कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शल्यक्रियाका नाममा ठगी

३ सटरसहितको एउटा घरलाई भाडामा लिएर अस्पतालको नाम दिइएको भवनको आँगनमा सामान्य पलङमै सुताएर बिरामीको उपचार
माधव ढुंगाना

भैरहवा — लुम्बिनीको दक्षिणी सीमावर्ती गाउँ खुनगाइस्थित एक घरमा ४ महिनाअघि साइन बोर्ड झुन्डयाइयो, ‘नैना अस्पताल ।’ यहाँका बासिन्दालाई दक्ष चिकित्सक भेट्न २५ किमि टाढाको भैरहवा पुग्नुपर्ने बाध्यता थियो । घरनजिकै अस्पताल खुलेपछि सर्वसाधारण खुसी भए । त्यसपछि उपचारका लागि अस्पताल आउनेको भीड लाग्न थाल्यो ।

शल्यक्रियाका नाममा ठगी

उपचारका लागि पुग्ने अधिकांशलाई यहाँका डाक्टरले विभिन्न समस्या सुनाउँदै शल्यक्रिया गर्न लगाउँथे । कसैलाई नशा, कसैलाई मिर्गौला, कसैलाई पित्तथैलीमा पत्थरी छ भन्दै शल्यक्रिया गर्न लगाउँथे । खुट्टा दुखेर जाने, काखीमा गिर्खा आउने सबैलाई शल्यक्रिया गर्नुपर्छ भन्दै उपचार थाल्थे । दर्जनौं बिरामीको शल्यक्रिया गरी अस्पतालमा ब्यान्डेज लगाएर राखियो ।

शल्यक्रिया गरिने अस्पतालमा ल्याब, एक्सरे, अल्ट्रासाउन्ड मेसिन थिएन । न त बेहोस बनाउने चिकित्सक नै थिए । ३ सटरसहितको एउटा घरलाई भाडामा लिएर अस्पतालको नाम दिइएको भवनको आँगनमा सामान्य पलङमै सुताएर बिरामीको उपचार थालियो । बिरामीलाई एउटा कोठाभित्र लगेर केही बेरपछि अप्रेसन भयो । केही दिन आराम गरेपछि सन्चो हुन्छ भन्दै घर फर्काइन्थ्यो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका १, महजिदियाका अब्दुल सलाम मुसलमान काछमा गिर्खा आएर दुखेकाले उपचार गर्न गए । अस्पतालामा शल्यक्रिया गर्नुपर्ने भएकाले १० हजार रुपैयाँ लाग्ने बताएपछि उनी तिर्न तयार भए । गिर्खाको शल्यक्रिया गर्ने क्रममा हर्निया र प्रोस्टेडको पनि गरेको भन्दै उनीबाट थप २५ हजार रुपैयाँ असुलियो । दुखाइ कम नभएपछि उनी भैरहवास्थित भीम अस्पताल पुगेर जचाउँदा गलत उपचारका कारण घाउ बिग्रेको भन्दै युनिभर्सल शिक्षण अस्पतालमा रिफर गरियो । ‘युनिभर्सल शिक्षण अस्पतालमा जाँच गर्दा बल्ल थाहा भयो । मसँग हर्निया र प्रोस्टेट ग्रन्थीको शल्यक्रिया नै नगरी २५ हजार रुपैयाँ असुलिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उनले भनेका छन्, ‘गिर्खा काटदा बिगारेकाले युनिभर्सल शिक्षण अस्पतालमा १२ दिन बसेर उपचार गराउनुपर्‍यो र थप २० हजार रुपैयाँ तिर्नुपर्‍यो ।’ ठूलो पडेरियाका रमेश नटुवाको हालत पनि उस्तै भयो । खुट्टा दुखेर नैना अस्पताल पुगेका रमेशको पनि शल्यक्रिया गरियो । शल्यक्रियापछि समस्या झन् बल्झिएपछि उनलाई पनि भीम अस्पतालबाट युनिभर्सल रिफर गर्नुपर्‍यो । त्यहाँ शल्यक्रिया नै गर्नु नपर्नेमा नजान्ने व्यक्तिले गरेकाले नशा नै काटिएकाले भर्ना भई उपचार गराउनुपर्‍यो । उनले पनि प्रहरीमा दिएको जाहेरीमा युनिभर्सल शिक्षण अस्पतालमा थप ३ लाख रुपैयाँ खर्च लागेको र अझै सन्चो नभएको उल्लेख गरेका छन् ।

