कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनको तयारीमा दलहरू

प्रदेश र प्रतिनिधिसभा
हरि गौतम

रुकुम — आसन्न प्रतिनिधि तथा प्रदेश सभाको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू त्यसको तयारीमा जुटेका छन् । चुनाव लक्षित कार्यक्रम गर्ने तथा उम्मेदवारहरू छान्न आन्तरिक छलफलमा दलहरू व्यस्त छन् ।

निर्वाचनको तयारीमा दलहरू

विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्र चुनावका गतिविधिमा व्यस्त हुन थालेका छन् । एमाले र माओवादी केन्द्रले त एक चरणमा विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यकता प्रशिक्षण तथा भेला पनि गरिसकेका छन् । 

तीनवटै राजनीतिक दल पूर्वी र पश्चिम रुकुमका लागि २ प्रतिनिधिसभा र ४ प्रदेशसभाका लागि उम्मेदवारी छनोटको आन्तरिक गृहकार्यमा जुटेका छन् । साबिक जिल्लामा २ निर्वाचन क्षेत्र थिए ।

अब पूर्व र पश्चिम जिल्ला भनेर २ जिल्ला बनाइएपछि दुवै जिल्लामा १/१ प्रतिनिधिसभा र २/२ प्रदेशसभा लागि निर्वाचन क्षेत्र कायम गरिएको छ । तुलनात्मक रूपमा दुवै जिल्लामा कांग्रेस र एमालेमा उम्मेदवारका आकांक्षी कम छन् । माओवादी केन्द्रमा भने उम्मेदवारको लर्को देखिन्छ । स्थानीय तहको निर्वाचनमा दुवै जिल्लाका सबै स्थानीय तह जितेकाले पनि माओवादीमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्ने आकांक्षीको ठूलो लर्को देखिन्छ । 

पूर्वी रुकुममा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा केशरमान रोकाले उम्मेदवारी दिने तयारी गरेका छन् भने प्रदेशसभामा १ नम्बरबाट दुतकुमार पुन र २ बाट नन्दबहादुर विष्टको नाम चर्चामा छ । नेकपा एमालेले व्यापारी देवसिं खडकालाई प्रतिनिधिसभामा उठाउने तयारी गरेको छ भने सतमान पुनलाई १ नम्बरबाट र टोपबहादुर ओलीलाई २ नम्बर निर्वाचन क्षेत्रबाट टिकट दिने तयारी गरिरहेको छ ।

माओवादी केन्द्रमा भने प्रतिनिधिसभाकै लागि धेरै आकांक्षी देखिएका छन् । हालका सांसद गणेशमान पुन, माओवादी नेता पूर्णबहादुर घर्तीमगर, पूर्वमन्त्री कमला रोका र दलजित विक श्रीपालीले प्रतिनिधि सभाको टिकट पाउनुपर्ने दाबी गरिरहेका छन् । प्रदेश सभाका लागि १ नम्बर निर्वाचन क्षेत्रबाट तेजबहादुर ओली, पुनिराज घर्ती मगर, तेजेन्द्र खाममगरले इच्छा देखाएका छन् । २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा इच्छा देखाइएकै मध्यबाट उम्मेदवार बनाउने कि भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । यस विषयमा पार्टीको बैठकबाट निर्णय हुने पूर्वी जिल्ला संगठन समितिका इन्चार्ज तेजबहादुर ओलीले बताए । 

पश्चिम रुकुमको एक प्रतिनिधिसभा र २ प्रदेशसभाका लागि पनि दलहरूले उम्मेदवार छनोटका विषयमा छलफल चलाइरहेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा गोपाल जी जंग शाह, प्रेमप्रकाश ओली र कृष्णबहादुर रोकायले इच्छा देखाइरहेका छन् । प्रदेशसभाका लागि १ नम्बर निर्वाचन क्षेत्रबाट मानबहादुर नेपाली र मोविर खडकामध्ये एक जनाको सम्भावना रहेको कांग्रेसका एक जिल्ला सदस्यले बताए । उनका अनुसार २ नम्बर निर्वाचन क्षेत्रमा सीता ओली र खडकबहादुर डाँगीले चाहना देखाएका छन् ।

