कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरे वनमा तस्करी

अख्तियारको चासोपछि तस्करी नियन्त्रणमा सक्रियता
डिल्लीराम खतिवडा

उदयपुर — अनियमितामा अख्तियारको चासोपछि चुरे जंगल क्षेत्रबाट काठ तस्करी रोक्न कर्मचारीले सक्रियता बढाएका छन् । कर्मचारीकै संलग्नतामा तस्करी भइरहेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातायता छानबिन थालेको हो ।

चुरे वनमा तस्करी

छानबिन सुरु गरेसँगै वन कर्मचारीले तस्करी रोक्न सक्रियता देखाएका छन् । ‘चोरी तस्करी रोक्न लागिपरेका छौं,’ वन अधिकृत श्रीप्रसाद बरालले भने, ‘कर्मचारीको संलग्नतामा तस्करी भन्ने खबरले हामीलाई सचेत गराएको छ ।’ 

सेक्टर वन कार्यालयले चोरी भएको भन्ने क्षेत्रमा निगरानी बढाएको उनले बताए । 
चोरी तस्करी भन्ने समाचारपछि अख्तियारले इलाका प्रहरी कटारीका प्रहरी नायव उपरिक्षक चिञ्जीवी कोइराललाई पत्र लेख्दै छानबिन गर्न भनेको हो । त्यसैगरी वन अधिकृत बरालले पनि कर्मचारी संलग्नता छ, छैन ? छानबिन गरिरहेका छन् । अख्तियारले वनलाई पत्र पठाएर वास्तविकता के भएको हो ? छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनेको छ । त्यसैअनुसार जाँचबुझ भइरहेको बरालले बताए । 

सरकारी निकायको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित भइरहेका बेला राष्ट्रिय वनबाट काठ चोरी तस्करी भइरहेको समाचार आएसँगै अख्तियारले छानबिन अघि बढाएको हो । वन कर्मचारीकै संलग्नतामा काठ तस्करी भइरहेको भन्ने समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो ।

‘तस्करीमा संलग्नताका विषयमा कर्मचारीसँग सोधपुछ भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक कोइरालले भने, ‘मुख्य दोषी भनिएका सेक्टर वन कार्यालय कटारीका प्रमुख उपसचिव नारायण श्रेष्ठसँग पनि बुझ्ने प्रयास भएको छ ।’ चाँडै अख्तियारलाई प्रतिवेदन बुझाइने उनले बताए । 

चुरे क्षेत्रमा पर्ने सिरहासँग सिमाना जोडिएको वन क्षेत्रमा दुई सातायता चोरी तस्करी भइरहेको छ । सेक्टर वन कटारीका प्रमुख नारायण श्रेष्ठको सेटिङमै चोरी तस्करी भइरहेको हो । काठ तस्करसँग प्रमुख श्रेष्ठले सेटिङ मिलाएर तस्करलाई लाइन दिएपछि नियन्त्रणमा समस्या भएको स्वयं वन कर्मचारी नै बताउँदै आएका छन् ।

जिल्लाकै पहिलो सदावहार समुदायिक वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनको तल्लो क्षेत्र (सिरहातर्फ) बाट चोरी तस्करी भइरहेको छ । ‘सेक्टर वन प्रमुख श्रेष्ठका कारण कर्मचारीले सुरक्षामा चासो नदिँदा तस्करी मौलाएको हो,’ एक कर्मचारीले दाबी गरे, ‘प्रमुखले नै तस्करसँग सेटिङ मिलाएपछि तल्लो तहका कर्मचारीलाई सुरक्षा चुनौती थपिएको हो।’ श्रेष्ठको तस्कर समूहसँग उठबसका कारण सुरक्षामा समस्या भएको ती कर्मचारीले बताए ।

चुरे वन कमलादेखि सप्तकोसी नदीसम्म पूर्वपश्चिम भएर फैलिएको छ । चुरेको माथिल्लो क्षेत्र उदयपुरतर्फ मात्रै घना जंगल छ । तर तल सिरहा र सप्तरीतर्फ खासै नहुँदा चोरी तस्करी हुने गरेको हो । तस्करी रोक्नुपर्नेमा सेक्टर वनका प्रमुखले नै सेटिङ मिलाएर लाइन दिएपछि संरक्षणमा चुनौती थपिएको स्थानीयको भनाइ छ ।

प्रकाशित : वैशाख ५, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?