कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ दिन नाचेरै दसैं

सन्थाल समुदायको पर्व
अर्जुन राजवंशी

दमक — कमल गाउँपालिका १ सराङपाडाको नेपाल सन्थाल माराबुरू युवा क्लब सप्तमीदेखि दसैं नाचमा व्यस्त छ । सप्तमीको दिन धरमपुरको पाराबारी मेलादेखि सुरु भएको क्लबको दसैं नाच पूर्णिमाको भोलिपल्ट लाग्ने क्याम्पा मेलामा समापन हुनेछ । ‘लगातार ९ दिनसम्म नाच्नैपर्ने बाध्यता छ ।

९ दिन नाचेरै दसैं

आउन सक्दैनौं भन्दा मेला आयोजकले ढिप्पी कस्छन्,’ क्लबका अध्यक्ष प्रकाश मर्डीले भने । 

क्लबमा ४० जना सदस्य छन् । दसैं मेलामा सबैले नाच्नुपर्छ । पाराखोपी, सराङपाडा, उलघुटु र नाबा टोलका सन्थाल समेटेर क्लब गठन गरिएको हो । मर्डीले भने, ‘पहिला टोलैपिच्छे नाच टोली हुन्थ्यो । त्यो पनि १२०–१३० जनासम्मका । अहिले चारवटा टोलका गरेर बल्ल ४० जना पुगेका छौं ।’ 

सन्थाल नृत्य पछिल्ला केही वर्षयता जिल्लाका प्रत्येक मेलामा प्रदर्शन गर्न थालिएको छ । आसपासमा यो समुदाय नभए टाढा–टाढाबाट झिकाएर भए पनि दसैं मेलामा सन्थाल नृत्य अनिवार्यजस्तै बन्न थालेको छ । ‘सन्थाल नाच भएन भने त दसैं मेलाको रौनकता नै हँुदैन,’ अष्टमीका दिन कमल १ स्थित बासबारी मेला भर्न आएकी विष्णुकुमारी पोखरेलले भनिन्, ‘सन्थाल नृत्य अरू बेलाभन्दा दसैं मेलामा विशेष लाग्छ ।’ 

उनले सन्थाल नृत्यले नेपाली समाजमा सद्भाव बढाउने काम गर्ने गरेको बताइन् । दसैं मेलामा नाच प्रदर्शनले आफ्नो जातिको संस्कृत संरक्षणमा ठूलो टेवा पुगेको मर्डीले बताए । उनले भने, ‘दसैंमा नाच नदेखाउने हो भने हाम्रो संस्कृति हराउन कत्ति पनि समय लाग्दैन ।’ 

दसैं मेलामा प्रदर्शन गरिने नृत्यलाई अन्य समुदायले मन पराइदिँदा संस्कृति संरक्षणमा टेवा पुगेको उनले बताए । उनले दसैं नाचकै कारण अन्य समुदायले सन्थालको खोजतलास गर्ने गरेको बताए । ‘हुन त, हामी यही ठाउँको मूलवासी हौं । तर, कुनै घटनाक्रममा हाम्रो खोजीनिती हुँदैन,’ मर्डीले भने, ‘धन्न वर्षमा एकचोटी दसैं मेलामा नाच देखाउन हाम्रो खोजीनिती हुन्छ ।’ ०६८ को जनगणनाअनुसार नेपालभरि यो समुदायको जनसंख्या ५१ हजार ७ सय ३५ हो । सबैभन्दा धेरै जिल्लामा करिब ३५ हजारको बसोबास छ । साविक खुदुनाबारी र बाहुनडाँगी गाविसबाहेक अन्य सबै गाविस र नगरपालिकामा बसोबास छ । ‘हाम्रो संस्कृति मेला भर्न आउनेहरूका लागि मनोरञ्जनको साधन बनेकोमा साह्रै दु:ख लागिरहेको छ,’ नेपाल सन्थाल आदिवासी उत्थान संघका जिल्ला अध्यक्ष बडाराम हेमरमले भने । उनले मनोरञ्जनकै रूपमा भए पनि राज्यले संरक्षण गरिदिए केही हदसम्म चित्त बुझाउन सकिने बताए । ‘तर, त्यो आस पनि गर्न सक्ने अवस्था छैन । 

मेला आयोजकहरूले धेरथोर नगद पुरस्कार राख्छन् । त्यही पुरस्कारको लोभले हाम्रा साथीहरू नाच्न आउनुहुन्छ,’ उनले भने । उनले सन्थाल समुदायलाई दसैंमा मात्र होइन, अन्य बेलामा पनि समेटेर अघि बढ्न राज्य संयन्त्रलाई आग्रह गरे । ‘हामी सबै कुराले कमजोर भइसकेका छौं । यो देशको सम्पत्तिका रूपमा राज्यले संरक्षण गरिदियोस्,’ अध्यक्ष हेमरमको माग छ । 

‘हाम्रो खोजीनिती स्वार्थमा सीमित भएको छ । हाम्रो नाचले दसैं मेलामा रौनकता भर्छ, त्यसैले अचेल हामीलाई खोज्दै मानिसहरू हाम्रो घरसम्म आउन थालेका छन्,’ तोपगाछीका युवा रामचन्द्र बेस्राले भने । दसैं नाचबाहेक अन्य धेरै सांस्कृतिक नाचहरू हराइसकेको उनले दुखेसो गरे । ‘दसैं मेलामा देखाइने दसैं नाच, रिन्जु र लाग्डे नाच मात्र अब बाँकी छ,’ उनले भने, ‘यी नाचहरू पनि पहिला गाउँगाउँमा देखाइन्थ्यो । अहिले भने पुरस्कारको लोभले मेलाहरूमा सीमित भएको छ ।’ 

सन्थाल समुदायको नाचलाई राज्यले संरक्षण गर्नुपर्ने बासबारी मेलामा सन्थाल नृत्य हेरेपछि अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले बताए । उनले दसैं नाच सन्थालको पुरानो लोक संस्कृति भएकाले पनि संरक्षणको आवश्यकता देखिएको तर्क गरे । ‘दसैं मेलाहरूमा सन्थाल नाचले सबै वर्ग, सबै धर्म र सबै समुदायको मन जितेको छ । त्यसैले सन्थालको नाच दसैंमा मात्र होइन, अन्य बेला पनि प्रदर्शन गर्न सक्ने वातावरण राज्यले बनाइदिन जरुरी छ,’ अध्यक्ष तामाङले भने । आर्थिक अवस्था दयनीय भएकाले सन्थाल समुदायको बिष खेला, पोइसरी पूजाजस्ता पर्वहरू लोप भएको सन्थाल समुदायका युवा श्रीमत मुर्मुले बताए । उनले दसैं नाचलाई लोप हुनबाट जोगाउन राज्यले विशेष व्यवस्था गरिदिनुपर्ने माग राखे । ‘मेलामा नाच देखाउनुपर्छ भनेर पत्र आउँछ । तर, हामीसँग बाजा हँुदैन । नाचका लागि चाहिने जर्सी, घुघुरा, पैङजन, पोटु, मुजा पुग्दो छैन,’ उनले भने । 

प्रकाशित : आश्विन १७, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?