कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलभित्रकै रस्साकस्सीले उमेदवार छनौटमा ढिलाई

आश गुरुङ

लमजुङ — उमेदवारी दिने दिन नजिकिँदै गए पनि यहाँका राजनीतिक दलले स्थानीय तह चुनावका लागि उम्मेदवार छनौट गर्न सकेका छैनन् । उम्मेदवार छनौट गर्न राजनीतिक दलभित्रै रस्साकस्सी चलेको छ । राजनीतिक दलभित्रको मदभेद र धेरैजना आकांक्षीका कारण उमेदवार छनौटमा ढिलाई भएको छ ।

उमेदवारी दिने दिन नजिकिँदै गए पनि यहाँका राजनीतिक दलले स्थानीय तह चुनावका लागि उम्मेदवार छनौट गर्न सकेका छैनन् । उम्मेदवार छनौट गर्न राजनीतिक दलभित्रै रस्साकस्सी चलेको छ ।

राजनीतिक दलभित्रको मदभेद र धेरैजना आकांक्षीका कारण उमेदवार छनौटमा ढिलाई भएको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भए पनि यी दुवै दलले उमेदवार टुंग्याउन सकेका छैनन् । एमालेबाट राइनास नगरपालिकाको मेयरमा सिंहबहादुर थापा र क्व्होलासोंथर गाउँपालिकाको प्रमुखमा प्रेम घले उमेदवार बन्ने निश्चित भएको स्रोतले बतायो । यी दुईबाहेक बेंसीसहर र सुन्दरबजार नगरपालिका साथै मर्स्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उमेदवारको टुंगो लागेको छैन । माओवादी केन्द्रसँगको तालमेलपछि उप्रमुख पद पाएको दोर्दी, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा पनि उमेदवारको टुंगो लागेको छैन । प्रमुख र उपप्रमुख पदको उमेदवार प्रदेश समितिले छान्दै गरेको जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बताए ।

कांग्रेसले पनि उमेदवारको टुंगो लगाउन सकेको छैन । कांग्रेस सचिव हरि बरालका अनुसार बेंसीसहर नगरपालिकाको मेयरमा पार्टी सभापति भेषबहादुर पौडेललाई अघि बढाएको छ । क्षेत्रीय समितिको बैठकमा उनको नाम प्रस्तावमा नआएको भन्दै विवाद बढेको कांग्रेस स्रोतले बतायो । क्षेत्रीय समितिबाट सिफारिस भएकाले क्षेत्र नं. २ का सभापति बृषराज गुरुङले आफैं उठ्ने दाबी गरेको स्रोतले बतायो । सुन्दरबजार नगरपालिकामा बद्रीमान श्रेष्ठ, मध्यनेपाल नगरपालिकामा रमेश पाण्डे, राइनास नगरपालिकामा डीकेन्द्रराज कँडेललाई मेयरको उम्मेदवार बनाउने प्रस्ताव अघि बढेको कांग्रेस स्रोतले बताएको छ । स्रोतका अनुसार शेरबहादुर देउवा पक्षले प्रस्तावित नाममा असहमति जनाएपछि निर्णय हुन सकेको छैन । देउवा पक्षले सुन्दरबजारमा द्धारिका मिश्र, मध्यनेपालमा पूर्णचन्द्र पोख्रेल र बेंसीसहर नगरपालिकामा कृष्णबहादुर अधिकारी वा जीवन श्रेष्ठ भएमा अन्यमा सहमति मान्ने संकेत दिएको छ ।

मध्यनेपालमा सांसद् दिलबहादुर घर्तीले पाण्डे र सुन्दरबजारमा सांसद् चन्द्रबहादुर कुँवरले श्रेष्ठलाई उम्मेदवार बनाउन खोजेको कांग्रेस कार्यकर्ता बताउँछन् । यी दुई सांसद्ले अडान लिँदा देउवा पक्षले पनि आफूले भनेको उम्मेदवार हुनुपर्ने माग तेर्स्याएका छन् । कांग्रेसले मर्स्याङ्दी गाउँपालिकामा नरबहादुर गुरुङ, क्व्होलासोंथरमा रघुनाथ गुरुङ, दोर्दीमा विच्छबहादुर घले र दूधपोखरीमा छुपीमाया गुरुङलाई प्रमुख पदमा उमेदवार बनाउने पक्कापक्की गरेको छ । यद्यपि सार्वजनिक गरेको छैन । निर्णयमा कुनै फेरबदल नभएमा उनीहरु उमेदवार बन्नेछन् ।

एमालेसँग तालमेल गरेर ८ तहमध्ये ३ तहमा प्रमुख र ३ तहमा उपप्रमुख पद पाएको माओवादी केन्द्रले पनि उमेदवारको टुंगो लगाउन सकेको छैन । सम्भावित उमेदवारको नामावली प्रदेश कमिटीमा पठाइएको माओवादी केन्द्रले जनाएको छ । एमालेसँगको तालमेलमा माओवादीले मध्यनेपाल नगरपालिकामा मेयर, दोर्दी र दूधपोखरी गाउँपालिकामा अध्यक्ष पद पाएको छ । सुन्दरबजार र राइनास नगरपालिकामा उपमेयर साथै मर्स्याङ्दी गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उमेदवारको टुंगो लगाउन सकेको छैन । केन्द्रीय सर्कुरल एमालेसँग तालमेल गर्ने रहे पनि जिल्लामा एमाले माओवादीको तालमेल भएपछि राप्रपा अन्योलमा परेको छ । नयाँ शक्ति नेपालले दूधपोखरी गाउँपालिकामा रेखी गुरुङलाई अध्यक्ष पदमा उठाउने भएको छ । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयमा ११ दल दर्तामा छन् । दर्ता भएकामध्ये नेपाल लोकतान्त्रिक फोरम र नेकपा (माले जनसमाजवादी)बीच तालमेल गरेर उमेदवारको टुंगो लगाउने भएका छन् । अन्य दलहरु राष्ट्रिय जनमोर्चा, नेकपा (माले), राष्ट्रिय शिवसेना पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेसन, देशभक्त समाज पार्टीको कुनै चहलपहल देखिएको छैन ।

प्रकाशित : वैशाख १७, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?