कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो तथ्यांकमा संख्या कम

विमल खतिवडा

चितवन — केन्द्रीय तथ्यांक विभागको टोलीले पछिल्लोचोटि गरेको लगत संकलनमा भूकम्प पीडितको संख्या विगतमा भन्दा घटेको छ । इन्जिनियर टोली घरैपिच्छे पुगेर छानबिन गरेपछि वास्तविक पीडितको संख्या विगतमा दाबी गरिएभन्दा झन्डै आधा कम पाइएको हो ।

सुरुमा पीडितको संख्या १५ हजार ७ सय ४९ अंकित गरिएकामा पछि राहतको लोभमा जिल्ला समन्वय समितिमा त्यसभन्दा बढी निवेदन परेका थिए । त्यति बेला संख्या बढेर १८ हजार ७ सय ५२ पुग्यो । 

तत्कालीन गाविस सचिवले पठाएको तथ्यांकलाई आधार मान्दै जिल्ला समन्वय समिति (जिसस) ले केन्द्रमा पीडितको संख्या पठायो । पछि विभागबाट आएको इन्जिनियरको टोलीले त्यहींबाट फोटोसहित पीडितको विवरण केन्द्रमा पठाए । ‘साबिकका ३ गाविसको तथ्यांक आएको छ,’ जिससका सूचना अधिकारी बलराम लुइँटेलले भने, ‘पीडितको संख्या भने आधा घटेको छ ।’ उनका अनुसार साबिकका गाविस लोथर, सिद्धि र दारेचोकको तथ्यांक आइसकेको छ । जहाँ अनुदान सम्झौताको काम सुरु भएको छ । लुइँटेलका अनुसार पहिला दारेचोकमा भूकम्पपीडितको संख्या १७ सय १३ थियो । अहिले इन्जिनियरको टोली गाउँमा पुगेर लगत संकलन गरेपछि ११ सय १५ मा झरेको छ । त्यस्तै लोथरमा पहिला ५६४ थियो भने अहिले घटेर ४४० मा झरेको छ । सिद्धिमा पहिला ५९४ पीडितको संख्या राहतका लागि भन्दै केन्द्रमा पठाइएको थियो । अहिले २९४ घरधुरीले मात्र राहत रकम पाउने भएका छन् । ‘सुरुमा राहत पाउने आसले सबैले निवेदन दिए,’ लुइँटेलले भने, ‘घरमै गएर वास्तविकता छानबिन गरेपछि संख्या घटेको हो ।’ 

साबिकका ३ गाविसका लागि ९ करोड ३० लाख रुपैयाँ जिससमा आएको छ । उक्त रकम वडा सचिव र पीडितबीच सम्झौता गरी बैंकमा खाता खोलेर उपलब्ध गराइनेछ । पीडितले पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र अन्तिम किस्ताका रूपमा १ लाख पाउनेछन् । अन्य ठाउँको तथ्यांक आइसकेको छैन । वैशाख १० गतेसम्म सबै ठाउँको आउने र अनुदान सम्झौता हुने लुइँटेलले बताए । ‘जानकारी पाएअनुसार अब आउने तथ्यांक अझै घट्नेछ,’ उनले भने, ‘११ हजारको हाराहारीमा तथ्यांक झर्ने बुझिएको छ ।’ सामान्य क्षति भएकाले भने मर्मत सम्भारका लागि भनेर १ लाख रुपैयाँ पाउनेछन् । ५२/५२ इन्जिनियर र सामाजिक परिचालकले माघ १ देखि चैत २० सम्म गाउँ र नगरपालिकामा पुगेर पीडितको वास्तविक तथ्यांक संकलन गरेका थिए । 

प्रकाशित : वैशाख ८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?