्रशिक्षकसमेत रहेका विकले भने, ‘बजारमा पाइने प्याड महँगो त हुने नै भयो, त्यसमा प्रयोग हुने रासायनिक तत्त्वले महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने र ग्रामीण क्षेत्रमा उपलब्ध हुन नसक्ने भएकाले घरेलुस्तरमै उपलब्ध पुराना तथा सफा कपडा प्रयोग गरेर सस्तो मूल्यमै बनाउन र पुन: प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालिम किशोरीलाई दिन जरुरी छ ।’

पूर्ण सरसफाइको महत्त्वपूर्ण पाटो व्यक्तिगत सरसफाइ र त्यसभित्र पनि महिनावारीको समयमा सरसफाइको बढी आवश्यकता पर्ने भएकाले छात्रालाई स्कुलदेखि नै यसको बानी बसाल्न सके पछिसम्म फाइदा हुने हुँदा तालिम दिइएको हो । समूहले धरानका विभिन्न सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का किशोरीलाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तरिका र महिनावारीबारे चेतना बढाउने उद्देश्यले प्रत्येक विद्यालयमा पाँच–पाँच हजारका दरले कोष स्थापना गर्ने योजना बनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?