कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित महिला उम्मेदवार अभाव

कान्तिपुर टिम

धनगढी — ‘बिहान एउटा पार्टीका नेता आएर आफ्नो दलबाट चुनाव लड्न आग्रह गरे, दिउँसो अर्को पार्टीकाले,’ नाम सार्वजनिक नगर्न आग्रह गर्दै एक दलित महिलाले भनिन्, ‘मलाई कुनै पार्टीका विषयमा जानकारी नै छैन । वडा सदस्य भएर के गर्नुपर्छ भन्नेसमेत पत्तो छैन ।’

दलित महिला उम्मेदवार अभाव

पछिल्ला दिन दलहरूको यस्तो आग्रह सुन्ने उनी एक्ली होइनन् । सामान्य लेखपढ गर्न जान्ने, गाउँमा अलि बोल्न सक्ने र क्याम्पस(विद्यालय तहमा अध्ययन गरिरहेका दलित युवती सबैलाई दलका नेताले चुनाव लड्न आग्रह गर्दै आएका छन् । संविधानले स्थानीय तहमा दलित महिलाको सहभागिता निश्चित गरेपछि उम्मेदवारीका लागि यस्ता महिलाको खोजीमा दल जुटिरहेका छन् । तर, पाउनै धौधौ छ । ‘मेरै घरमा तीनपटक कुन कुन पार्टीका नेता आइसके,’ गोदावरी नगरपालिका तेघरीका वीरबहादुर विकले भने, ‘छोरी भर्खर क्याम्पस पढै छे, २१ वर्षकी भई तर चुनाव लड भनेर नेताहरूले हैरान पारिसके ।’

ठूला दल कांग्रेस, एमाले, माओवादी र राप्रपाले नै वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन् । संगठन कमजोर भएका साना दल अधिकांशले यो प्रावधानअनुसार दलित महिला उम्मेदवार पाउन मुस्किल भएको बताएका छन् । ‘एउटै दलित महिलाको घरमा उम्मेदवार बनाउन तीनवटै पार्टीका नेता पुग्यौं,’ कांग्रेस कैलालीका उपसभापति प्रकाश वमले भने, ‘मैले त इष्टमित्रबाट समेत दबाब दिन लगाएँ । उम्मेदवार खोज्न निकै समस्या परेको छ । योग्य र उम्मेदवार हुन चाहने दलित महिला गाउँमा छँदैछैनन् ।’

एमाले नेत्री कमला जोशी पनि दलित महिला पाउन समस्या परेको स्वीकार गर्छिन् । उनले भनिन्, ‘लाजमर्दो स्थिति देखिएको छ, लामो इतिहास बोकेका पार्टीहरूले वडामा दलित महिला उम्मेदवार नपाउनु ठूलो असफलता हो ।’

माओवादी केन्द्रलाई पनि दलित महिला उम्मेदवार पाउन निकै सकस भएको छ । माओवादी कैलालीका इन्चार्ज उत्सव भन्छन्, ‘हामीसँग उम्मेदवार हुने दलित महिला केही बढी भए पनि धेरै ठाउँमा समस्या छ ।’ पार्टीको संरचना बनाउँदा दलहरूले हुनेखाने र जान्नेसुन्नेलाई मात्रै मौका दिएकाले अहिले यस्तो अवस्था आइलागेको दलित महिला अधिकार मञ्च कैलालीकी कार्यक्रम निर्देशक सावित्रा घिमिरेले बताइन् ।

चर्चामै सीमित
तनहुँ– जिल्लाका ४ नगर र ६ गाउँपालिकामध्ये भानु नगरपालिकामा कांग्रेस र एमालेका महिलाले प्रमुखमा दाबी गरेका छन् । अन्यमा भने अधिकांशले उपप्रमुख र वडा तहमा मात्र आकांक्षा देखाएको दलका जिल्ला नेताले बताए ।

