कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यालय नपाएर हैरान

धेरैजसो स्थानीय तहमा अझै कार्यालय नै व्यवस्थापन हुन सकेको छैन । जनप्रतिनिधि सानो कोठामा कोचिएर काम गर्न बाध्य छन्
पूर्वाञ्चल ब्युरो

विराटनगर — स्थानीय निर्वाचनबाट चुनिएका पूर्वका महानगर, नगर र गाउँपालिकाका प्रतिनिधि अहिले मतदातालाई धन्यवाद ज्ञापन, सम्मान ग्रहण अनि विभिन्न औपचारिक कार्यक्रममा व्यस्त छन् । कतिपय नयाँ अनुहार भएकाले काम थाल्नुअघि सल्लाह र सुझाव लिन सक्रिय देखिएका छन् ।

कार्यालय नपाएर हैरान

केही तहमा जनप्रतिनिधि बस्ने व्यवस्थित ठाउँ नपाएर समस्या छ । यसको असर सेवाप्रवाहमा परिरहेको छ । केही प्रतिनिधिले गाउँ(नगरको विकासका लागि के गर्न सकिन्छ भनेर योजना बनाउन थालिसके । 

कार्यालय नै छैन 
इलामका जनप्रतिनिधिलाई सबै गाउँपालिका र वडाका कार्यालय व्यवस्थापन भइनसकेकाले कहाँ गएर काम गर्ने भन्ने चिन्ता छ । सानो कोठामा सबैजना खाँदिनुपर्ने अवस्था छ । ‘अधिकांश वडाका भवन छैनन् तर जसरी भए पनि आवश्यक सेवा प्रदान गरिनेछ,’ सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राईले भने । नगरपालिकाहरूमा पनि वडा कार्यालय खोजी भइरहेको छ । गाउँपालिकाका कतिपय वडा कार्यालय कामै नदिने अवस्थामा छन् ।
‘जनप्रतिनिधि कार्यालयमा आएर सानो कोठामा बस्ने गर्नुभएको छ,’ सन्दकपुर गाउँपालिका(३ का वडासचिव सुवास दाहालले भने, ‘द्वन्दकालमा क्षतिग्रस्त भवन अझै नबन्दा काम कारबाहीमा अप्ठेरो परेको छ ।’ यो गाउँपालिकाका पाँचवटा वडामध्ये अधिकांशमा भवन आभाव छ । अन्य गाउँपालिका र नगरपालिकामा पनि पर्याप्त पूर्वाधार छैनन् । कार्यालय भवन, फर्निचर, विद्युतीय सामग्रीलगायत तत्काल सेवा दिनुपर्ने आवश्यक सामग्री स्थानीय तहमा छैनन् । ‘नयाँ भवन निर्माण पूरा भएको छैन,’ सन्दकपुर–५ का वडाध्यक्ष जितबहादर साँवाले भने, ‘पुरानो भवन जीर्ण भएर जति बेला पनि ढल्न सक्ने अवस्था छ ।’ तर, पनि स्थानीयका न्यूनतम समस्या नियमित कार्यालयमा उपस्थित भएर सम्बोधन गर्ने योजना बनाएको उनले बताए । 
यसअघि नगरपालिका कार्यालयबाटै सेवा दिइँदै आएको थियो । निर्वाचनपछि वडा कार्यालय सञ्चालन अनिवार्य भएकाले भाडामा भए पनि भवन खोज्ने चटारो छ अहिले । ‘कहाँबाट कार्यालय सञ्चालन गर्ने भन्ने टुङ्गो नलागेकाले काम अघि बढाउन सकिएको छैन,’ इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले भने, ‘नीतिगत अप्ठेरो भए पनि खानेपानी व्यवस्थापनदेखि यसअघि प्रतिबद्धता जनाएका विषयमा केही दिनभित्र बैठक राखेर काम अघि बढाउँछौं ।’ कतिपय गाउँपालिकाको केन्द्रबारे नै अन्योल रहेकाले त्यो मिलाउनुपर्ने दायित्व पनि छ जनप्रतिनिधिलाई । 

योजना बुन्दै 
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको व्यस्तता निकै बढेको छ । उनको टेबुलमा दैनिकजसो दर्जनौं औपचारिक कार्यक्रमको निम्तो थुप्रिरहेको हुन्छ । सबैका मन राखिदिन कार्यक्रममा जानुपर्ने भए पनि पहिले कार्यालयको कामलाई नै प्राथमिकता दिइरहेको उनले बताए । ‘कम्तीमा तीन–चार कार्यक्रममा पुग्ने गरेको छु,’ उनले भने, ‘सेवाग्राहीका महत्त्वपूर्ण कामलाई भने पहिलो प्राथमिकतामा राख्ने गरेको छु ।’ तामाङले बजेट निर्माणसँगै जनतालाई अनुभूति हुने गरी ठोस योजना बनाउन जुटिरहेको पनि बताए । साउन १ गते सर्वपक्षीय भेला गरेर नगरको योजना तथा रणनीतिका लागि बृहत् छलफल गर्ने उनले जानकारी दिए ।
‘वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिलाई ओरियन्टेसन दिने काम भइरहेको छ,’ उनले भने, ‘धेरैजसो समय आगामी दिनमा नगरपालिकालाई कसरी समृद्ध बनाउने भन्ने योजना बनाउँदै बित्छ ।’ 
निर्वाचन परिणाम आएको दस दिन बितिसक्दा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालको कार्यकक्ष अझै व्यवस्थित छैन । स्थानीय क्याम्पसको एक भवनलाई कामचलाउ कार्यालय बनाइएको छ । त्यसमा सीमित कर्मचारीका भरमा मुस्किलले काम भइरहेको छ ।
 जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नै त्यहाँको कार्यकारी अधिकृत छन् । उनी पनि नियमति उपस्थित हुँदैनन् । एक नायब सुब्बा र दैनिक ज्यालादारी कर्मचारीका भरमा सेवाग्राहीको काम जेनतेन चल्दै गरेको प्रमुख नेपाल बताउँछन् । उनी यतिबेला कार्यालयको कामबाहेक मतदातालाई धन्यवाद ज्ञापन गर्न गाउँतिर पनि पुगिरहेका छन् । नगरको आयस्रोतका लागि योजना र बजेट बनाउने अभियानमा पनि लागिपरेको नेपालको भनाइ छ । ‘जनताको मन जित्ने योजना बुन्ने काममा पनि लागिपरेको छु’, उनले भने, ‘आधारभूत आवश्यकताकै मुख्य काम गर्नुपर्ने चुनौती छ ।’ 

