कोमामा रहेका सार्कीको परिवारलाई घर
भक्तपुर — साउदी अरवबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर बनाइदिने भएको छ । सामाजिक सञ्जाल अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमले उनको घर बन्ने भकएको हो ।
वैदेशिक रोजगारका लागि साउदी अरब पुगेर चार वर्षअघि कोमामा फर्किएका चाँगुनारायण नगरपालिका–४, संगम टोलका ४३ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई आवास पुनर्निर्माणका लागि सोमबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्र गुरुङ्गले भवनको सिलान्यास गरे । सार्कीको परिवार ०७२ वैशाखको भूकम्पका कारण घर भत्किएपछि करिब २८ महिनायता कुखुरा पाल्न बनाइएको टहरामा बसोबास गरिरहेका छन् ।
सामाजिक सञ्जाल अभियानकर्ता ढिकुरपोखरी–६ पाउदुरकोट कास्कीकी सरिता गुरुङका अनुसार संकलित रकमबाट चारकोठे भुकम्प प्रतिरोधी घर निर्माण गरिदिन लागिएको हो । हालसम्म सार्कीको आवास पुनर्निर्माणको लागि विभिन्न सामाजिक सञ्जालबाट करिव ७ लाख रुपैंया संकलन भएको पनि उनले बताइन् ।
सार्कीको आवास पुनर्निर्माणका लागि सरिता गुरुङ फाउन्डेसनले एकलाख सहयोग गरेको छ । सार्कीको परिवारलाई आवास निर्माणका लागि गुरुङले अभियानबाट संकलित ३ लाख रुपैंयाको चेक निर्माणको जिम्मा पाएको देवेन्द्रराज गिरीलाई प्रदान गरेकी छिन् । ‘घर बनाउन कागजी प्रक्रिया पुरा भईसकेको छ’, उनले भनिन्, ‘दुई महिनाभित्र भवन निर्माण गरी सार्कीको परिवारलाई हस्तान्तरण गर्नेछौं ।’ घर निर्माणका लागि कागजी प्रक्रियाका लागि मात्र करिव एकलाख खर्च भएको छ ।
यसअघि जुरेको पहिरोका कारण धुस्कुनबाट विस्थापितलाई नमूना घर बनाई हस्तान्तरण गरिसकेको गुरुङले बताइन् । पहिरोबाट विस्थापित जोगि पहरीको परिवारलाई जग्गा किनेर घर बनाइदिएको थियो । गुरुङले सार्कीको आवास पुनर्निर्माणका लागि सहयोगको लागि अपीलसमेत गरेकी छिन् ।
प्रकाशित : भाद्र १२, २०७४ १८:४७