कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति जोगाउँदै चित्रकार दम्पती

‘श्रीमानलाई सहयोग गर्दागर्दै आफूले चित्रकला सिकेको पत्तै भएन’
प्रशान्त माली

ललितपुर — उपत्यकाका लोप भइसकेका कलासंस्कृति जोगाउन पाटनका चित्रकार दम्पती सक्रिय छन् । पाटन हौगोलमा परम्परागत देवी नाच ‘मास्क डान्स’ का लागि मुकुन्डोमा चित्रकला भर्ने, मर्मत गर्ने छुट्टै हौगो गुठी छ ।

गुठीमा ८ जनाको तीन क्व: (ग्रुप) छन् । गुठीयारहरूले प्रत्येक वर्ष पालो थाप्ने चलन छ । आफ्नो पालो नभए पनि १० वर्षदेखि ललितपुर महानगरपालिका–१९ का ५८ वर्षीय सुमन चित्रकार मुकुन्डोमा चित्रकला भर्न लागिपरेका छन् । ‘गुठीयार १२ जनाबाट घटेर ८ जना छन्,’ उनले भने, ‘त्यसमाथि युवा पुस्ताले काम नजान्दा संस्कृति जोगाउन आफैंले गुठी सम्हाल्दै आएको छु ।’ संस्कृति जोगाउन चित्रकारलाई श्रीमती मेनुका र भान्जा चन्दन चित्रकारले साथ दिएका छन् । तर दुवै जना गुठियार भने होइनन् । काठमाडौंमा जन्मेकी मेनुकालाई विवाहअघि चित्रकलाका बारेमा केही जानकारी थिएन । अहिले उनी श्रीमानसँगै मुकुन्डोमा चित्रकला भर्न गुठी गुठीमा धाउने गरेकी छन् । 

उनी भन्छिन्, ‘श्रीमानलाई सहयोग गर्दागर्दै आफूले चित्रकला सिकेको पत्तै भएन । पुरुषले मात्र होइन् युवतीहरूले पनि संस्कृति जोगाउन चासो नदिएपछि लागि परेकी हँु ।’ गुठीले रातो मत्स्येन्द्रनाथको धमा: (मत्स्येन्द्रनाथ रथ तल्लो भागमा राखिने लामो काठ) को टुप्पोमा भैरव र भैरवरूपी चार पांग्रामा विभिन्न चार भैरवको मुखाकृति, मीननाथ, मंगलबजारको भीमसेन मूर्ति, खोकनाको सिद्धिकाली, हरिसिद्धि भवानी देवी (१२ वर्षमा एकपटक), ठेचोको नवदुर्गा भवानी देवी गुठीद्वारा सञ्चालित देवी नाचमा प्रयोग हुने विभिन्न देवीदेवताका मुकुन्डो नयाँ बनाउने, मर्मत गर्ने र रंगाउने गर्छन् ।

चित्रकार दम्पतीले मंगलबार दसैंको अवसरमा नचाइने गोदावरी नगरपालिका–१२ ठेचोस्थित नवदुर्गा देवीदेवताको मुकुन्डो रंगाउने तथा मर्मत गर्ने काममा जुटेका छन् । यो काम गरेबापत चित्रकार दम्पतीले मुख्य देवता भैरव, काली, बाराही, कुमारी, गणेश देवगणका तर्फबाट डेढ/डेढ माना मासको दाल र कुखुराको अन्डा दुई/दुइटा मात्र पाउँछन् । ब्रम्हायणी, महादेव, विष्णुदेवी, महालक्ष्मी, सिङ्गीन र ब्याघिनीको मुकुन्डो रंगरोगन गरेबापत एक/एक माना मासको दाल र अन्डा पाउँछन् । गुठी संस्थान, ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाबाट केही व्यवस्था छैन । तैपनि आफ्नो पेसाप्रति दम्पतीको लगाव उत्तिकै छ । 

५ वर्षदेखि रोकिएको पाटन दरबार स्क्वयारस्थित मूल चोकमा नचाइने ठेचोको नवदुर्गा भवानी देवी नाच यसपालि दसैंमा सञ्चालन हुने भएपछि उनमा थप उत्साह थपिएको छ । ठेचोको लोप भइसकेको नाच पुन: सुचारु हुने भएपछि पाटनको अष्टमातृका नाचको हवन पर्व, खड्ग जात्रा पनि पुन: सुचारु हुने भएको छ ।

ललित कला प्रज्ञा प्रतिस्थानबाट २०६९ मा राष्ट्रिय लोककलाबाट पुरस्कृत भइसकेका सुमन भन्छन्, ‘७/८ वर्ष छँदा छिमेकी गुर केशव चित्रकारसँग चित्रकला सिकेको थिएँ । मुकुन्डो बनाएबापत गुठीयारहरूले दिने जिन्सी सामानले रङ किन्न पनि पैसा पुग्दैन । तर पुख्र्यौली पेसा र गुरुको बचन राख्न काम गरिरहेका छाैं ।’
उनका अनुसार मुकुन्डोमा रङ भरिसकेपछि हातले छुँदा नटाँसिओस्, दिगो होस् भनेर सरेस (राँगाको छालाको मिश्रणबाट बनाइने एक प्रकारको केमिकल) प्रयोग गरिन्छ । जे पायो त्यही रङ प्रयोग गर्न मिल्दैन,’ उनले भने, ‘मुसाले खाएर बिग्रेको मुकुट बनाउन अत्यन्त संवेदनशील काम हो ।’ भान्जा चन्दन भन्छन्, ‘जनप्रतिनिधिले संस्कृति जोगाउन सहयोग गर्ने आशमा छु ।’

सोमबार खोकनाको सिकाली (सिद्धिकाली) जात्रा मनाउन बस्तीबाट अलि पर सिकाली चौरमा अवस्थित सिद्धिकाली मन्दिर प्रांगणको करिब ६ फिट अग्लो सिंह र ब्याघिनीमा चित्रकला भरेका थिए । यो काम गरेबापत दम्पतीले खोकनाको सिम्बा गुठीबाट २ धार्नी मासुमात्र पाएका थिए ।

प्रकाशित : आश्विन ११, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?