उक्त क्षेत्रका लागि तिलकबहादुर भण्डारीले पनि आÏनो दाबेदारी प्रस्तुत गरिरहेका छन् । पश्चिम रुकुमका लागि नेकपा एमालेले भने तालमेल गर्न खोजिरहेको छ । एमालेले तालमेलका लागि नेपाली कांग्रेससँग अनौपचारिक छलफल चलाइरहेको छ । एमालेले २ प्रदेश सभामा एक/एक जना पर्ने गरी र प्रतिनिधिसभामा आ–आÏनो उम्मेदवार बनाउने गरी छलफल गर्न कांग्रेसलाई भनिरहेको हो । तालमेल नभएको खण्डमा प्रतिनिधिसभामा खेममान खडका र ठगेन्द्रप्रकाश पुरीले चाहना व्यक्त गरेका छन् । यसैगरी पार्टीले प्रदेशकै लागि निर्णय गरेका सन्दर्भमा १ नम्बर क्षेत्रबाट प्रदेशसभाका लागि पनि चुनाव लड्ने योजना रहेको पुरीले सुनाए ।

१ नम्वर क्षेत्रबाट देवी ओलीले पनि आकांक्षा राखेकी छन् । २ नम्बर क्षेत्रबाट शेरबहादुर केसी, कल्याणी खडका लगायतले चाहना व्यक्त गरेका छन् । यद्यपि चुनाव लक्षित कार्यक्रम गरिए पनि उम्मेदवारको विषयमा भने छलफल सुरु भइनसकेको जिल्ला अध्यक्ष विमलकुमार पुनले बताए । पश्चिम रुकुममा माओवादीमा आकांक्षीको ठूलो लर्को छ । 

प्रतिनिधिसभामा गृहमन्त्री जनार्दन शर्मा निर्विवाद छन् । तर १ र २ नम्बर प्रदेशसभाका लागि भने धेरै नेताहरूले चाहना व्यक्त गरेका छन् । १ नम्बर क्षेत्रबाट महेन्द्र केसी, कलबहादुर नाथ, रातो कामी, बुद्धिप्रसाद शर्मा आकांक्षी देखिएका छन् भने २ नम्बर निर्वाचन क्षेत्रबाट गोपाल शर्मा, विमला केसी, पहलसिं घर्तीमगरलगायतको चर्चा छ । उम्मेदवार सिफारिसका लागि नेकपा माओवादीको दुवै जिल्लाका बैठक सोमबारदेखि सुरु हुँदैछ । पश्चिम रुकुम जिल्ला अध्यक्ष गोपाल शर्माले उम्मेदवार सिफारिस लगायतका विषयमा बैठकपछि मात्रै बताउन सकिने बताए । 

कांग्रेसद्वारा उम्मेदवार सिफारिस
जाजरकोट– कांग्रेस जाजरकोटले प्रदेशसभा र संघीयसभा सदस्यको चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ । 
कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र नं १ बाट वेदराज सिंह र क्षेत्र नं २ बाट पार्टी सभापति दीपकजंग शाहलाई उम्मेदवारका लागि सिफारिस गर्नेे निर्णय गरेको सचिव खड्ग बीसीले बताए । त्यस्तै संघीयसभाका लागि सांसद राजीवविक्रम शाहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसअघि २ निर्वाचन क्षेत्र रहेको जाजरकोटमा संघीयसभाका लागि एक निर्वाचन क्षेत्र मात्र कायम भएको छ । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम भएका छन् । जिल्ला पार्टीको ३ दिनसम्म सञ्चालन भएको बैठकले सर्वसम्मत उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले संघीयसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फ सनतकुमार कार्की, मैना कार्की, रत्नबहादुर खडका, भूमिलाल रोकाय, मोहन विक, द्वारिका प्रधानलगायतको नाम सिफारिस गर्ने तयारी गरेको बीसीले बताए ।

माओवादी केन्द्र जाजरकोटले साताअघि नै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्की र संघीयसभाका लागि पूर्वगृहमन्त्री तथा सांसद शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमाले जाजरकोटले भने हालसम्म उम्मेदवारको नामावली सिफारिस गर्न सकेको छैन । एमालेबाट संघका लागि भैरवसुन्दर श्रेष्ठ र गोविन्दविक्रम शाहको दाबी रहेको र प्रदेशसभाका लागि क्षेत्र नं १ मा डम्बरबहादुर सिंह, निरज आचार्य, क्षेत्र नं २ मा कृष्णबहादुर बीसी, करवीर शाही र रत्नप्रसाद न्यौपानेको नाम चर्चामा रहेको छ ।

प्रकाशित : आश्विन १०, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?