अस्पतालका नाममा ठगी र बिरामीमाथि खेलबाड भइरहेको सूचना पाएपछि केही दिनअघि प्रहरी, प्रशासन र जनस्वास्थ्य कार्यालयको टोली अस्पताल पुग्दा बिनादर्ता अवैध रूपमा सञ्चालन भइरहेको पाइएको रूपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले बताए । उनका अनुसार अस्पतालमै भेटिएका डाक्टर भनिने जयप्रकाश शुक्लालाई नेपालमा प्रतिबन्धित स्पास्मो नामको औषधिसहित पक्राउ गरी कारबाही चलाइएको छ । अस्पतालमा उनीद्वारा उपचार गराइएका सबै बिरामीलाई उद्धार गरी थप चेकजाँचका लागि भीम अस्पतालमा ल्याइएको थियो । अस्पताल भनिएको स्थानमा शल्यक्रियाका लागि आवश्यक ब्लेडबाहेक अन्य कुनै पनि मेसिन तथा औजार नभएको उनले बताए । 

भीम अस्पतालमा ल्याइएका बिरामीमध्ये तरकुल्लाहका सनाउल्लह मुसलमानबाट १६ हजार, अदौलीकी इल्ली यादवबाट २२ हजारमा ग्यारेन्टीसहित शल्यक्रिया गरिएको, विष्णुपुराका बेचन साहनीलाई मिर्गौला र पित्तथैलीमा पत्थरी भन्दै ५० हजारमा शल्यक्रिया गरिएको, सजिउद्दिन नाउबाट ३३ हजार, पार्वती लोधबाट ३१ हजार, इन्द्रवती बरइबाट २५ हजार, महिबुद्दिन मुसलमानबाट २४ हजार, सीताराम कहारबाट ५० हजार रुपैयाँ लिँदै शल्यक्रिया गरेको विवरण भीम अस्पतालमा छ । ‘शल्यक्रिया गरिएको भनिएका बिरामी कसैको पनि व्यवस्थित ढंगले गरेको पाइएन,’ भीम अस्पतालका स्त्रीरोग विशेषज्ञ विमल ढकालले भने, ‘कसैको सामान्य छाला खोल्स्याएर बाहिरबाट पट्टी बाँधिएको छ त कसैको बाहिर–बाहिर छाला काटेर टाँका लगाइएको छ ।’

हाल प्रहरी नियन्त्रणमा रहेका जयप्रकाशले आफू भारतको महाराजगन्जको फरेन्दा भन्ने स्थानमा शुक्ला हस्पिटलको सञ्चालक र भारतकै बैंग्लोर एपोलो मेडिकल कलेजबाट एमबीबीएस सर्जन गरेको बताएका छन् । उनले नैना अस्पतालमा कसैको पनि आफूले शल्यक्रिया नगरेको दाबी गरे । ‘मलाई भारत गोरखपुरका सुरज तिवारीले नैना अस्पतामा ल्याएका हुन् र वातावरण नै नभएकाले मैले कसैको पनि शल्यक्रिया गरिनँ,’ उनले भने, ‘अहिले सुरज तिवारी कहाँ छन् ? सम्पर्क छैन ।’ यति धेरै बिरामी ठगिँदा पनि पीडित पक्षले प्रहरीमा जाहेरी नदिएर एक–दुई जनाले मात्रै दिनुलाई प्रहरीले निकै आश्चर्यका रूपमा लिएको छ । ‘हामीले आफू ठगिएको विषयमा जाहेरी दिनेको संख्या धेरै आउला भन्ने ठानेका थियौं,’ डीएसपी पाण्डेले भने, ‘पीडित पक्षलाई पैसाको लेनदेन गरी मिलाएजस्तो लागेको छ ।’ उनले प्राप्त प्रमाण र जाहेरीका आधारमा जयप्रकाशविरुद्ध ठगीमा मुद्दा चलाउने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले उक्त अस्पताल कहीं दर्ता नभएकाले सिल गरिएको र अनुगमनमा पाइएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाइएको बताए । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले पक्राउ परेका शुक्लामाथि कारबाही चलाइने बताए ।

प्रकाशित : चैत्र २५, २०७३ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?