कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित परिवारमाथि आक्रमण

अन्तरजातीय विवाह

सुर्खेत — अन्तरजातीय विवाह गरेकै कारण यहाँका एक दलित परिवारमाथि आक्रमण भएको छ । बराहताल गाउँपालिका ८, दमारका भक्तबहादुर, अमृता विक दम्पतीमाथि सोमबार मध्यरातमा कुटपिट गरिएको हो । कुटपिटबाट दुवै घाइते भएका छन् ।


घाइते दम्पतीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । उनीहरूको टाउको, छाती र हातमा चोट छ । छोरा बलबहादुरले शाही थरकी छोरी विवाह गरी ल्याएकै कारण आफूहरूमाथि कुटपिट भएको भक्तबहादुरले सुनाए । ‘मध्यरातमा आएर निर्दोष बाबुआमामाथि कुटपिट भयो,’ छोरी कृष्णाले घटनाबारे भनिन्, ‘माथिल्लो तलाबाट उहाँहरूलाई तल खसालियो । अनि प्रतिकार गर्न खोज्दा उल्टै कुटपिट भयो ।’ बलबहादुरले गत जेठमा दैलेख दुल्लु नगरपालिका छडुङकी रमा शाहीलाई विवाह गरी भित्र्याएका थिए । माइती पक्षकाले आइतबार घरमा आएर ‘डुम’ सँग बिहे गर्ने भन्दै रमालाई फिर्ता लिएको कृष्णाले बताइन् । भक्तबहादुरको अवस्था अज्ञात छ । छोरालाई अपहरण गरी लगेको उनीहरूको आरोप छ । भागेर अन्तरजातीय बिहे गरेकाले दुवैजना माइती पक्षले छोरी लैजाने त्रासले लुक्दै आएका थिए । भक्तबहादुर र रमा केही दिनअघि घर आइपुगेका थिए । घर आएको थाहा पाएपछि खोस्ने उद्देश्यले आइतबार केटी पक्षका आफन्तहरू आएको बताइएको छ । घटनापछि दलित परिवार त्रसित छ । अमृता छोराको चिन्ताले बेहोस छिन् ।
प्रहरीले घटनास्थल मुचुल्का तयार पारेको छ । घटनाको अनुसन्धान भइरहेको र भक्तबहादुरको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उता, रमाकी दिदी विष्णाकुमारी शाहीले बहिनी फिर्ता लिएको स्विकारेकी छन् । रमाको अछाममा विवाह भएको र ४ वर्षको छोरा भएकाले फिर्ता ल्याएको उनले बताइन् ।
‘जातपातको कुरा गरेर फिर्ता ल्याएको होइन । ऊ विवाहित हो । सम्बन्धविच्छेद पनि भएको छैन यस्तो अवस्थामा हामीले सम्झाइबुझाई फिर्ता ल्याएका हौं,’ उनले भनिन्, ‘उता केटाले पनि तीन जना केटीसँग बिहे गरिसकेको रहेछ ।’ केटाका बाबुआमालाई कुटपिट त के हातले समेत नछोएको उनले दाबी गरिन् ।

प्रकाशित : भाद्र २८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?