कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावले फेरिँदै भारदहको भाग्य

जितेन्द्र साह

भारदह (सप्तरी) — एकताका पहिचानसहितको अधिकार प्राप्तिको मधेस आन्दोलनको केन्द्रमा थियो, भारदह । पछिल्लो ६ महिने आन्दोलनमा यहाँका पाँच जनाले ज्यान गुमाए । तर, यो ऐतिहासिक थलो अहिलेसम्म अस्तित्वकै लागि संघर्ष गरिरहेको छ । मधेस मुद्दाको सहज अवतरणपछिको स्थायी शान्तिको चाहमा छन्, स्थानीय ।

 चुनावले फेरिँदै भारदहको भाग्य

‘शान्तिमै यहाँको भविष्य निर्भर छ,’ शिक्षक देवनाथ यादवले भने, ‘लोकतन्त्रप्रति आस्थावान् स्थानीय जनता आशावादी भएकै कारणले चुनावमा सहभागी हुँदै छन् ।’ आन्दोलनका बेला पूर्णतया अशान्त एवं अस्थिर भारदहले तेस्रो चरणको स्थानीय तह चुनावमा ठूलो राजनीतिक महत्त्व राख्छ । दाइजो प्रथाको अन्त्य, महिलाको सम्मान, पहिचान र अधिकारका विषय मुख्य चुनावी मुद्दा बन्नुले यहाँको राजनीतिक चेतनाको उचाइलाई देखाउँछ । ‘असल चरित्रका जनप्रतिनिधिले जितेमा मात्र यो सम्भव हुनेछ,’ ४० वर्षीया निर्मलादेवी दासले भनिन् ।

प्रदेश दुईको अन्य ठाउँभन्दा निकै फरक यहाँ चुनावी प्रचारप्रसारको क्रममा होहल्ला, माइकिङ वा डीजे घन्काइएको सुनिएन । 

साइकल, पैदलै र चार पांग्रेमा उम्मेदवारका ब्यानर एवं चुनाव चिह्नसहित भोट मागे । आन्दोलनमा सहिद भएकाप्रति सम्मान प्रकट गर्नलाई सादगीका साथ प्रचारप्रसार भएको स्थानीय इन्जिनियर श्यामसुन्दर मण्डलले बताए ।

भदौमा उत्कर्षमा पुग्ने प्रचण्ड गर्मीले गर्दा बाह्य वातावरण सुनसान देखिए पनि घर, पसल, मन्दिर र कर्मथलोमा भेटिने स्थानीयले कसलाई जिताउँदा भारदहले काँचुली फेर्छ तिनकै बारेमा छलफल गरिरहेका छन् । ‘पाँच वर्षका लागि सत्ता हात पार्ने, स्वार्थ पूरा गर्ने र हिँड्ने चरित्रकाबाट सावधान हुनुपर्‍यो,’ मण्डलले भने, ‘धनवान्भन्दा चरित्रवान् चुन्नुपर्‍यो ।’ जनतालाई कमजोर पारेर सदैव शासन गर्नेे सोच भएकाबाट सचेत रहेर भोट खसाल्न उनले सुझाव दिए ।

जनतामा राजनीतिक चेतनाको विकास हुन नदिनमा राज्य पक्ष पनि जिम्मेवार रहेको मण्डलले बताए । ‘यतिका वर्षपछि आएको चुनावमा अहिले देखिएकोभन्दा अझ बढी सहभागिता र रौनक हुनुपर्ने हो,’ उनले भने, ‘सरकार, दल, नेतृत्व एवं उम्मेदवारले नागरिकको विश्वास गुमाएर यस्तो भएको हो ।’

मतदानकै अघिल्लो दिन असोज १ मा विश्वकर्मा पूजा र लगत्तै दशमी आउने भएकाले पूर्व तयारीमा समेत स्थानीय जुटेका छन् । शान्ति स्थापना भएमा यो नगर स्वत: समृद्ध बन्नेमा उनीहरू एकमत छन् । 
लामो मधेस आन्दोलनले गर्दा बनेको अशान्त छविले यहाँको ऐतिहासिक कंकालिनी भगवती मन्दिरमा बाहय भक्तजनको भीड कम हुँदा बजार/व्यवसाय घटेको छ । स्वदेशीबाहेक भारतका धार्मिक पर्यटकसमेत यहाँ आउँछन् । ‘कतिखेर के हुने हो ठेगान नभएकाले बाहिरका मानिस यहाँ आउनै छाडे,’ शिक्षक यादवले भने ।

महिलाको सम्मान, पहिचान एवं समान अधिकारका लागि दाइजो प्रथाको अन्त्यलाई स्थानीयले प्रमुख चुनावी मुद्दा बनाएका छन् । आन्दोलनको बेलामा भएको महिला लक्षित सुरक्षाकर्मीको ज्यादतीबारे पनि स्थानीयले आवाज उठाइरहेका छन् । निर्वाचित जनप्रतिनिधिले घरदेखि बाहिरसम्म महिलाको सम्मानका लागि प्रतिबद्ध भएर कदम चाल्नुपर्ने स्थानीयको माग छ । संविधान संशोधन र सीमांकनलगायतका राजनीतिक मुद्दाबाहेक यहाँ पनि पहिलो एवं दोस्रो चरणको चुनावमा जस्तै पूर्वाधार विकासकै माग जोडतोडका साथ अघि आएको छ । बिजुली, खानेपानी, ढल तथा नाला निकास, सडकको विस्तार, विद्यालयमा सुधार, शौचालय, प्रतीक्षालय, तटबन्ध, मठमन्दिर र कलेज निर्माणमा स्थानीय केन्द्रित छन् । यो सबैका बीच दुई दशकपछि आफ्नो जनप्रतिनिधि छान्ने, माग राख्ने, मिलेर योजना बनाउने र विकास गर्ने अवसर आएकाले भारदहवासी पनि दंग छन् । 

प्रकाशित : भाद्र ३०, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?