कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ यौन समस्या खुलाउँदैनन्

मेनुका ढुंगाना

अछाम — सामान्यतया महिलाको विवाह गर्ने उमेर २० वर्ष कटेपछि मात्रै हो भन्ने भनाइ छ । यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रूपमा सक्षम हुन्छन् । तर, मंगलसैनकी २१ वर्षीया धनसरा विकलाई यो उमेरमा विवाह गरी बालबच्चा जन्माउनेमात्रै होइन पाठेघरसमेत फाल्नुपर्ने बाध्यता आइलाग्यो । कारण, उनको पाठेघर खसेर अन्तिम अवस्थामा पुगेको छ ।

१५ वर्षको उमेरमै विवाह भएकी धनसरा (नाम परिवर्तन) ले ३ सन्तान जन्माइसकेकी छन् । सबै सन्तान जन्मिँदा गाउँकै सुडेनीको सहायताले सुत्केरी गराएको उनले बताइन् । पहिलो सन्तान जन्मनेबित्तिकै पाठेघर केही तल खसेको उनले महसुस गरेकी थिइन् । उतिबेला आफ्नो समस्याबारे कसैलाई भन्न सकिनन् । दोस्रो र तेस्रो सन्तान जन्माउँदासम्म उनको पाठेघर पूरै बाहिर आइसकेको थियो । बिस्तारै हिँड्डुल गर्नै नसक्ने भइन् । रोगले साह्रै भएपछि जिल्ला अस्पतालमा जचाउँदा चिकित्सकले उनलाई शल्यक्रिया गर्न सुझाए । श्रीमान् आएपछि मात्रै उपचार गर्ने डाक्टरलाई बताउँदै उनी बिनाउपचार घर फर्किइन् ।

‘के कारणले यस्तो भयो भनेर मनमनै धेरै सोचे तर केही भेउ पाइन, डाक्टरलाई सोद्धा पोषिलो खानेकुरा र आरामको अभावले पाठेघर खसेको भने,’ धनसराले भनिन्, ‘घर, मेलापातको सबै काम गर्नै पर्‍यो, सुत्केरी भनेर आराम त पाइन्न, कहाँबाट पोषिलो खान पाउनु ।’

पोषिला खानेकुरा अभाव र शारीरिक कमजोरीले उनीजस्ता विवाहित र बच्चा जन्माएका आमासँगै अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ । मेल्लेख गाउँपालिकाकी जमुना साउद (नाम परिवर्तन) यस्तै रोगीमध्येकी एक हुन् । भर्खर १८ वर्ष टेकेकी जमुनाको पनि पाठेघर खसेर जटिल अवस्थामा पुगेको छ । अविवाहित साउदको १६ वर्षकै उमेरमा पाठेघर खसेको हो ।

किशोरीको पाठेघर खसेको थाहा पाएपछि उनको परिवारसमेत आश्चर्यमा परे ।जमुना केही समयअघि अछाम जिल्ला अस्तालमा सञ्चालित शिविरमा शल्यक्रिया गर्ने भन्दै पुगेकी थिइन् । तर, शिविरमा विवाहितको मात्रै शल्यक्रिया हुने भन्दै चिकित्सकले उनलाई कोहलपुर मेडिकल कलेज पठाइदिए ।

कलेजका मेडिकल अधिकृत डा. प्रभात रिमाल वंशाणुगत गुण, मांशपेसी कमजोर हुनु, पोषिलो खानेकुरा नपाउनु, सानै उमेरमा बढी तौलका भारी बोक्नुलगायत कारणले किशोरीमा पनि पाठेघर खस्ने समस्या हुने बताउँछन् । ‘हुन त किशोरी अवस्थामा नै पाठेघर खस्ने सम्भावना धेरै कम हुन्छ,’ उनले भने, ‘बरु, यस्ता कमजोर शारीरिक अवस्थाका किशोरी आमा हुँदा छिटै पाठेघर खस्ने समस्याबाट पीडित हुन सक्छन् ।’ जमुनालाई कोहलपुर जान डा. प्रभातले नै सुझाएका थिए ।

विशेषगरी धेरै बच्चा जन्माउँदा, कम उमेरमै गर्भवती हुँदा, जन्मान्तर कम राख्दा र गर्भवती अवस्थामा पोषिलो खानेकुरा र आराम अभावले विभिन्न कारणले प्राय: विवाहित महिलामा अत्यधिक देखिने भए पनि अविवाहितमा समेत हुन सक्ने जिल्ला स्वास्थ्यका प्रमुख डा. शरद बरालले बताए । यौनसम्बन्धी यस्ता समस्या लुकाउने प्रवृत्ति व्यापक रहेकाले अविवाहित महिलालाई खुलेर आउन निकै मुश्किल देखिन्छ ।

हालैमात्र दैलेखमा २६ वर्षीया अविवाहितमा पाठेघर खसेको भेटिएको जानकारी दिँदै मेडिकल कलेजका कार्यक्रम संयोजक रामबहादुर मल्लले भने, ‘लाजका कारण र समाजले अनेक लाञ्छना लगाउने आशंकाले अविवाहितमा समस्या देखिए पनि खुलेर आउन चाहँदैनन् ।’ उनका अनुसार सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा पाठेघर शल्यक्रियाको शिविर सञ्चालन गर्दा ६/७ अविवाहितमा पाठेघर खसेको भेटिएको थियो ।

यस्तै मंगलसैन नगरपालिका ८ की ६३ वर्षकी नामसरा (नाम परिवर्तन) ले पाठेघर खसेको २८ वर्षपछि आफ्नो समस्या देखाइन् । उनका लगातार ८ छोरीपछि ३ छोरा जन्मिए ।

२ बच्चा गर्भमै खेर गए । कमजोर आर्थिक अवस्था र कामकाजका कारण पाठेघर खसेको थाहा पाएर पनि उनले कसैलाई भनिनन् । अघिल्लो वर्ष जिल्ला अस्पतालले गरेको शिविरमा आफ्नो समस्या खुलाएर शल्यक्रिया गराइन् ।

चिकित्सकको बुझाइमा पाठेघर खसेका महिलाको संख्या ४० वर्षमाथिका धेरै देखिनुले लामो समयसम्म समस्या लुकाएर बस्नु नै हो । यसैले, अधिकांश गाउँमा ४० वर्ष उमेर काटेका महिलामा यो समस्या देखिए पनि खोज्दै जाँदा ३० वर्ष नकाटेकामा समेत भेटिन्छ । स्वास्थ्यको तथ्यांकअनुसार चालू वर्षमा पाठेघर खसेर शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका ३० वर्षमुनिका ६ महिला भेटिएका छन् ।
कतिपय गाउँमा देवीदेउता रिसाएका कारण पाठेघर खसेको भन्ने गलत मान्यता अझै व्याप्त छ । धेरै महिलाले समाज र परिवारलाई लुकाएर बस्ने गरेको अनमी सुशीला ढुंगानाले बताइन् । ‘कम उमेरमै पाठेघर खसे पनि समस्या लुकाएर बस्दा ढिलोमात्र थाहा हुन्छ,’ उनले भनिन्, ‘पछिल्लो समय समाजमा यसबारे चेतना बढदै गएपछि महिला पनि खुल्न त थालेका छन तर अझै पनि धेरै अरूले थाहा पाउने डरले कसैलाई भन्दैनन् ।’

प्रकाशित : असार ३, २०७४ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?