सदरमुकामको व्यास नगरमा प्रमुख पदमा दावा गर्ने ठानिएका महिला संघकी जिल्ला अध्यक्ष पवित्रा पौडेल र अनेमसंघकी अध्यक्ष मनुमाया श्रेष्ठले उपप्रमुखमा दावा गरेका छन् । कांग्रेसकी सदस्य उर्मिला थापाले प्रमुखमा दावा गरेकी छन् । पार्टी सभापतिदेखि सदस्यसम्मका पुरुषले पनि प्रमुखमै दावा गरेका छन् । भानुमा भने कांग्रेसका बालकुमारी लोहनी र चिनु पोखरेलले प्रमुखमा दावा गरेका छन् । एमालेकी जिल्ला सचिव भगवती न्यौपानेले पनि प्रमुखमा दावा गरिन् । दलहरूले एउटा पदमा ३ जनादेखि ५ जनासम्मको आकांक्षीको नाम संकलन गरिरहेका छन् । ती नामबाटै अन्तिम उम्मेदवारी आउने कांग्रेस सभापति वैकुण्ठ न्यौपानेले बताए ।

‘निर्वाचनमा नेतृत्व लिनुपर्छ भन्दै हौस्याउनेले नै दावा नगरेपछि धेरैले वडा सदस्यमा मात्र जाने देखिएको छ,’ स्थानीय अञ्जना न्यौपानेले भनिन्, ‘प्रमुख पद सम्हाल्न सक्ने गरी नेतृत्व विकास अझै नभएको देखियो ।’

दरैको प्रतिनिधित्व माग
यसैबीच नगरका वडा अध्यक्ष र सदस्य पदमा दरै जातिको उम्मेदवारी सुरक्षित गर्नुपर्ने माग गर्दै क्रियाशील दरैहरूले कांग्रेस जिल्ला सभापति न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् । व्यास नगरमा यसअघिका दुईवटै निर्वाचनमा कांग्रेसले जितेकाले उसैलाई ज्ञापन बुझाएका हुन् । ‘राजनीतिक योगदानको मूल्यांकन र दरैको प्रतिनिधित्व होस् भनेर ज्ञापन बुझायौं,’ कांग्रेस जिल्ला सदस्य खरसिंह दरैले भने, ‘जातिको बाहुल्य भएका वडामा दरैको अनिवार्य प्रतिनिधित्व गरिनुपर्छ ।’

महिलालाई बेवास्ता
बाँके– कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तहको प्रमुखको उम्मेदवार छनोटमा नाम प्रस्ताव नगर्दा महिलाहरू राजनीतिक अवसरबाट वञ्चित भएका छन् । कोहलपुर नगरपालिकाको प्रमुखका लागि एमालेले वसन्ती अधिकारीको नाम प्रस्ताव गरेको छ । तर, पाका नेता लुटबहादुर रावतलगायतको नाम पनि प्रस्ताव गरिएकाले अधिकारी आफू उम्मेदवार छानिनेमा ढुक्क छैनन् । त्यसबाहेक सबै स्थानीय निकायको प्रमुख पदको उम्मेदवारमा महिला अटेका छैनन् ।

कांग्रेसले उम्मेदवारी छनोटको तयारी गरिरहँदा महिलाको चर्चा छैन । नेत्री उमा थापामगरले नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखमा दाबी गरेकी छन् । ‘स्थानीय तहको प्रमुख पदका लागि योग्य महिला नभएका होइनन् । दु:खको कुरा हो, स्थानीय तहको प्रमुखमा एक जना महिलाको नाम प्रस्तावमा परेको छैन,’ उनले भनिन्, ‘महिलालाई फेरि पनि उपप्रमुखमा सीमित गर्ने काम भइरहेको छ ।’ एमालेले खजुरा गाउँपालिकाको उपप्रमुखमा एकमाया विक, बैजनाथ गाउँपालिकाको उपप्रमुखमा शारदा विकको नाम प्रस्ताव गरेको छ । उपमहानगरमा शान्ति ढकालको नाम प्रस्ताव छ । अन्य गाउँपालिकामा महिलालाई प्रमुख पदमा प्रस्ताव गरिएको छैनन् । ‘उम्मेदवारी छनोटमै महिला प्राथमिकतामा परेनन् । समावेशी भन्ने तर व्यवहारमा कार्यान्वयन भएन,’ एमाले बाँकेकी नेत्री एकमाया विकले भनिन्, ‘राजनीतिक सहभागितामा महिलाहरू जहिले पनि ओझेलमा परिरहेका छन् ।’ माओवादी केन्द्रले पनि ८ वटै स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवारको नाम प्रस्ताव गरेको छैन ।

