कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियोको भूमिका महत्त्वपूर्ण

सुर्खेत — आसन्न स्थानीय तह निर्वाचनलगायत संविधान कार्यान्वयनसँग जोडिएका सवालमा सामुदायिक रेडियोको सकारात्मक भूमिका रहने यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को ६ नम्बर प्रदेशस्तरीय भेलाका सहभागी रेडियोकर्मीले सामाजिक/राजनीतिक रूपान्तरणमा विगतमा खेलेको भूमिकाजस्तै संविधान कार्यान्वयनमा पनि संवेदनशील भएर सघाउन रेडियोहरूलाई अनुरोध गरेका छन् ।

प्रदेश–६ मा सञ्चालित सामुदायिक रेडियोका अध्यक्ष तथा स्टेसन म्यानेजरहरूको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै अकोराब अध्यक्ष सुवास खतिवडाले संघीय संरचनाअनुसार आफ्ना विषयवस्तु केन्द्रित गर्नुपर्ने चुनौती रहेको धारणा राखेका थिए । ‘स्थानीय उत्पादनसँग रेडियोलाई जोड्नुपर्छ । अब सामुदायिक रेडियोले कोकाकोलाको विज्ञापनभन्दा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘श्रोतालाई सामुदायिक रेडियोप्रति बढी विश्वास बढाउन प्रसारण गरिने विषयवस्तु निर्माणमा विशेष ध्यान दिनुपर्छ ।’

नेपाल पत्रकार महासंघ कोषाध्यक्ष सूर्यमणि गौतमले सामुदायिक रेडियोको संख्यात्मक वृद्धि भए पनि स्थायित्वको चुनौती रहेकाले अकोराबले दिगोपनाका लागि विशेष ध्यान दिनुपर्ने बताए ।

भेलामा अकोराब महासचिव गोविन्द देवकोटा, सल्लाहकार किशोरजंग थापा, वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, कोषाध्यक्ष लक्ष्मण खडका, निमित्त क्षेत्रीय प्रशासक जगत बस्नेत, जिल्ला समन्वय समिति सदस्यसचिव अमृत लम्साललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?