कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँडो अनुसन्धान गर : पीडित

भोजपुर — अरुण गाउँपालिका ३ प्याउलीमा दुई छिमेकी घरका तीन बालबालिकाको रहस्यमय हत्याबारे चाँडो अनुसन्धान गर्न पीडित परिवारले माग गरेका छन् । निर्ममतापूर्वक भएको हत्याको डेढ महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको पीडित परिवारको गुनासो छ ।

१४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको शंकास्पद हत्याबारे प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको उनीहरूको आरोप छ । ‘छोराछोरीका शव आँखैअगाडि जसरी भेटिए, देखिए, उसैगरी हत्यारा पत्ता लाग्नुपर्छ, अनुसन्धान गरिराखेका छौं भनेर मात्रै हुँदैन,’ रञ्जीवका बुबा रवीन्द्र सापकोटाले भने, ‘हत्या गरिएका बालबालिकालाई सरकारले सहिद घोषणा गर्नुपर्‍यो, अनुसन्धान चाँडो गरिदिनुपर्‍यो,’ उनले भने ।

‘यत्तिका दिन बिते, हाम्रा बसरी बाँचेका छौं, अहिलेसम्म केही न केही तथ्य आउनुपर्ने हो नि !’ घटनाबारे जिल्ला तहबाट गम्भीरता नदेखाइएकै कारण अनुसन्धान ढिलाइ भएको उनले आरोप लगाए । पीडित पक्षले गृहमन्त्री जनार्दन शर्मालाई भेटेर घटनाबारे प्रभावकारी र चाँडो अनुसन्धानको माग राखेको छ । ‘एक हप्ताअघि गृहमन्त्रीज्यूलाई भेटेर मौखिक माग राखेका थियौं, उहाँले मातहतका अनुसन्धान निकायलाई गम्भीरताका साथ अनुसन्धान गर्न आग्रह गर्ने बताउनुभएको थियो, तर अनुसन्धानमा चित्त बुझाउने अवस्था छैन,’ पीडित पक्षका तर्फबाट गृह मन्त्रालय पुगेका दिनेश सापकोटाले भने । यसबारे प्रधानमन्त्री कार्यालयमा समेत ध्यानाकर्षण गराइएको पीडित पक्षले जनायो ।

सुष्मा र प्रदीपका बुबा चेतनाथ फुयालले आफूहरूलाई न्याय दिलाउन आलटाल गरिएको आरोप लगाए । उनीहरूमा छोराछोरी गुमाउँदाको पीडा छुट्टै छ, तर दोषी पत्ता लाग्न नसक्दा दिनदिनै पीडा थपिँदै गएको छ । ‘यो घटना सधैं अनुसन्धानमै सीमित हुने हो कि टार्न खोजेको हो, बुझ्नै सकिएन,’ उनले भने ।
भोजपुरमै जन्मिएका राष्ट्रपति विद्यादेवी भण्डारी, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ५ जना सांसदहरूले समेत घटनामा चासो नदिएको पीडित पक्षको गुनासो छ ।

प्रकाशित : श्रावण २, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?