कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदभार ग्रहणसँगै नयाँ निर्णय

रुकुम — सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले पदभार ग्रहणकै दिन ५ वटा निर्णय पुस्तिकामा सही गरिन् । प्रशासन सुधार, वर्ष दिनभित्रै सबैको घरमा खानेपानी पुर्‍याउने, गाउँपालिकाका सबै ठाउँमा सञ्चार पहुँचका लागि सिस्ने, प्वाङ र खोपिचारमा टावर निर्माण गर्ने निर्णय गरिन् ।

पदभार ग्रहणसँगै नयाँ निर्णय

सँगै, कृषि पकेट क्षेत्र घोषणा र सिस्ने गाउँपालिकामा काम गर्न आउने सम्पूर्ण स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई एकद्वार प्रणालीबाट मात्रै काम गर्ने अनुमति प्रदान गर्ने प्रतिबद्धता जनाएकी छन् । 

तत्काल काम गर्नुपर्ने विषयमा पदभार ग्रहणसँगै निर्णय भएको बरालले बताइन् । ‘गाउँपालिकामा यीभन्दा बढी माग र आवश्यकता छन् तर पहिलो प्राथमिकतामा यिनै काम थाल्ने योजना बन्यो,’ उनले भनिन् । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले पनि पहिलो बैठकमा विभिन्न १० निर्णय गराएका छन् । जनताको माग र आवश्यकताअनुसार पहिलो बैठकबाट निर्णय भएको अध्यक्ष बुढाले बताए । उनका अनुसार छुटेका गर्नैपर्ने अन्य निर्णय गाउँ कार्यपालिकाबाट गरिनेछ । साता दिनभित्रै ९ वटै वडामा कार्यालय स्थापना, सहिद परिवार, घाइते, अपांग, ज्येष्ठ नागरिक, एकल महिला र दीर्घ रोगीलाई प्रमाणपत्रका आधारमा गाउँपालिकाले दिइने सबै सेवा नि:शुल्क गरिने निर्णय गराए । त्यस्तै, विपद् प्रतिकार्य योजना निर्माण र कार्यान्वयनका लागि वर्षमा सबै कर्मचारी तथा जनप्रतिनिधिले २ दिनको पारिश्रमक कट्टा गरी कोषमा जम्मा गर्ने, गाउँपालिका सबै ठाउँमा सञ्चार पहुँच र इन्टरनेट विस्तारका लागि सम्बन्धित ठाउँमा पहल गर्ने निर्णय भएको छ । गाउँपालिकामा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको विवरण माग्ने, गाउँलाई स्वच्छ, सफा र हरियाली बनाउन सरसफाइ कार्ययोजना बनाउनेलगायत निर्णयमा अध्यक्षले सही गरेको कार्यकारी अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए ।

दोस्रो चरणमा निर्वाचन भएको पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष उपाध्यक्षले भने अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् । 

अध्यक्ष ओमप्रकाश घर्ती बिरामी परेकाले ढिलाइ भएको हो । निर्वाचित भएलगत्तै बिरामी परेका घर्ती उपचारका लागि काठमाडौं गएका छन् । ६४ वर्षीय घर्ती रक्तचापका बिरामी हुन् । असार १७ गते सपथग्रहणलगत्तै उनी उपचारार्थ राजधानी हिँडेका थिए । 

प्रकाशित : असार ३१, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?