घरदैलोमा व्यस्त
तेह्रथुमका जनप्रतिनिधि मतदाताको घरदैलो पुगिरहेका छन् । उम्मेदवारहरू जितपछि पनि घरमै भेट्न आउँदा मतदाता खुसी देखिएका छन् । ‘समय फेरिएछ जस्तो लाग्यो,’ छथर गाउँपालिका–४ हमरजुङका भूपाल कार्कीले भने, ‘चुनाव जितेका नेताहरू बधाइ दिन र समस्याका विषयमा सोधीखोजी गर्दै घरदैलोमै आइरहेका छन् ।’ चुनावअघि आफूलाई जिताउन अनुरोध गर्दै गाउँमा मत माग्न गएका नेताहरू जितको खुसी मनाउन मतदातामाझ पुगेका हुन् । ‘चुनावअघि गरेका बाचा तत्कालै नभए पनि क्रमश: पूरा गर्दै जान्छु भनेर मतदातालाई विश्वस्त बनाउँदै छु’ म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय तुम्बाहाम्फेले भने । 
मेयर–उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूसमेत जितको खुसी बाँड्दै गाउँगाउँ पुगिरहेको म्याङलुङ नगरपालिका–३ का अर्जुन ढुंगानाले बताए । पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूले मतदातासँग बसेर जित–हारको समीक्षा पनि गरिरहेका छन् ।
‘कुन कामलाई प्राथमिकतामा पारेर गर्ने भनेर मतदातासँगै सल्लाह पनि गरिरहेको छु’ छथर गाउँपालिका प्रमुख सन्तोष तिगेलाले भने ।  
विजयी उम्मेदवारले गाउँटोलका बासिन्दालाई एकै ठाउँ भेला बनाएर वा घरैमा पुगेर विकासबारे छलफल चलाइरहेका छन् । नगरक्षेत्रका सबै मतदाताले आफूलाई मत दिएर जिताएको महसुस भइरहेको म्याङलुङ नगरपालिकाका प्रमुख तुम्बाहाम्फेले बताए ।  
जितपछि दूरदराजका मतदाताका घरमा पुग्नु र उनीहरूका दु:ख–पीडा बुझ्नुलाई पहिलो कर्तव्य ठानेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । 
 छथर गाउँपालिकाले पूर्वी तराई जोड्ने सिंधुवा–शुक्रबारे सडक वर्षाका कारण अवरुद्ध भएको भन्दै तत्काल स्तरोन्नति गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । सामाजिक सुरक्षा भत्ता पहिलेभन्दा सहज तरिकाले वितरण गर्ने, लामो समयसम्म जनप्रतिनिधि नहुँदा अस्तव्यस्त बनेका स्थानीय तहमा विकासका पूर्वाधारको सुधार थाल्ने, सडक, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विकासका योजना बनाउनेजस्ता निर्णय धेरै जनप्रतिनिधिले मतदातासँगै बसेर गरेका छन् । 
धन्यवाद दिँदै
शपथ ग्रहण गरिसके पनि धरान उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख पदभार नगरी मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहेका छन् । प्रमुख तारा सुब्बा र उपप्रमुख मञ्जु भण्डारी सुवेदी चुनावअघि जस्तै गरी घरघर पुगिरहेका छन् । धरान(१५ बाँझगरामा भेटिएका सुब्बाले भने, ‘भोट दिएर जिताउँदै हामीलाई धरानको विकास र समृद्धिका लागि नेतृत्व सुम्पने मतदाताको मान सम्मान र कदर गर्न फेरि घरदैलोमा निस्केका हौं ।’
अब पाँच वर्ष समय रहेकाले पदभार ग्रहण गर्न र कुनै नयाँ काम थालनीको घोषणा गर्न हतार नभएको उनले बताए । मतदाताले जनप्रतिनिधिलाई ‘जितेपछि फर्केरै नआउने’ गरेको आरोप लगाउँछन् तर सुब्बा आफूले जनतालाई प्रश्न गर्ने मौका नदिने बताए । मतदातालाई धन्यवाद ज्ञापन गर्न पदभार ग्रहणको समय सोमबार सारिएको नवनिर्वाचित उपप्रमुख मञ्जु भण्डारीले बताइन् । 

(विप्लव भट्टराई, रमेशचन्द्र अधिकारी, चन्द्र कार्की, प्रदीप मेन्याङ्बो)

प्रकाशित : श्रावण २, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?