दाङमा पनि उस्तै
दाङ– केही प्रमुख पदमा महिला सिफारिस भए पनि अधिकांशले उपप्रमुखमा नै चित्त बुझाउनुपर्ने बाध्यता आएको छ । प्रमुख पद नपाइने आशंकामा केहीले सुरुमै उपप्रमुख पदमा दाबी गरिरहेका छन् । घोराही उपमहानगरपालिकाको प्रमुखमा एमालेले सीता न्यौपाने तथा उपप्रमुखमा हुमा डीसी, शोभा शाह र हीरा पुनको नाम सिफारिस गरेको नगर कमिटी सचिव सुदन केसीले बताए । तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा एमालेबाट माया आचार्य, रेखा आचार्य विक, भगवती शर्मा र तारा देवकोटा सिफारिस भएका छन् । बबई गाउँपालिका प्रमुखमा सावित्रा विश्वकर्मा र दंगीशरणमा सीमा न्यौपानेको नाम सिफारिस भएको छ ।

कांग्रेस र माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरेका छैनन् । वडा तहबाट नाम आउने क्रम जारी रहेको र नगर तथा गाउँपालिका तहबाट अझै उम्मेदवार छनोट नभएको कांग्रेस जिल्ला सचिव शंकर डाँगीले बताए । ‘१८ भन्दा बढी वडाबाट प्रमुख पदमै महिलाको नाम आएको छ । अन्य धेरैजसोमा उपप्रमुखमा नाम आएको छ,’ उनले भने । केही स्थानीय तहमा महिलालाई प्रमुख पदमा ल्याउने गरी योजना बनाइरहेको माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज निर्मल आचार्यले बताए ।

छायामा महिला
डडेलधुरा– नगर र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलगायत पदमा पुरुष नै बढी चर्चामा छन् । ‘महिलाले प्रमुख र वडाध्यक्ष पदमा गरेको दाबी छायामा पारिएको छ,’ स्थानीय जीवन बिष्टले भने, ‘महिलालाई कोटा छुट्याएर सिट तोकेजस्तो भान पारिएको छ ।’ जहाँ पनि महिला उम्मेदवार उपप्रमुख पदका लागि मात्रै भनेजस्तो भएको उनले बताए । अमरगढी नगरपालिकाको मेयर पदका लागि पदमा गुरुङ, नारूदेवी ओझालगायत दाबेदार हुन् तर उनीहरूको नाम उपमेयर पदमा चर्चामा ल्याइएको छ । एमाले र माओवादी केन्द्रमा पनि महिलालाई उपमेयर पदमै सीमित गर्न खोजिएको छ ।

वडाभरि महिला उम्मेदवार
गुलरिया– एमाले बर्दियाले गुलरिया–६ मा सबै पदका लागि महिला उम्मेदवारको नाम सार्वजनिक गरेको छ । वडा अध्यक्षमा पवन क्षत्रीसहित सदस्यमा माधुरी थापा, राधिका पौडेल, महिसरा परियार र पार्वती विष्ट उम्मेदवार छानिएका छन् । नगर प्रमुखमा हरिप्रसाद ज्ञवाली उम्मेदवार बन्ने निश्चित भएको छ । उक्त पदका लागि ज्ञवालीसहित अमरबहादुर खडा र शोभा ज्ञवालीको नाम सिफारिस भएको थियो । उपमेयरका लागि टीका सम्सेरी मगर, लोकबहादुर वली र लक्ष्मी गौतमको नाम सिफारिस भएको छ । कांग्रेस, माओवादी केन्द्र, राप्रपा पनि शुक्रबारसम्म सबै पदमा उम्मेदवार तय गर्ने तयारीमा छन् ।

प्रकाशित : वैशाख ८, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?