मुसहर समुदायबाट पहिलो वडाध्यक्ष

अवधेशकुमार झा

विष्णुपुर (सप्तरी) — आर्थिक रूपले अति विपन्न विष्णपुर गाउँपालिका–६ का बहादुर सदा मुसहर लेखपढ गर्न जान्दैनन् । हस्ताक्षरसम्म गर्न सक्छन् । उनै बहादुर स्थानीय तह निर्वाचनबाट आफ्नो वडाको अध्यक्ष चुनिएका छन् ।

त्यो पनि दलबाट होइन, स्वतन्त्र हैसियतमा उठेर । उक्त वडामा न उनको जातिको बाहुल्य छ न त प्रशस्त पैसा । वडावासीका समस्यामा समाधानमा सधैं तत्पर भएकैले उनी लोकप्रिय छन् । यही स्वभावका कारण उनी अति विपन्न मुसहर समुदायबाटै वडाध्यक्ष बन्ने पहिलो व्यक्ति भएका छन् । 

७४ वर्षीय बहादुरलाई जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव नौलो भने हुने छैन । २०५४ मा पनि साबिकको इटहरी विष्णुपुर गाउँपालिकाको वडा सदस्य चुनिएका थिए । ‘जनप्रतिनिधिबाट हटेपछि पनि २० वर्षसम्म जनताको सेवा गरें, वडावासीले त्यसैकारण फेरि अवसर दिएका छन्,’ शुक्रबार गाउँपालिका कार्यालयमा प्रमाणपत्र लिएर शपथग्रहण गरेपछि उनले भने । मनोनयनका बेला बहादुरलाई विभिन्न दलले टिकट दिन नखोजेका होइनन् तर उनले अस्वीकार गरे ।

‘राजनीतिक आवरणभन्दा स्वतन्त्र भएर उम्मेदवार हुन मन लाग्यो,’ बहादुरले भने, ‘जनताले मेरो विश्वासलाई पत्याए ।’ चारैतिर पैसाको चलखेल र जातीय नारा उठिरहेकाले उम्मेदवारी दिँदाताका आफू नै जित्नेमा ढुक्क भने नरहेको उनले बताए । ‘प्रचारमा जाँदा अरू उम्मेदवारको ‘हाइफाइ’ देखेर जितिँदैन भन्ने लागेको थियो’ बहादुरले भने, ‘मसित एक पैसा पनि थिएन, कार्यकर्ता घरबाट खाएर आउँथे, प्रचारप्रसारमा लागेको २–४ हजार टोलवासीले जुटाइदिए ।’ २ सय २९ मत प्राप्त गरेका बहादुरको चुनाव चिह्न टोपी थियो । निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका उम्मेदवारले १ सय ५८ मत मात्र ल्याए । 

आफ्नो वडामा के–के योजना अघि बढाउने भन्ने उनले निक्र्योल गरिसकेका छैनन् । तर, हरेक घरमा शौचालय बनाउने योजना भने उनले जित्नुअघि नै तय गरिसकेका थिए ।

‘बस्तीका महिला शौच गर्न बाँसघारी, खेतबारी जानु राम्रो होइन,’ शुक्रबार शपथपछि उनले भने, ‘जथाभावी दिसापिसाब गर्दा बस्ती फोहोर हुने भएकाले पहिलो प्राथमिकता वडाका घरघरमा शौचालय  बनाउनु हुने छ ।’ बस्तीको बाटो पक्की बनाउने उनको दोस्रो प्राथमिकता छ । ‘योजना धेरै छन्, पाँच वर्षमा विस्तारै गरूँला तर शौचालय निर्माण नगरी अन्य कुनैमा हात हाल्दिनँ,’ बहादुरले भने । ०६८ को जनगणनाअनुसार सप्तरी, सिरहा, धनुषा र मोरङमा मुख्य बसोबास रहेका मुसहरको कुल संख्या २ लाख ३४ हजार ४ सय ९० छ ।

प्रकाशित : आश्विन ७, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपीडितद्वारा क्षतिपूर्ति माग

कान्तिपुर संवाददाता

नवलपरासी — सुस्ताका २ सय ६५ बाढीपीडित परिवारले स्थानीय प्रशासनसमक्ष क्षतिपूर्ति माग गरेका छन् । दुई साताअघि नारायणीमा आएको बाढीबाट सबै घर डुबानमा परेका थिए । घरमा ७ फिटसम्म पानी पसेको थियो ।

सुस्ताका २ सय ६५ बाढीपीडित परिवारले स्थानीय प्रशासनसमक्ष क्षतिपूर्ति माग गरेका छन् । दुईसाताअघि नारायणीमा आएको बाढीबाट सबै घर डुबानमा परेका थिए । घरमा ७ फिटसम्म पानी पसेको थियो ।

‘बस्ती डुबेकाले अन्न खानै नहुने गरी कुहिएको छ । चाड केले मनाउने हो, घरमा अन्न छैन,’ सुस्ता बचाऊ आन्दोलनका अगुवा गोपाल गुरुङले भने, ‘बाढी नियन्त्रणको काम नगरेको सरकारले अन्नपात किन्न सहयोग गर्ला कि भनेर पीडित सबैले क्षतिपूर्तिको माग गर्दै स्थानीय प्रहरी कार्यालयमार्फत जिल्ला प्रशासनमा निवेदन दर्ता गराएका छौं ।’

प्रशासनले सहयोग गर्छ भन्ने सुनेर निवेदन दर्ता गराएको उनले बताए । निवेदन जिल्ला प्रहरीमार्फत प्रशासनमा राहतका लागि पठाएको सुस्ता प्रहरी चौकीका इन्चार्ज असई कृष्णहरि विकले बताए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पीडितमध्ये २२ परिवारलाई जस्तापाता उपलब्ध गराएको र पीडितलाई विभिन्न संघसंस्थाले खाद्यान्नलगायत सहयोग गरिरहेको जनाए । सुस्तामा नारायणीको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजनाका लागि जलस्रोत मन्त्रालयमा जानकारी पठाएको उनले दाबी गरे ।

प्रकाशित : आश्विन ७, २०७४ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्