कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मलाई मार्न आँटे, उद्धार गर्दिनुस्’

ओमनबाट विलाप
अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिकाको हिमाली गाउँ गोल्चे–५ की एक चेलीले ओमनको ‘यातनाघर’ बाट उद्धारका लागि गुहार लगाएकी छन् । ओमनको ९६८९२४६४६११ नम्बरको फोनबाट २४ वर्षीया साङ्मो लामाले परिवारलाई आफ्नो ज्यान खतरामा परेको भन्दै तत्काल उद्धार गर्न विलाप गरेकी हुन् । साङ्मोलाई संयुक्त राज्य इमिरेट्सको दुबईबाट ‘दलाल’ ले दुबई लाने भन्दै ओमन पुर्‍याएका थिए ।

गत कात्तिक १५ मा वैदेशिक रोजगारीको सिलसिलामा साङ्मो दुबईमा घरायसी कामका लागि गएकी थिइन् । मेलम्ची नगरपालिका घर बताउने एक दलालले उनलाई दुबईको सट्टामा सीधै ओमन पुर्‍याएर छाडिदिएका थिए । दुबई नै सोचेर ओमनमा एक महिनासम्म खटिरहेकी उनले घरायसी कामको सट्टा दुव्र्यवहार खेप्नुपरेपछि आफू फसेको थाहा पाइन् । आफूले गरेको काम चित्त नबुझेपछि उनले त्यहाँबाट नेपाल फिर्न चाहेकी थिइन् ।

एक महिनादेखि घरमा सफाइको काम गरिरहेकी उनलाई नेपाल फिर्ता जान्छु भन्दा जान दिइएन । तीन महिनासम्म थुनेर यातना दिइएको दाजु सुब्बा लामाले बताए । अहिले उनी ओमनको एक घरमा बन्दीजस्तै अवस्थामा यातना भोगिरहेकी छन् । मालिकले भनेको नमान्दा उनले दिनहुँ धेरै पटक पिटाइ खानुपरेको छ । उनको जिउमा कोर्रासमेत हान्ने गरेको दाजु सुब्बाले जनाए ।

२४ वर्षीया साङ्मो विकट गाउँकी साधारण लेखपढ युवती हुन् । तीन वर्ष मलेसिया बसेर आएकी लामा धन कमाउने लोभमा दलालको फन्दामा परेकी हुन् । ‘कात्तिकमा बिदेसिएकी बहिनीको फोन आउला भनेर कुरेर बस्दाबस्दै ६ महिना बित्यो,’ दाजुले भने । बहिनी कहाँ र कस्तो अवस्थामा छिन् भन्ने पत्ता नलागेको उनले सुनाए । परिवारले सामी परियोजनाद्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रलाई तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेको कार्यक्रमकी संयोजक रिना श्रेष्ठले बताइन् ।

प्रकाशित : वैशाख ८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?