कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खडेरीले मकै सुके

रामेछाप — गाउँनजिकैबाट बग्ने तामाकोसी नदीमा भेल उर्लंदो छ । नदीकिनारका खेत डुबानमा परेका छन् । नदीभन्दा थोरै माथि भने खडेरीको धाप छ । वन बुटयान सुक्न थालेका छन् । हजारौं खर्चेर छरेका मकैसमेत बारीमै सुकेका छन् ।

खडेरीले मकै सुके

‘असारको खडेरी यति लामो परेको यो पहिलो होला,’ मन्थली–२ का चोकबहादुर खड्काले भने । उनका अनुसार बारीमै मकै सुकेपछि किसान उखेल्न थालेका छन् । सुकेर डढ्नुभन्दा केही दिन भए पनि वस्तुलाई घाँस हुन्छ भनेर बारीको मकै उखेल्न थालेका हुन् । दक्षिणी रामेछापका सुनारपानी, मन्थली, भटौली, पकरवास, भलुवाजोर र कठजोरको ठूलीमदौ क्षेत्रमा खडेरीको असर धेरै छ । झन्डै एक महिनादेखि उक्त क्षेत्रमा पानी परेको छैन । भीरपानी, मझुवा, खनियापानी, गागल, माकादुम, राकाथुममा पनि खडेरीको असर छ । जिल्लाका उच्च पहाडी भेगमा भने वर्षा भइरहेको छ । आकाशमा बादल मडारिएको धेरै भयो तर अझै मनसुनले मन्थली देखेको छैन । वरिपरिका डाँडामा पानी परेको छैन । वर्षाको पानीका भरमा एक बाली लगाएर परिवार पाल्नेहरू चिन्तामा छन् । सालुका बासिन्दाले ‘देउता रिसाएको’ भनी केही दिनअघि पानी माग्दै कोटीहोम गरे ।

केहीले मन्दिरमा भाकल गरेका छन् । ‘यो वर्ष सुकायो,’ सुनारपानीका गोविन्दबहादुर सार्कीले भने, ‘भएको बीउ बारीमा फालियो, दिनको २ हजारका खेताला लगाइयो । खडेरी पर्‍यो ।’ मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत आफ्नो क्षेत्रमा प्रकृतिले धोका दिएको बताउँछन् । ‘आकाशमा कालो बादल मडारिन्छ, पानी झर्दैन,’ उनले भने ।

नगरपालिकाले सुख्खा क्षेत्रमा कस्ता योजना ल्याउने भनेर छलफल चलाउन थालेको उनले बताए । थोरै पैसाले सुख्खा क्षेत्रमा योजना ल्याउन सम्भव छैन । कृषि विकास कार्यालयले खडेरीको प्रभाव जिल्लामा परेको जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लका अनुसार असार सकिन लाग्दा पनि जिल्लामा २३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । किसानहरू पानी पर्ला र रोपौंला भनेर पर्खेका छन् ।

प्रकाशित : श्रावण १, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?