कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँ छन् हत्यारा ?

भोजपुरमा तीन बालबालिकाको सामूहिक हत्याबारे अनुसन्धान गर्न डेढ महिनामा प्रहरीका दुई टोली खटिए पनि दोषी पत्ता लागेका छैनन्
विद्या राई

प्याउलीबजार (भोजपुर) — डेढ महिना बित्दा पनि अरुण गाउँपालिका–३ मा भएको सामूहिक हत्याको रहस्य सुल्झिन सकेको छैन । प्रहरीका छुट्टाछुट्टै टोलीले अनुसन्धान गर्दा पनि दोषी पत्ता लागेका छैनन् ।

कहाँ छन् हत्यारा ?

अनुसन्धान लम्बिँदै जाँदा पीडित परिवार न्याय नै नपाइने हो कि भन्ने चिन्तामा छन् । १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको हत्या भएको हो । असार १० गते साँझ अचानक हराएका उनीहरू पर्सिपल्ट मरेङडाँडास्थित तोरन कार्कीको माछापोखरीमा मृत फेला परेका थिए । 

घटना अनुसन्धानमै सीमित राख्नुले सम्बन्धित निकायले गम्भीर रूपमा नलिएको हुन सक्ने परिवारको गुनासो छ । 

जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान ब्युरो विराटनगरले एकसाथ लगातार एक महिना अनुसन्धान गरे । यी दुई निकायको अनुसन्धान ढिलो र शंकास्पद भएको गुनासो स्थानीय तहमा बढेपछि साउन १३ देखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमा खटियो । अनुसन्धान अधिकृत ददिराम न्यौपाने नेतृत्वको टोली साउन २३ सम्म अनुसन्धान गरी राजधानी फर्किसकेको छ । सीआईबी आएपछि सत्यतथ्य पत्ता लाग्ने आस गरेका स्थानीय बासिन्दा टोली त्यत्तिकै फर्किएपछि निराश छन् । ‘सीआईबीले पत्ता लगाउला भन्ने ठूलो आशा थियो, एक साता बसेर फर्कियो तर खोइ के पत्ता लगायो ? जो आए नि उस्तै रहेछ,’ रञ्जीवका बुबा रवीन्द्रले भने । सीआईबी टोलीले स्थलगत जानकारी लिएपछि केन्द्रमै थप अनुसन्धान गर्ने जनाएकाले उनलाई झिनो आशा भने छ । रवीन्द्र कृषिका कर्मचारी हुन् । 

सुष्मा र प्रदीपका बुबा चेतनाथ पनि चाँडो निचोड आओस् भन्ने चाहन्छन् । अनुसन्धान भन्दाभन्दै प्रकरण नै सामसुम पारिदिने हुन् कि भन्ने शंका छ उनलाई । ‘अनुसन्धानकाले धैय गर्नुस् भन्छन् तर कति दिन ? के कसो हुँदै छ, हामीलाई जानकारी छैन । पीडा कति छ, भोग्नेलाई मात्र थाहा छ,’ उनले भने ।

चेतनाथले प्याउलीबजारमा फेन्सी पसल चलाएर घरव्यवहार धान्दै आएका थिए । तीनमध्ये दुई सन्तान गुमाउनुको पीडाले थिचिएका उनले पसल बेचिसके । स्थानीय केशव अधिकारीलाई साढे ४ लाख रुपैयाँमा बेचेका हुन् । शव धरान लैजाँदा गाडी खर्च, पोस्टमार्टम तथा काजकिरिया गर्ने रकम नभएकाले पसल बिक्री गर्नुपरेको उनले बताए । 

छिमेकीले भने उनी गाउँ नै छाडेर जान लागेको ठानेका छन् । छोराछोरीको सदगत गर्ने खर्च नभएकैले बाध्य भएर पसल बेचेको चेतनाथले दोहोर्‍याए । ‘अन्त कहाँ जाऊँ ? न घर छ न घडेरी छ ? मनको पीडा त आफूसँगै छ,’ उनले भने, ‘अलिअलि आम्दानी हुने पसल बेचिहालियो, अब सुकुम्बासी सरह भइयो ।’ 

