कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीमा साढे २६ लाखको क्षति

पीडितलाई खाद्यान्न सहयोग

बाँके — डुडवा गाउँपालिका १ छिटैपुरुवा पाजागाउँमा भएको आगलागी घटनामा साढे २६ लाख बराबरको क्षति भएको छ । गहुँ लगायतका हिउँदे बाली जलेपछि सर्वसाधारणको पसिना खेर गएको छ ।

उनीहरू हिउँदे बाली बिक्री गर्ने तयारीमा थिए । तर, आगोले जलेर खरानी भएको छ । शुक्रबार भएको आगलागीपछि उनीहरूलाई छिमेकी गाउँका स्थानीयले खाना दिएर सयहोग गरेका थिए ।
रेडक्रसले अग्निपीडित परिवारलाई शनिबार बिहान त्रिपाल, लत्ताकपडा र भाँडाकुँडा सहयोग गरेपछि भने उनीहरूले राहत महसुस गरेका छन् । चामल, चिनी, चिउरालगायतका खाद्यान्न सामग्री पाएपछि उनीहरूलाई केही राहत भएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघले पीडित परिवारलाई १० किलो चामल, एक/एक किलो दाल, चिउरा र नुन, तेल आधा लिटर सहयोग गरेको छ । उक्त सहयोगले अग्निपीडितलाई केही दिनका लागि खानाको जोहो टरेको छ । आगोले घरसँगै खाद्यान्न जलेर नष्ट भएपछि पीडितहरू भोकभोकै पर्न सक्ने भन्दै तत्कालका लागि खाद्यान्न उपलब्ध गराइएको हो ।

खडैचा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कुमार शाहीले पीडित परिवार त्रिपालमा बसेको बताए । ‘घर जलेपछि उहाँहरू एक रात छिमेकीकहाँ बसे । कोही रूखमुनि बस्नु भो,’ उनले भने, ‘पाल पाएपछि त्यहीं बस्नुभएको छ । तत्कालका लागि बस्न र खानाको समस्या टरेको छ ।’ दैवी प्रकोप तथा उद्धार समितिले नगद राहत वितरणका लागि तयारी गरिरहेको छ । आइतबार उक्त रकम उपलब्ध गराउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद पौडेलले बताए । शुक्रबार दिउँसो भएको आगलागीमा परी ६० घरगोठ जलेर नष्ट भएका छन् । गाउँ उजाड बनेको छ । पीडितहरू पालमा बस्न बाध्य छन् ।

हावाहुरीका कारण फुसको घरमा भएको आगलागी गाउँभरि फैलिएको थियो । दमकल बाटोमै फसेका कारण आगो नियन्त्रमा ढिलाइ भएको हो । आगलागीले गाउँ खरानी भएको छ । गर्मी सुरु भएयता बाँकेमा दैनिक आगलागीका घटना हुने गरेका छन् । दैनिक लाखौंको क्षति भइरहेको छ ।

प्रकाशित : वैशाख १७, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?