घटनापछि गाउँले त्रस्त छन् । साँझ पर्नासाथ ढोका थुन्ने उनीहरू बिहान पनि अबेर मात्र बाहिर निस्कन्छन् । कोही अन्यत्रै बसाइँ जाने तरखरमा छन् । ‘अनुसन्धान टुंगिने छाँटकाँट छैन, असुरक्षाले बस्न गाह्रो भयो, सबै जना भयभीत छन्,’ रमेश थामीले भने । गाउँपालिकाको कार्यालय प्याउलीबजारमै छ । कर्मचारी पनि आतंकित छन् । ‘हामी पनि सम्साँझै ढोका थुनेर बस्छौं, भवितव्य के थाहा ?,’ लेखापाल राजनकुमार श्रेष्ठले भने । विद्यालय जानुपर्ने बालबालिका बढी त्रस्त छन् । घटनापछि विद्यार्थीले पढाइमा ध्यान दिन नसकेको शिक्षकहरू बताउँछन् । स्थानीय शारदा माविका अधिकांश विद्यार्थी अन्यत्र जाने तयारीमा छन् । सुष्मासँगै कक्षा ८ पढ्दै गरेकी सरू सापकोटालाई अभिभावकले स्थानान्तरण गरिसकेको प्रअ छत्रबहादुर राईले बताए । ‘साथी भएकै कारण अनुसन्धान टोलीले विद्यार्थीलाई दैनिक सोधपुछ गर्दा टर्चर भयो भन्दै अभिभावकले यहाँबाट लगे,’ प्रअ राईले भने । सरू कक्षाकै उत्कृष्ट विद्यार्थी हुन् । भर्खरै एसईई (कक्षा १०) पास गरेका विद्यार्थी पनि अन्यत्रकै विद्यालय जान लागेको राईले गुनासो गरे । ‘न अनुसन्धान सफल भएको छ, न त सुरक्षाको प्रत्याभूति, विद्यार्थीलाई यहीं राखेर पढाउन सक्ने वातावरण गुम्दै छ,’ उनले भने । 

दोषी पत्ता लगाउन स्थानीयले राजकुमार खत्रीको संयोजकत्वमा २० सदस्यीय संघर्ष तथा दबाब समिति गठन गरेका छन् । मुख्य सडक भोजपुर–लेगुवा नारदमुनि थुलुङ राजमार्गमा अरुणवासीलाई सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, विस्थापित हुने क्रम रोक्नुपर्ने, हत्यारा चाँडो पत्ता लाग्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्नेलगायत माग राख्दै उनीहरूले चक्काजाम तथा सरकारी तथा गैरसरकारी कार्यालय ठप्पसमेत पारे । ३७ किमि टाढा सदरमुकाममा आएर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाए । मंगलबार संघर्ष समितिले प्याउलीबजारमा नागरिकता बनाउने घुम्ती शिविर लिएर गएका सहायक प्रजिअ राजन पाण्डेलाई हस्ताक्षर संकलन गरेर बुझाएका थिए । 

सीआईबी आए पनि चित्तबुझदो जवाफ नपाएकाले संघर्षका कार्यक्रम बढाउँदै लैजाने खत्रीले बताए । साउन १९ गते सीआईबीले मृतक बालबालिकाका चप्पल अनुसन्धान गरिरहँदा ‘छलछाम’ गरेको समिति र पीडित परिवारको आरोप छ । कक्षा ८ मा पढ्ने युसन फुयालका अनुसार सुष्माकी मावली हजुरआमा हरिमाया ढकाललगायतका ५–६ जोडी चप्पलबारे शारदा माविका विद्यार्थीलाई सोधिएको थियो । देखाइएका चप्पल सुष्माका नभएको उनका बुबा चेतनाथ र आमा निर्मलाको दाबी छ । विद्यार्थीलाई दबाबमा पारेर हो भन्न लगाएकामा चेतनाथ र निर्मलाले आपत्ति जनाएका छन् । उनीहरूले यकिन गर्न अनुसन्धान टोलीलाई आग्रह गरे । 

अनुसन्धान अधिकृत न्यौपानेले अनुसन्धानबारे बताउन नमिल्ने बताए । ‘अनुसन्धानबारे मिडियालाई भन्न मिल्दैन, केके अपडेट चाहिएको छ, जिल्लाकै डीएसपीसँग बुझ्नुस्,’ उनले भने । 
डीएसपी काजीकुमार आचार्य ‘अनुसन्धान भइरहेको, थप भन्न नसिकने’ वाक्यांश दोहोर्‍याइरहन्छन् । ‘चप्पलका विषयमा सीआईबीले के अनुसन्धान गरेको छ, मलाई जानकारी छैन, अनुसन्धान के कति भयो, भन्न मिल्ने तथ्य छैन,’ उनले भने, ‘भिसेरा रिपोर्ट अझै आइसकेको छैन ।’ 

 पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डीआईजी रमेशराज भट्टराईले अनुसन्धान जारी रहेको प्रतिक्रिया दिए । ‘हाम्रो कर्तव्य सत्यतथ्य पत्ता लगाउने हो, सर्वसाधारणले कसरी ग्रहण गर्छन्, त्यसैमा भर पर्छ, प्राविधिक परीक्षण भइरहेको छ । घटना जसरी पनि पत्ता लागिछाड्छ,’ उनले भने । यसअघि सांसद कुमारीलक्ष्मी राईले अनुसन्धानका लागि ल्याइएको प्रहरीको कुकुर सेनाको बिटमा पस्न लागेपछि बाहिर तानिएको भन्दै संसद्मा अभिव्यक्ति दिएकी थिइन् । स्थानीय बासिन्दा र गाउँपालिकाका कर्मचारीले पनि कुकुर आवश्यकताअनुसार अनुसन्धानमा नखटाइएको बताउँदै आएका छन् ।

हत्या शृंखला बढ्दो
बारा– केही दिनअघि निजगढस्थित सार्वजनिक मावि वागदेवमा कक्षा ९ मा अध्ययनरत निजगढ ५ गैरीटोलका १६ वर्षीय निशान्त सापकोटाको धारिलो हतियारले घाँटी रेटी हत्या भयो । छिमेकी विचारी थापाका घरमा हत्या भएकाले प्रहरीले थापा परिवारका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । यो घटनाको तीन दिनअघि कलैया २४ का किसुनराम चमार ३० वर्षीया पत्नी कुन्तीलाई बन्चराले हत्या गरेर फरार छन् । 

करैयामाई १ की २२ वर्षीया रमितादेवी साहलाई पति भगवानलाल साह तेलीले नशाको झोकमा कुटपिट गरी हत्या गरे । उनी प्रहरी हिरासतमा छन् । असार ५ मा कलैया १३ बलिरामपुरकी ३८ वर्षीया मन्तुरीराम चमारलाई पति दरोगाले हत्या गरेका थिए । पक्राउ गरेलगत्तै दरोगाको पनि मृत्यु भएपछि तीन छोराछोरीको बिचल्ली छ । 

केही समययताका यी घटनाले बारामा हत्या शृंखला बढ्न थालेको देखाउँछन् । प्रहरी अनुसन्धानले बढीजसोमा घरायसी विवाद, यौनजन्य क्रियाकलाप, मोबाइल फोन प्रयोग र मदिरा सेवनलाई कारण देखिएको छ । ९ महिने शिशुदेखि विवाहित महिला र विद्यार्थीसमेत निसानामा परेका छन् । जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार गत वर्ष साउनयता ११ जनाको हत्या भएको छ जसमा महिला बढी छन् ।

औसतमा प्रतिमहिना एक जनाको हत्या भइरहेको प्रहरी अभिलेखमा देखिन्छ । सबै हत्याका आरोपी पक्राउ परी कानुनी दायरामा आइसकेको प्रहरी अनुसन्धान अधिकृत बताउँछन् । यी अपराध सामाजिक र परम्परागत भएकाले यसबाट जोगिन तथा कम गर्न शिक्षासँगै चेतना बढाउनु जरुरी ठान्छन् उनीहरू । ‘चेतना अभावले आपसी मनमुटाव, व्यक्ति–व्यक्तिबीच रिसइबीले यस्तो हत्या भइरहेको छ,’ प्रहरी नायब निरीक्षक दिलीप घिमिरेले भने, ‘कुनै गुन्डागर्दी वा योजनाबद्ध ढंगले भएका छैनन् ।’ 

घरझगडा रोक्न प्रहरीले दिने सेवा पर्याप्त नभएको उनले बताए । प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका केन्द्रका अनुसार वर्षको झन्डै तीन सय घरेलु हिंसासित सम्बन्धित झगडा आउने गरेका छन् । 

प्रकाशित : भाद्र ५, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?